
काठमाडौं। अर्थतन्त्रको हालको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।
संघीय संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. महतले भने, ‘कुनै पनि देश अर्थतन्त्रको समस्याबाट मुक्त हुँदैन। समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ।’
महतले भने ‘हामीले २००७ सालपछि मात्रै भौतिक विकास सुरु गरेका हौं। यो कालखण्डमा राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा धेरै पछाडि छौं।’
अर्थमन्त्री डा. महतले आवश्यकताको तुलनामा माग पूरा गर्न नसकेका धेरै क्षेत्र रहेको भन्दै धेरै कुरा निर्णायक रुपमा सुधार गरेर लैजान समग्र राज्य संरचना, आम नागरिकलगायत हामी सबैको सक्रियता जरुरी रहेको बताए।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा रहेको, केही ठाउँमा यसले अगुवाइ गरेको तथा सबैको समन्वय र क्रियाशीलताले समस्या न्यून गर्दै लगिएको बताए।
राजस्व उठ्ने विषयमा समस्याहरु देखिए पनि प्रगति भएको र राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन भने नसकेको भन्दै उनले गत वर्षभन्दा ० दशमलब ५२ प्रतिशत बढी राजश्व उठाउन सक्ने दाबी गरे।
मन्त्री डा. महतले भने, ‘कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनाउँदा, आवश्यक मुद्रा प्रवाह अर्थतन्त्रमा हुन पाएन। ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रुपमा हुन सकेन। जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन ।’
‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन, गैरकर गत वर्षभन्दा ११ दशमलब ८८ प्रतिशत बढी उठेको छ’ उनले भने, ‘जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरुलाई करको दायरामा ल्याएका छौं । यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौं।’
आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री डा. महतले दाबी गरे। उनले भने, ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौं।’
हाम्रो क्षमताभन्दा पनि बढी हामीले सामाजिक सुरक्षामा खर्च गरेको उनको भनाइ थियो। ‘पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिन्छौं। यसबाट हामी पछाडि फर्किन सक्दैनौं,’ उनले भने, ‘अब निर्णय गर्दा विचार गर्नुपर्छ, अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्छाैं।’
उनले भने, ‘जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता त्यहाँ जाने भयो, जसलाई आवश्यक पर्दैन, त्यहाँ हामीले थप खर्च गर्नुपर्दैन। यो भयो भने हामी आउँदा दिनमा खर्च व्यवस्थापन सहज रुपमा कार्यान्वयन गर्न सक्छौं ।’
प्रशासनिक खर्च घटना सबै समर्पित लाग्न मन्त्री डा. महतले आग्रह गर्दै भने, ‘साना–साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौं । बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ । यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौं । यसो भयो भने श्रोत र साधनको हाहाकार रहँदैन ।’

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...