
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्र्टी (ने.क.पा) मा सबैभन्दा शक्तिशाली विभाग मानिएको संगठन विभागको प्रमुख को हुने भन्ने बिषयमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताबीच दौडधुप खुबै बढेको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजय व्यहोरेका वामदेव गौतम, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलबीच संगठन विभाग कसले पाउने भन्ने बिषयमा तिब्र प्रतिष्पर्धा नै चलेको छ ।
संगठन विभागको प्रमुखको चाहना भने तत्कालिन नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पनि राखेका छन् । प्रतिनिधिसभामा चुनाव हारेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्वन्ध चिसिएको बामदेव गौतमले पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको कट्टर विरोधीको रुपमा आफूलाई उभ्याउँदै आएका छन् ।
आफ्नो नेतृत्वको सरकारका गतिविधि एकपछि अर्को गर्दै बिबादमा पर्न थालेपछि त्यसको बचाउमा शीर्ष नेता नै नपाएका ओलीले संगठन विभाग प्रमुखमा गौतमलाई ल्याएर आफूबिरुद्धको मोर्चाबन्दीलाई कमजोर बनाउन चाहन्छन् । गौतम पार्टीको जनवर्गिय संगठन अखिल नेपाल किसान संघका अध्यक्ष पनि हुन् ।
उनलाई संगठन विभागको जिम्मेवारी दिन पाए बिरोधी मोर्चा कमजोर हुने निष्कर्षमा ओली पुगेपछि उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा भने ओलीसँग चिढिएका छन् । तर, ओलीले दुवैलाई आफ्नै मन्त्रिपरिषद्मा राखेर अवसर दिएको भन्दै थामथुम पारेका छन् ।
३२ विभागको भागबन्डामा सङ्गठन विभाग तत्कालिन एमालेको कोटामा परेपछि पोखरेलको सट्टामा गौतमलाई संगठन प्रमुखको जिम्मेवारी दिन लागिएको बालुवाटार श्रोतले जनायो । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पूर्वएमालेका नेताहरुको बैठकले संगठन विभागको जिम्मेवारी नेता गौतमलाई दिनु पर्ने माग समेत गरेका थिए । यस्तो मागप्रति ओलीले असहमत नजनाएपछि गौतमले संगठन विभाग पाउने पक्का जस्तो भएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेता गौतमलाई संगठन विभाग र विदेश विभाग प्रमुखको जिम्मा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिने मनस्थिति बनाएका छन् । नेता नेपाल यसअघि पनि एमालेमा विदेश विभाग प्रमुख थिए । आधा समय नेपाल र आधा समय विदेश भ्रमणमै रमाउने भनेर आलोचना हुने गरेका नेता नेपाललाई विदेश प्रमुख दिएर चित्त बुझाउने अभियानमा ओली लागेका हुन् । बैठकमा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, नेता गौतम सहभागि थिए ।
तत्कालिन एमालेमा शक्तिशाली मानिने नेता गौतम बर्दियाबाट चुनाव हारेपछि भूमिकाबिहीन भएका हुन् । उनले पार्टीमा सक्रिय रहने गरी आफूलाई राम्रो जिम्मेवारी दिन अध्यक्षद्वयलाई आग्रह गर्दै आएका थिए ।
पार्टीमा संगठन, स्कूल, विदेश, प्रचार, आर्थिक विभागलाई शक्तिशाली विभाग मानिन्छन् । तत्कालिन एमालेको भागमा परेका अन्य विभागहरुको नेतृत्व कसलाई दिने भन्नेबारेमा पनि केही सहमति भएको बताइएको छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्डले ३२ विभागमा तत्कालिन एमाले १८ र तत्कालिन माओवादीले १४ विभागको नेतृत्व लिने गरी सहमति गरेका थिए ।
बिहिबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाललाई अर्थ तथा योजना विभागको प्रमुख बनाउनेबारे छलफल भएको थियो । तत्कालिन माओवादी केन्द्रको कोटामा परेका विभागको नेतृत्व कसले लिने भन्ने टुङ्गो लागेको छैन । पार्र्टी अध्यक्ष प्रचण्ड अस्वस्थ भएका कारण तत्कालिन माओवादीले आफ्ना भागमा परेका विभाग र आयोगको नेतृत्व टुंगाउन नसकेको सचिवालयका एक सदस्यले बताए ।
तत्कालिन माओवादीको भागमा शक्तिशालि मानिने प्रचार विभाग र आर्थिक विभाग परेको छ । पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई अध्यक्षद्वय ओली र प्रचण्डले प्रचार विभागको नेतृत्व दिने योजना बनाउका छन् । तर श्रेष्ठले प्रचार विभाग नलिने भनेपछि तत्कालिन माओवादीको भागमा परेको यो विभागको जिम्मा कसलाई दिने भन्नेबारे सहमति जुटेको छैन ।
नेता श्रेष्ठले स्कूल विभागको प्रमुखमा दावी गर्दै आएका छन् । तर स्कुल विभाग इश्वर पोखरेलले पाउने सम्भावना छ । पूर्वएमाले नेताहरुको बैठकमा नेता पोख्रेलले आफूलाई स्कूल विभागको जिम्मा दिन अध्यक्ष ओलीलाई दबाव दिएका थिए । नेकपामा अन्य विभागमा भागबन्डा भएको बताईएपनि स्कूल विभागमा प्रवक्ता श्रेष्ठ र नेता पोख्रेलको दावी रहँदै आएको छ ।
यस्तै, अर्को शक्तिशाली मानिने आर्थिक विभागको प्रमुखमा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई बनाउनेबारे पूर्वमाओवादी वृत्तमा करिब–करिब सहमति भएको छ । तत्कालिन दुवै पार्टीको कोटामा परेका विभाग, आयोगको नेतृत्व र सदस्यहरुको नामावली टंगिएपछि चाँडै बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने भएको छ ।
पार्टी केन्द्रीय समितिमा अल्पमतमा पर्ने र आफ्नो आलोचना हुने भयका कारण पार्टी एकीकरण भएको १३ महिनामा एक पटकभन्दा बढी बैठक बोलाउन नसकेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलील पार्टीका ३२ विभागलाई पूर्णता दिन सकेमा आफूविरुद्धको मोर्चावन्दी र आलोचना मत्थर हुने विश्वासमा छन् ।
सरकारमा गएर लोकप्रीय काम गर्न नसकेको र यसैका कारण विरोध हुन सक्ने बुझेका ओलीले स्थायी समितिको बैठकमा समेत अल्पमतमा पर्ने भयका कारण औपचारिकता प्रदान गर्न स्थायी समितिको बैठक दुई पटक मात्र राखेका छन् । पार्टीको कुनै पनि एजेण्डाका बिषयमा छलफल, सुझाव र राय लिने उदेश्यले बैठक हुन सकेका छैनन् । यता नौं सदस्यीय सचिवालयमा समेत ओली अल्पमतमा छन् । त्यसैले सचिवालयको बैठकलाई समेत छलेर ओलीले महत्वपूर्ण निर्णयहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर गर्ने गरेका छन् ।
अध्यक्षद्धयको हरेक महत्वपूर्ण बैठकहरुमा महासचिव बनाइएका बिबादस्पद क्षवि भएका बिष्णु पौडेलको भने उपस्थिति हुने गरेको छ । त्यसैले सचिवालय सदस्यमध्ये बहुमत आफ्नो पक्षमा भए काम गर्न सहज हुने अनुमान लगाएका ओलीले सचिवालय सदस्यहरु माधवकुमार नेपाल र बामदेव गौतमलाई खुसी तुल्याउन चाहन्छन् । त्यसैले उनले नेपाललाई विदेश विभाग र गौतमलाई संगठन विभाग दिने योजना बनाएका हुन् ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...