विधान विपरीत उपनिर्वाचनका उम्मेदवार छान्ने अधिकार कांग्रेस पदाधिकारीलाई – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

विधान विपरीत उपनिर्वाचनका उम्मेदवार छान्ने अधिकार कांग्रेस पदाधिकारीलाई

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १४ मा हुने उप निर्वाचनमा पार्टी विधानबिपरीत उम्मेदवार छनोट गर्ने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनमा उम्मेदवार छनोट गर्ने अधिकार पदाधिकारीलाई दिए पछि पदाधिकारीको भोली बस्ने बैठकले यस्तो निर्णय गर्न लागेको हो ।

यसअघि नै बुधबार देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा मंसिर १४ मा ५२ स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छनोटको अधिकार पदाधिकारी आफैले लिने सहमति भएको थियो । उपनिर्वाचनको लागि सम्भावित उम्मेदवार तीन जनाको नाम सिफारिस गरी पठाउन पार्टीले निर्देशन दिए पनि सबै स्थानीय तह र जिल्लाले त्योभन्दा धेरैको नाम पठाएर समस्या परेको पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

कांग्रेस विधानको दफा ३३ को उपदफा १ का ‘कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिनापूर्व अन्तिम निर्णय गरिसक्नु पर्नेछ’ भन्ने उल्लेख गरिएको छ । तर निर्वाचन आयोगले मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी दर्ता गर्ने मिति कात्तिक २१ गते भनी निर्धारण गरेको छ भने स्थानीय तहको उम्मेदवारी दर्ता गर्ने मिति कात्तिक २७ गते तोकेको छ ।

गाउँ नगर वडाका अध्यक्ष र सदस्यको उम्मेदवारको छनोट प्रतिनिधिसभा संसदीय कार्यसमितिले, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको छनोट जिल्ला संसदीय समितिले, नगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको छनोट प्रदेश संसदीय समितिले गर्नु पर्ने कांग्रेसको विधानको दफा ३२ मा उल्लेख छ । त्यस्तै प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको उम्मेदवारको छनोट भने केन्द्रीय संसदीय समितिले गर्ने बैधानिक प्रावधान छ ।

तर कांग्रेसले हालसम्म कुनै पनि तहको संसदीय समिति गठन गरेको छैन । २०७४ को स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनको वेला गठन गरिएको संसदीय समिति गत बर्ष भङ्ग गरिएको थियो । कांग्रेस विधानले परिकल्पान गरेको प्रदेश कार्यसमिति अझै गठन हुन सकेको छैन् ।

मंसिर १४ गते हुने उपनिर्वाचन काश्की २ मा प्रतिनिधिसभा सदस्यको लागि, भक्तपुर १ को ‘क’, बागलुङ २ को ‘ख’ र दाङ ३ को ‘ख’ मा निर्वाचन हुँदैछ । त्यस्तै, धरान उपमहानगरपालिका र अन्य नगरपालिका तथा गाउँपालिका र वडामा गरी ४८ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

३७ जिल्लामा हुने उपनिर्वाचनमा उम्मेदवारको सिफारिस गर्न पार्टी केन्द्रले बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि सबैले धेरै उम्मेदवारको नाम सिफारिस गरेपछि कांग्रेसलाई आधिकारिक उम्मेदवार छनोट गर्न सकस परेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले १७ कात्तिकको साँझ पदाधिकारी वा केन्द्रीय कमिटी बैठकबाट उम्मेदवार छनोटको अन्तिम टुङ्गो लाग्ने बताए । बरिष्ठ नेता रामचन्द्र पौडेलले १६ कात्तिकमा गृह जिल्ला तनहुँमा कास्की र बाग्लुङका नेताहरुसँग थप राय लिने भएका छन् ।

गाउँपालिका र नगरपालिकाको वडाका प्राय उम्मेदवारको चयन जिल्ला कार्यसमितिले नै गरिसकेको प्रवक्ता शर्माले बताए । धरान उप–महानगरपालिकाको हकमा धरानको नगर कमिटी, क्षेत्रीय कमिटी र जिल्ला कार्यसमितिले तिलक राईको मात्र नाम सिफारिस गरेको छ । काश्कीमा प्रतिनिधिसभा सदस्य, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेश सभासदका लागि हुने निर्वाचनमा कांग्रेसको उम्मेदवारको छनोट भने पार्टी पदाधिकारी बैठकले निर्णय लिने भएको छ ।

काँग्रेसको तर्फबाट उम्मेदवार छनोट गर्ने बैधानिक निकाय संसदीय समिति गठन नै भएको छैन । त्यसैले पदाधिकारी बैठकबाटै उम्मेदवार टुंगो लगाउने भएको हो । पार्टीको संगठनात्मक अवस्था, प्रतिस्पर्धीको अवस्था, अन्य दलसँगको सहकार्य र माहौल निर्माण गर्न सक्ने उम्मेदवारका विषयमा केन्द्रीत भएर उम्मेदवार छनोटको मापदण्ड बनाएको छ ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७६ कार्तिक १९, ०६: ३१

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७६ कार्तिक १९, ०६: ३१

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७६ कार्तिक १९, ०६: ३१

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...