
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरी संघीय समाजबादी फोरमलाई समाजवादी पार्टीमा परिणत गर्ने उपेन्द्र यादवको कार्यशैलीबाट आजित भएको राष्ट्रिय जनता पार्र्टी (राजपा) नेपालले कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । सिद्धान्त र उदेश्यका हिसावले कांग्रेससँग भन्दा मधेश केन्द्रीत दलको पहिचान बनाएको उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकीकरणको चाहना राख्ने राजपा नेताहरु यतिवेला उपेन्द्रको ढुलमुले प्रबृतिका कारण कांग्रेससँगको सहकार्यबाटै अघि बढ्ने निष्कर्षमा पुगको हो ।
समाजवादीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग राजपाका नेताहरुको एकीकरणको लागि अनौपचारिक छलफल चलिरहँदा राजपा संसदीय दलका नेता महन्थ ठाकुर र अध्यक्ष मण्डलका तत्कालिन संयोजक अनिल झा तथा वर्तमान संयोजक राजकिशोर यादवले गत असार २२ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेको थिए ।
सोही भेटमा सप्ताह पुराणको प्रसाद ग्रहण गरेका नेताहरुले देउवासँग बारम्बार सम्वाद र भेट गर्न थालेका छन् । सोही भेटपछि दुवै पार्टीले कार्यगत एकता गर्न असार पहिलो र दोश्रो साता सर्लाहीमा भएको घटनाका बिषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बिषयलाई अघि सारेका थिए ।
सत्तारुढ दलले संसदीय समिति गठन गर्न नमानेपछि कांग्रेस र राजपाका सांसदले संसदको नियमित कारबाहीलाई अबरोध गर्दै आएका छन् । उनीहरुले ३० असारमा संसदको नियमित एजेण्डालाई थाँती राख्दै बाढी पहिरो पीडितको उद्धार राहत र पुनस्र्थापानको लागि सरकारलाई निर्देशन दिने उदेश्यले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको बिषयमा छलफल नै नगराइ सभामुख कृष्णबहादुर महराले संसद बैठक साउन ९ गतेसम्म स्थगित गरेका थिए । साउन ९ गतेको बैठकमा सोही सार्वजनिक महत्वको बिषयमा छलफल भएको थियो ।
राजपासँग पार्टी एकीकरणको लागि पहिले चिठी पठाउने उपेन्द्र यादवले आफूहरुलाई धोका दिएर बाबुरामको पार्टीसँग एकीकरण गरेको भन्दै राजपाका नेताहरु उपेन्द्रसँग चिढिएका छन् । समाजवादी पार्टी सरकारमा बसेर नै एकीकरणका लागि वार्ता अगाडि बढाउन चाहेको बेला राजपा नेपालका केही नेताले भने समाजवादी पार्टीले सरकार छोडेर आए मात्र एकीकरणको प्रकृया अगाडि बढ्न सक्ने निस्कर्ष निकालेका थिए । सरकार छोडेर आए मात्र वार्ता हुन सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नै समाजबादी पार्टीसँग वार्ता गर्ने कार्यदलका संयोजक तोकिएका छन् ।
तर, उपेन्द्र यादवसँग पार्टी एकताको बिषयलाई रुचिकर नै नमान्ने राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव भने सिद्धान्त, विचार र नीति तथा कार्यक्रममा सहमति भएमा पार्टी सरकारमा सहभागी हुँदा र नहुँदामा कुनै फरक नपर्ने बताउँछन् । हालसम्म दुवै दलको बीचमा औपचारिक वार्ता शुरु हुननसकेको अर्को मुख्य कारण भनेको राजपा अध्यक्ष मण्डलबीच समाजवादीसँग एकताको लागि मतैक्य नहुनु पनि हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा समाजवादी पार्टी सहभागी छ तर यता त्यही सरकारलाई घेराबन्दी गरी गलाउन भन्दै राजपा नेपालले काँग्रेससँग मोर्चाबन्दी गरेको छ । यो कुरालाई समाजवादी पार्टीले पनि रुचाएको छैन । समाजवादी र राजपा नेपालको माग र एजेण्डा एउटै भएपनि संसदमा दुई दलबीच सहकार्य छैन ।
