कागबेनीमा बाढीको वितण्डाः २९ घरमा पूर्ण क्षति, माथिल्लो मुस्ताङमा यातायात ठप्प – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कागबेनीमा बाढीको वितण्डाः २९ घरमा पूर्ण क्षति, माथिल्लो मुस्ताङमा यातायात ठप्प

मुस्ताङ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोबाट २९ घरमा पूर्ण क्षति पुगेको छ।

कागबेनीमा माथिबाट आएको बाढीले कागबेनी बजारलाई क्षणभरमै बगरमा परिणत गरिदिएको छ। एक्कासी आएको बाढी पहिरोले स्थानीय वासीले घरमा भएको लत्ताकपडा, सर सामान र सुन तथा गरगहना निकाल्न समेत पाएनन्।

बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन भएका छन्। कागखोलामा करिब दुई घन्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङले बताए। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्यसमेत रहेका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति भने नभएको बताए।

‘दिनभरि काम गरेर साँझ खाना पकाउँदै गर्ने समयमा एक्कासी मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तले फोन गरेपछि स्थानीयहरु खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि सुरक्षीत क्षेत्रमा गएका थिए।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको जनाएका छन्। उले बाढीबाट २९ घर बगरमा परिणत भएको १३ घरमा आंशिक क्षति भएको बताए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा कतिपयलाई उद्धार गरिएको थियो।

सोमबार रातिसम्मको विवरणअनुसार चारपाङ्ग्रे दुईवटा सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको छ। बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको छ।

धमर्धशाला, गुम्बालगायतका संरचनामा क्षति पुगेको छ भने करिब २०–२५ वटा पशुचौपाया पुरिएको आंकलन गरिएको छ।

कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ।

मानविय क्षति नभए पनि भौतिक क्षति त धेरै भएकोले बाढीपीडितलाई राहत दिनु पर्ने र तत्काल वासस्थानको व्यवस्था संघीय सरकारले गर्नु पर्ने अध्यक्ष गुरुङले बताए। कामदार बस्ने घर बाढी र पहिरोले बगाएपछि उनीहरूलाई घरपझोङ गाउँपालिकाले खाना बस्नको व्यवस्था गरिएको छ।

बाढी कागखोलाको सहायक तिरीखोलामा पहिरो आएर थुनिएको आकलन गरिएको छ। मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ। बाढीले पोल बगाउँदा विद्युत् अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए।

खानेपानीको पाइपलाइन बगाउँदा खानेपानी अभाव भएको छ। बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ भने मान्छे हिँड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘बाढीले बिजुलीका पोल र पाइप लाइन पनि बगाएको छ, त्यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर काम सुरु भएको छ, उपल्लो मुस्ताङ जाने सडक त ठप्पै भएको छ, अहिले भर्खरै यो सडक खुलाउन सक्ने अवस्था पनि कम छ।’

वर्षा रोकिएको भए पनि कागबेनीवासी कागखोला हेर्दै स्थानीयवासीहरु झस्किने गरेका छन्। प्रशासनले तटीय क्षेत्रका बस्तीलाई सजगता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण ३०, १७: १७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण ३०, १७: १७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण ३०, १७: १७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...