
काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरनबाट तस्कर गरी ल्याइएको करिव एक सय केजी सुन जाँचपास गराइ नेपाल भित्र्याउने मध्ये ६ जनालाई पक्राउ गरिएको छ।
चीनबाट तस्कर गरी हवाईमार्गबाट भित्र्याइएको सो सुन भन्सारबाट जाँचपास गर्ने कार्यमा संलग्न रहेका दुई कर्मचारीलाई भने भन्सार विभागले कारबाही गर्न लागेको छ।
विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपासमा संलग्न रहेका शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाललाई निलम्बन गर्न लागिएको हो।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्न लागिएको बताएका छन्।
राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बुधबार राति नै बरामद गरेको थियो। स्रोतका अनुसार चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो।
रेडी ट्रेड प्रालिले ८ वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी पार्टसमा सुन राखेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको हो। त्यो कार्गो सामान केही दिनअघि चीनबाट आएको भन्सारले जनाएको छ।
भन्सारबाट जाँचपास सकेर लैजान लागेको सुन एक्कासी अपरेसन चलाएर राजश्व अनुसन्धानको टोलीले बरामद गरेसँगै रहस्य बढेको बताइएको छ।
राजश्व अनुसन्धान विभागमा दुई साता अघि मात्र सरुवा भएर गएका महानिर्देशक नवराज ढुंगानाको विशेष पहल र एक्सनमा यो अपरेसन गरिएको बुझिएको छ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी भए पनि बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ।
विभागले हालसम्म सो सुन तस्करीमा संलग्न रहेका ६ जनामध्ये ४ जनाको नाम खुलाइएको छ।
पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घरभई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन्।
विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा.२ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार करिब एक सय किलो सुनसहित विभागको टोलीले नियन्त्रणमा लिइएको थियो।
विभाग स्रोतका अनुसार सुन ओसारपसारमा संलग्न रहेका तीन जना र ट्याक्सी चालकसमेत गरी चार जना पक्राउ गरिएको छ। ती ट्याक्सी चालकको भने उक्त घटनामा अहिलेसम्म संलग्नता पुष्टी भइनसकेको पनि जनाइएको छ।
भन्सार पास भइसकेको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट गन्तव्यतिर लैजाने क्रममा बरामद भएको विभागका एक अधिकारीको भनाइ छ। सुन हङ्कङबाट आएको भनिएको छ।
पक्राउ पर्नेमध्येका दिलीप भुजेल र रामकुमार भुजेल रेडी ट्रेडका सञ्चालक हुन भने राजेन्द्र राई भन्सार एजेन्ट हुन्। ती मध्ये भुजेलद्वय मामा–भाञ्जा रहेको खुलेको छ।
भुजेलद्वय बुधबार पक्राउ परेका थिए भने अन्य २ जना मंगलबार नै पक्राउ परेको पनि खुलेको छ। उनीहरूले बा.२.ज २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन भन्सार बाहिर लैजाँदै गरेको अवस्थामा विभागले सुनसहित पक्राउ गरेको थियो ।
बरामद गरिएको करिब एक सय केजी सुनको परिमाणका आधारमा आजको दिनको मूल्यअनुसार १ अर्बभन्दा बढीको सुन रहेको जनाइएको छ।
रेडी ट्रेड प्रालिमा मलहोत्राको लगानी?
विवादस्पद व्यापारी दिपक मल्होत्राको लगानीमा रेडि ट्रेड प्रालि ६ महिनाअघि खोलिएको कम्पनी भएको बुझिएको छ।
राजनीतिक दलका सबै शीर्ष नेतासँग हिमचिम रहेका मल्होत्राको सम्वन्ध र भेटघाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र माधवकुमार नेपालसम्म छ।
मल्होत्राकै सल्लाहमा दोलखाको मेलुङ स्थायी घर भएका राजकुमार र दिलिप भुजेलको नागरिकता र अन्य विवरण देखाएर कम्पनि ६ महिनाअघि दर्ता गरेका थिए।
रेडि ट्रेड प्रालिले तीन महिनामा ३४ पटक हङकङबाट सामान आयात गरेको देखिन्छ । भुजेल मामा–भाञ्जाको हैसियत तीन महिनामा ३४ पटक स्कुटीको स्पेयर्स पार्टस आयात गर्ने आर्थिक हैसियत नहरेको स्पष्ट छ।
भुजेलद्वयलाई कसैले पछाडिबाट लगानी नगरी विदेशबाट एलसी खोलेर सामान मगाउन सक्ने आर्थिक हैसियत नभएको प्रष्ट छ। यसै साता मात्र भित्र्याएको स्कुटीको ब्रेक प्याडमा भित्र सुन राखिएको पाईएको छ।
रेडी ट्रेड प्रालिले ८ वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी ब्रेक पार्टसमा सुन राखेको पाईएको छ। यसअघि सोही कम्पनिको नाममा आयात गरिएका हरेक सामानमा सुन नै भित्र्याएको हुनसक्ने भन्सार स्रोतले बतायो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...