गत फागुनमा सरकारबाट समर्थन फिर्ता लिएपछि संसदमा राजपा नेपाल कडा रुपमा प्रस्तुत हुँदै आइरहेको छ । तर, प्रभावकारी रुपमा सरकारलाई दबाब पु¥याउन नसकिरहेको अवस्थामा काँग्रेस राजपासँग सहकार्य र कार्यगत एकताको हात अघि बढाएको हो । त्यही भएर काँग्रेस र राजपाबीच संसदमा कार्यगत एकता भएको देखिन्छ ।
राजापका अध्यक्षहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्र राय यादव पहिलेदेखि नै सरकारको समर्थक बनेर सत्तामा जान पाइन्छ कि भन्ने दाउ हेरेर बसेका थिए । तर, केपी ओलीसँग गठजोड गरेर उपेन्द्र यादवले पार्टीलाई सरकारमा सहभागी गराएपछि महतो र भण्डारीले केही समय संविधान संशोधन हुन्छ कि भनेर कुरेका थिए ।
तर, ओलीले संविधान संशोधनको प्रस्ताव त के मधेश केन्द्रीत राजनीति गर्ने उदेश्यले पृथकताबादी धारको नेतृत्व गरिरहका सीके राउतसँग सम्झौता गरेपछि राजपा नेकपा नेतृत्वको सरकार र नेकपाप्रति नै बिरोधी शक्तिको रुपमा देखा परेको थियो । राउतसँग सहमति गरेको केही दिन अघि राजापाका सांसद रेशम चौधरीलाई टिकापुर काण्डमा जेल सजाय तोकिएपछि राजपाले सरकारलाई दिएको समर्थन नै फिर्ता लिएको थियो ।
टिकापुरक घटनामा राजपाका नेता कार्यकर्तालाई जेल सजाय तोक्दा समेत समाजवादी फोरम सरकारमा बसेर चुइँक्क नबोलेको भन्दै चिढिएको राजपाले उपेन्द्र यादवको चलाखीपूर्ण ब्यवहारबाट झन रुष्ट बनेका थिए । राजपाका नेताहरुले सांसदमा निर्वाचित रेशम चौधरीको मागलाई सदनमा बलियोसँग नउठाएको भन्दै चौधरीकी श्रीमती रुष्ट बनेर उपेन्द्र यादवको पार्टी कार्यालय धाउन थालेपछि राजपा नेताहरु समाजवादी पार्टीसँग एकताको प्रचारमा लागेका थिए ।
त्यसैले तत्कालिन सद्भावना पार्टीका नेता समेत रहेका रेशम चौधरीको परिवारको समर्थन र साथ पाउने उदेश्यले राजेन्द्र महतोले समाजबादी पार्टीमा रेशम चौधरीकी श्रीमतीलाई रोक्नको लागि समेत पार्टी एकीकरणको असफल प्रयास गरेका थिए । पहिले उपेन्द्रसँग पार्टी एकताको लागि पहल गर्ने महतो, भण्डारी र राय समेत यतिवेला ओली नेतृत्वको सरकारलाई गलाउन कांग्रेससँगको मोर्चाबन्दीलाई घनिभूत बनाउनुपर्ने योजनामा लागेका छन् ।
मधेश आन्दोलनको समयमा, स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा र ओली नेतृत्वको सरकारलाई समर्थनको मत दिँदा समेत उपेन्द्रले राजपाका नेताहरुलाई धोका दिएका राजपा अध्यक्ष मण्डलका सदस्यहरुको अझै गुनासो छ । उनीहरुले निर्वाचन आयोगमा दल दर्ता नै नगर्ने सहमतिलाई तोडेर यादवले स्थानीय तहको दोश्रो चनरणको निर्वाचनको मुखमा दल दर्ता गराएको गुनासो गरेका छन् ।
राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले आफूहरुले संसदमा उठाएको मुद्धा समाजवादी पार्टीको पनि भएको दाबी गर्छन । उनले समाजवादीले बोल्नुपर्ने जनताको आवाज हामीले बोल्नु परेको छ । उ बोल्दैन भने जनताले उसैको मुल्याङ्न गर्ने बताउँछन् । यदि समाजवादीले त्यसमा साथ दिएको भए नेकपा सरकारले गरेको गलत काम कारवाहीहरु पनि सच्चिन सक्ने उनको आंकलन छ ।
समाजवादी र राजपा नेपालले संसदमा साझा मुद्दामा एक भएर बोलेको भए राजपा नेपाल र काँग्रेसबीच कार्यगत एकता हुने अवस्था नआउने राजपाका धेरै नेताको बुझाई छ । समाजवादी पार्टीले साथ नदिएको कारण बाध्य भएर काँग्रेससँग सहकार्य गर्नु परेको उनीहरुले बताए । सहकार्यलाई लामो समय टिकाउनका लागि उनीहरुले नेकपाका दोश्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरिसकेको छन् ।
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...