महाअधिवेशनको प्रशिक्षणमा विज्ञको खोजी – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

महाअधिवेशनको प्रशिक्षणमा विज्ञको खोजी

पार्टीको नियमावली अझै आएन

भक्तपुर । नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्य समिति र जिल्ला कार्य समितिले मात्र पूर्णता पाएपछि पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान यतिवेला चार बर्षअघि चयन भएका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिनमै व्यस्त देखिन्छ ।

पार्टी उपसभापति नै प्रतिष्ठानको संयोजक बन्ने बैधानिक व्यवस्था अनुसार उपसभापति विमलेन्द्र निधि यतिवेला देशब्यापी प्रशिक्षण कार्यक्रममा भाषण गर्ने र नेताहरुलाई भाषण गराउँदै हिँड्न थालेका छन् । प्रतिष्ठानले शनिबार मात्र पनि प्रदेश ३ को सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको लागि भक्तपुरको बोडेमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिष्ठानले मध्यपुर ठिमी नगरपालिका ९, वोडेस्थित कृषि विकास वैंकको तालिम केन्द्रमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको संयोजन र व्यवस्थापन पार्टीको भक्तपुर जिल्ला कार्यसमितिले गरेको थियो ।

कांग्रेसको नयाँ विधान अनुसार हाल प्रदेश सभा, प्रतिनिधिसभा क्षेत्रिय समिति, प्रदेश सभा निर्वाचन क्षेत्रीय समिति, नगर वा गाउँपालिका समिति, वडा र समिति र टोल समिति गठन भइसकेको छैन । पार्टी केन्द्रीय कार्य समितिले नया विधानअनुसार पार्टीका संगठनलाई पूर्णता दिन निर्देशिका बनाए पनि सबै तहले पूर्णता पाएका छैनन् । निर्देशिकामा प्रदेश कार्य समितिको गठन सम्वन्धमा केही बोलेको पनि छैन ।

पार्टीमा महिला संघ, मगर संघ र मुस्लिम संघवाहेक कुनै पनि भातृ संस्थाले पूर्णता पाएका छैनन् । कांग्रेसको मेरुदण्ड भनेर चिनिएको नेपाल विद्यार्थी संघ आठ महिनादेखि विघटित छ । नेपाल तरुण दल तीन बर्षदेखि चार पदाधिकारीमा सिमिति छ ।

आदिवासी जनजाति संघ, किसान संघ जस्ता संगठनको महाधिवेशन नभएको १५ बर्ष भइसकेको छ । तर पार्टीको कुनै भातृ वा शुभेच्छुक संस्था परिचालन हुने अवस्था नआएपछि प्रशिक्षण प्रतिष्ठान महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिँदै हिँडेको छ ।

पार्टीको नेतृत्व चयन गर्ने र नेतृत्वमा पुग्ने हैसियत राख्ने महाधिवेशन प्रतिनिधिमा मात्र प्रशिक्षण सिमित गरेपछि प्रतिष्ठानको चौतर्फी आलोचना हुन थालेको छ । १० महिनाअघि सम्पन्न भएको महासमिति बैठकले निर्माण गरेको विधान कार्यान्वयनमा ल्याउन नेतृत्वलाई तीन महिना लागेको थियो । त्यस्तै, नियमावली पास गरेको दुई महिना भए पनि अझै कार्यान्वयनमा गएको छैन् ।

पार्टी केन्द्रीय कार्य समितिको असार २२ गतेको बैठकमा पेश भएको नियमावली मस्यौदा समिति एक सातापछि केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर परिमार्जन गरेर ल्याउने गरी पास भएको थियो । तर मस्यौदा समितिका सभापति रमेश लेखकको व्यस्तताका कारण केन्द्रीय कार्यसमितिले पारित गरेको पार्टीको नियमावली अझै कार्यान्वयमा आएको छैन ।

पार्टीको नियमावली बिना नै महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिइएको भन्दै प्रतिष्ठानको आलोचना पनि हुँदै आएको छ । पुरानो बिधान आनुसार गत बर्ष नै गठन भएको प्रतिष्ठानलाई नयाँ बिधान अनुसार गठन गरिएको छैन । बिधान विपरित गनठ भएको प्रतिष्ठानको बिषयमा केही केन्द्रीय सदस्यले आवाज उठाए पनि सभापति देउवाले कानमा तेल हालेर बसेपछि निधिको प्रशिक्षणको कार्यक्रमले निरन्तरता पाइरहेको छ ।

शनिबार प्रदेश ३ का १३ जिल्लामध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिहरु मात्र सहभागी थिए । प्रदेश ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि भने मकवानपुरमा प्रशिक्षण आयोजना गरिने भएको छ ।

प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिहरुका लागि केही समयपछि प्रशिक्षण मिति तय गरिने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जनाएका छन् ।

कांग्रेसले यसअघि गण्डकी प्रदेशको पोखरामा, कर्णालीका प्रदेशको सुर्खेतमा र पाँच नम्वर प्रदेशको बुटवलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । कांग्रेसले आगामी भदौ २४ गतेदेखि दोश्रो चरणको प्रशिक्षण कार्यक्रम संचालन गर्ने घोषणा गरिसकेको छ । यसैबीच ३ नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधी, पूर्व सभासद् एवं नेतृ आरजु राणा, डा.गोबिन्द पोखरेल, हरिहर विरही, पुरुषोतम दाहाल, तारानाथ दाहाल लगायतले प्रशिक्षण दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा उपसभापति एवं प्रतिष्ठानका संयोजकले धर्मनिरपेक्षताको बारेमा कुरा गर्दा हलभित्र निकै होहल्ला मच्चे पनि निधिले धर्मनिरपेक्ष र धार्मिक स्वतन्त्रता भन्ने शब्द एउटै भएको हुँदा कसैमाथि पनि धर्मको बारेमा भेदभाव नभएको बताएपछि होहल्ला शान्त भएको थियो । त्यसैगरी वरिष्ठ पत्रकार हरिहर विरहीको प्रशिक्षणलाई सहभागीहरुले बौद्धिक वर्गलाई मात्रै सम्बोधन गर्ने र लामो इतिहास पढाउनुभन्दा ग्रासरुटका कार्यकर्ताले बुझ्ने सरल र सहज खालको हुनुपर्ने बताए । त्यसैगरी नेतृ आरजु राणाको प्रशिक्षणलाई धेरै सहभागीले मन पराएको र भाषा शैली र प्रस्तुतिकरण राम्रो भएको बताएका थिए ।

नेतृ राणाले प्रशिक्षण दिइरहँदा हल निकै शान्त वातावरणमा रहेको थियो । ३ नं. प्रदेशका महाधिवेशन प्रतिनिधिहरुले अधिकांशले नेताको भाषण भन्दा विज्ञको तालिम उपयुक्त हुने सुझाव दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रम नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दुर्लभ कुमार थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने सहभागीहरुलाई खाना, बस्नको समेत राम्रो प्रबन्ध भक्तपुर काँग्रेसले नै गरेको थियो । भक्तपुर काँग्रेसले भातृ संस्था नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायत काँग्रेस जिल्ला कार्यसमिति प्रचार विभाग समेतले कार्यक्रमलाई सफल बनाउन लागि परेका थिए ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ भाद्र २३, ०८: ०६

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ भाद्र २३, ०८: ०६

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ भाद्र २३, ०८: ०६

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...