किन लुकाईन्छ प्रधानमन्त्रीको स्वास्थ्य स्थिति – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

किन लुकाईन्छ प्रधानमन्त्रीको स्वास्थ्य स्थिति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारेमा प्रधानमन्त्रीको सचिवालय र परिवारका सदस्यले सार्वजनिक रुपमा पारदर्शी ढंगले जानकारी नदिँदा मुलुकवासी अन्योलमा पर्ने गरेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको जानकारी जनतालाई नदिएर गोप्य राखिने प्रबृत्तिले कहिले काहीँ आशंका र विरोधाभाषपूर्ण अफवाह पनि फैलने गर्छ ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको विषय निजी विषय नभएर सार्वजनिक महत्वको विषय पनि हो । तर प्रधानमन्त्रीकै सहयोगी र जिम्मेवार पदमा बसेकाले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको जानकारी नदिइ लुकाउने गरेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको बिषयमा जिम्मेवार दुई व्यक्तिका अभिव्यक्ति हेर्ने हो भने परस्पर विरोधी विवरण वाहिर आउने गरेका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारका फरक÷फरक अभिव्यक्तिलाई हेर्ने हो भने प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा केही कैफियत छ वा जिम्मेवार पदमा बसेकाहरु गलत जानकारी जनतालाई वाँडीरहेका छन् । एक साताअघि सिंगापुरबाट उपचार ! गराएर आएका प्रधानमन्त्री ओलीलाई ज्वरो आएर सचिवालय बैठक बस्न नसकेको भन्दै नेकपा प्रवक्ताले विहीबार सचिवालय बैठक स्थगित भएको बताए ।

तर, प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले स्वास्थ्य नबिग्रिएको भन्दै आज बिहानैबाट भेटघाटमा व्यस्त हुने भन्दै सामाजिक सञ्जालमा ट्वीट गरे । शुक्रबार बिहानै प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ता प्रधानमन्त्री निवास बालुवाटार पुगे । कार्यकर्ताले भरिभराउ बैठक कक्षमा प्रधानमन्त्री ओली प्रसन्न मुद्रामा प्रवेश गर्दै आफ्नै स्वास्थ्यको बिषयमा गन्थन गरे ।

आफ्ना मतदातासमेत रहेका कार्यकर्तालाई देखेर ओलीले मुस्कुराउँदै भने, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ? मेरो स्वास्थ्य अवस्था सामान्य छ ।’ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सञ्चारमाध्यमले चासोका साथ समाचार सम्प्रेषण गरेपछि उनी कार्यकर्तामाझ हसिलो मुद्रामा आए र फोटो पनि खिचाएको विषयले यतिवेला केही आशंका मेटिएको छ ।

सिंगापुरबाट फर्किएपछि उनले र उनका चिकित्सकले स्वास्थ्य अवस्थाबारे केही जानकारी नगराएपछि उनको स्वास्थ्य अवस्थाबारे अड्कलबाजी भइरहेका छन् । तर, प्रधानमन्त्री कार्यालय या उनको निजी सचिवालयले अहिलेसम्म सिंगापुरमा केको उपचार भयो र स्वास्थ्यमा कति सुधार भयो भन्ने विषयमा सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्य अवस्थाबारे जानकारी नगराउने र पार्टी प्रवक्ताले प्रधानमन्त्री बिरामी भएको जानकारी गराउने प्रक्रिया अघि बढेपछि ओली आफैं अघि सरेर कार्यकर्तामार्फत आफूलाई स्वस्थ देखाउन लागिपरेका हुन् । शुक्रबार बिहान आठ बजेतिर आफूलाई प्रतीक्षा गरिरहेका झापा निर्वाचन क्षेत्र ५ का अगुवा कार्यकर्तालाई पार्टी सचिवालयको बैठकको अध्यक्षता गर्न जानुअघि ओलीले संक्षिप्त सम्बोधनसमेत गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा निराधार हल्ला चलाइएको दाबी गर्दै भने ‘हिजो मलाई एक छिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिए पछि सबै निको भयो । तर, अफवाह म सिकिस्त भएजस्तै फैलाइयो ।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिले पार्र्टी प्रवक्ता झुटा होइनन् भन्ने प्रमाणित भएको छ । किनकि प्रवक्ता श्रेष्ठले ज्वरो आएको बताएका थिए । तर, राजनीतिक सल्लाहकार रिमालले भनेजस्तो प्रधानमन्त्री पुरै स्वस्थ छन् भन्ने दाबीलाई पुष्टी गर्दैन । एक सय डिग्री ज्वरो आएको मान्छे एउटा सिटामोल खाँदैमा कसरी निको भए भन्ने विषयमा भने चिकित्सक र प्रधानमन्त्री स्वयंले पनि केही बताएका छैनन् ।

तर, सिंगापुरबाट फर्किएर आफ्नो स्वास्थ्य अवस्थाबारे नबोलेका प्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने आफ्नो सिंगापुरमा आँखा, कान, घाँटी र बूढीऔंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको बताए । डाक्टरले सबै अंग ठीक छ र अझै २०–२५ वर्ष केही हुँदैन भनेकोले म बिरामी होइन भनी दलिल पेश गरेका थिए ।

ओलीले १५ वर्षअघि बिरामी भएको र १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको स्मरण गर्दै भनको थिए ‘म अहिले होइन १५ वर्षअघि बिरामी थिए । १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ, ।’

उनको यो अभिब्यक्तिलाई लिने हो भने आफू विरामी भएर पनि काम गरेको दाबी गरेका छन् । ओलीले कार्यकर्तालाई भने ‘मलाई बिरामी भन्ने हो भने म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । बिरामी हुँदा हुँदै बहुमत दिलाएँ । सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकीकरण पनि गरें ।’

सम्बन्धित समाचार

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७६ भाद्र ३, १०: २६

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७६ भाद्र ३, १०: २६

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७६ भाद्र ३, १०: २६

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...