आईजीपीको सपना देख्ने जन्ममिति ढाँट्ने ‘स्टण्डवाज’ डीआइजी सिंहले दिए राजिनामा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

आईजीपीको सपना देख्ने जन्ममिति ढाँट्ने ‘स्टण्डवाज’ डीआइजी सिंहले दिए राजिनामा

काठमाडौं । आँफूलाई ‘सिंगम’ शैलीको प्रहरी अधिकृत भएको देखाउन सँधै ‘स्टण्ड’ गर्न रुचाउने नेपाल प्रहरीका नायव महानिरिक्षक (डीआईजी) अशोक सिंहले बुधबार पदबाट राजिनामा दिएका छन् ।

डीआईजी सिंहले जन्म मिति ढाँटेर प्रहरी सेवामा बसिरहेको कुरा वाहिरिएपछि उनले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन्। २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख छ। तर, शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ भएको जनाइएको छ ।

नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको प्रतिस्पर्धामा थिए । नागरिकता १८ वर्ष उमेर पुरा भएपछि जारी हुन्छ । यस हिसावले उनको जन्ममिति २०२४ साल जेट २२ गते हुन्छ। तर, सिंहले प्रहरी सेवा प्रवेशको क्रममा आफ्नो जन्ममिति २०२५ पुस १६ गते टिपाएको प्रहरी किताबखानाको रेकर्डबाट खुलेको थियो ।

२०५१ साल चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी निरिक्षकमा दरखास्त दिने दिनसम्म २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्छ । तर, नागरिकताअनुसार उनले प्रहरी प्रवेशमा नै उमेर ढाटेको र २५ वर्ष नाघिसके पछि सेवामा प्रवेश गरेको पुष्टि हुन्छ । इन्स्पेक्टर पदमा भर्ना हुँदा उनी २६ वर्ष पुगिसकेका देखिन्छन् ।

सेवा प्रवेशको बेलामा नै उमेर ढाँटेका सिंह गत असार १९ गते एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । बढुवाको बेलामा उनको नागरिकताको विवरणअनुसार उमेर ५५ पुगिसकेको देखिन्छ भने उनले टिपाएको जन्ममितिअनुसार भने १ वर्ष कम हुन्छ । प्रहरी नियमावलीमा ५५ वर्षमा उमेर हदका कारण एसपी तथा एसएसपीले अवकाश पाउने प्रावधान छ ।

प्रहरी नियमावली २०७१ को नियम १२७ को उपनियम २ अनुसार जन्ममितिमा एकवर्ष भन्दा फरक भएमा सबैभन्दा पहिला अवकाश जुन मितिले हुन्छ त्यसैलाई मान्यता दिने उल्लेख छ ।

सिंहको शैक्षिक कागजपत्र नक्कली दाबीसहित अख्तियारमा उजुरी परेको थियो । उनको नागरिकताअनुसार सिंहले एसएसपी पदमा नै अवकाश पाउने देखिन्छ । तर, उनले टिपाएको जन्ममितिको आधारमा डीआईजीमा बढुवा भएका छन् । एसएसपीमा रहँदा २० औं वरीयतामा रहेका उनी डीआईजीमा भने तेस्रो नम्बरमा बढुवा भएका थिए ।

डीआईजीमा पहिलो नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवर, दोस्रो नम्बरका टेकप्रसाद राई, तेस्रो नम्बरका सिंह र चौथो नम्बरका दीपक थापा आईजीपी पदका लागि दाबेदार थिए ।

आईजीपी धिरजप्रताप सिंहको कार्यकाल आगामी चैतमा सकिँदै छ । त्यसैले पनि भावी आईजीपीका लागि अहिले चर्चा भइरहँदा सिंह हाल शक्ति केन्द्र धाउने प्रतिष्पर्धामा जिथए । अख्तियारमा परेको उजुरीमा सिंहले कलेज पढ्दै नपढी भारतको लखनउबाट आईएको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको उल्लेख छ ।

सिंहले पेस गरेको स्नातकको शैक्षिक योग्यताको प्रमाणपत्र पनि भारतीय नै हो, जुन अहिलेसम्म नेपालमा इक्विभ्यालेन्ट गरिएको छैन ।

उजुरीमा डीआईजी सिंहले आफ्नो भाइ नाता पर्ने गृह सचिव विनोद प्रकाश सिंहलाई प्रयोग गरेर एआईजी बढुवाको लागि अस्वाभाविक चलखेल गरेको आरोप लागेको थियो । प्रहरीको एआईजीको बढुवा कार्यसम्पादन मूल्यांकनद्वारा हुन्छ । बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुने व्यवस्था छ । गृहसचिव सिंहले आफै अध्यक्ष रहेको समितिमार्फत आफ्नै दाइ नाता पर्ने डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्न लागिपरेको र यो ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने भन्दै अख्तियारमा उजुरी परेको थियो ।

लोकसेवा आयोग नियमावलीको बढुवा सम्बन्धी परिच्छेद ११ को दफा ७१ मा ‘प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, परीक्षा सञ्चालन र अन्तर्वार्ता सम्बन्धी कामसँग संलग्न आयोगका कुनै पदाधिकारी वा कर्मचारीको नजिकको नातेदार आयोगद्वारा सञ्चालन हुने कुनै परीक्षामा उम्मेदवार भएमा सम्बन्धित पदाधिकारी वा कर्मचारीले केन्द्रीय कार्यालयको हकमा आयोगलाई र मातहत कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखलाई जानकारी दिनु पर्नेछ,’ भन्ने उल्लेख छ ।

 

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन १०, १५: ४४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन १०, १५: ४४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ फाल्गुन १०, १५: ४४

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...