संसद बैठकको पहिलो दिन नै विघटनको अभिव्यक्तिले मलाई चुनौति दियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन ओलीप्रति लक्षित

संसद बैठकको पहिलो दिन नै विघटनको अभिव्यक्तिले मलाई चुनौति दियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगो संसदको विश्वासको मत पाएको प्रधानमन्त्रीले संसद बैठकको पहिलो दिन नै संसद विघटनको खुला पक्षपोषण, ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौति दिएको खुलासा गरेका छन्।

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नुपूर्व सोमबार सदनलाई संवोधन गर्दै प्रधानमन्त्री दाहालले संसदमा पहिलो दिन नै संसद विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पाएको र सिंगो देश तरंगित गराउने सो असान्दर्भिक र अप्रासंगिक विषयबस्तुको उठान भएको बताएका हुन्।

उनले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै दुई–दुई पटक सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास बढाउने, संविधान र लोकतन्त्रको निरन्तरता एवम् संसदको स्थायित्वमै प्रश्नचिन्ह खडा गर्ने काम भएको बताए।

उनले राष्ट्रिय सहमतिका लागि आफूले गरेको प्रयासले पनि गठबन्धनको प्रमुख दलबाट नै समर्थन नपाएको बताए। उनले भने, ‘प्रधानमन्त्रीका रुपमा सबै दलबाट समर्थन पाएँ। त्यो ऐतिहासिक समर्थनप्रति कृतज्ञता जनाउन र राष्ट्रका संकटहरूको सामना गर्न राष्ट्रिय सहमतिमै जोड दिएर राष्ट्रपति जस्तो सम्मानित संस्थामा राष्ट्रिय सहमति जुटाउने चाहना राखेँ । संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई राष्ट्रपति दिऊँ भनेर एमालेका अध्यक्षसँग अनुरोध गरेँ । तर मेरोे त्यो चाहना कमजोरी थियो कि राष्ट्रप्रतिको जिम्मेवारीबोध?’

उनले आफू नेतृत्वको सरकारले यति चाँडै दोहोर्याएर विश्वासको मत लिनुपर्ला भनेर नसोचेको पनि बताए। प्रधानमन्त्री दाहालले राजनीतिक स्थिरताको प्रतिवद्धतासहित सरकार गठन गरेको भएपनि सहयात्री दलका नेताहरुकै कारण आफू विश्वासको मत लिन पुनः उपस्थिति हुनुपरेको बताए।

प्रधानमन्त्री र मन्त्रीहरूबीच ठूला नीतिगत र कार्यशैलीगत मतभेद नभए पनि अचानक राप्रपा र नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएकाले संविधान अनुसार फेरि विश्वासको मत लिन लागेको उनले बताए।

सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत फिर्ता लिने निर्णयको प्रतिरक्षा तिनै दलका नेताहरुले गर्ने भन्दै दाहालले आजका दिनसम्म प्रधानमन्त्री र सरकारको यो गलत काम वा निर्णयले गर्दा हामीले विश्वासको मत फिर्ता लिन पर्यो भन्ने विषय भने वाहिर आउन नसकेको बताए।

आफू सरकारबाहिर रहेका पार्टीहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील भएको बेला राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका दुई दल एमाले र राप्रपा नै अस्थिरतातिर अग्रसर भएकोमा चिन्तित भएको उनले बताए।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र ६, १६: १७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र ६, १६: १७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र ६, १६: १७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...