
काठमाडौं। बालुवाटारस्थित ‘ललिता निवास’को सरकारी जग्गा हिनामिना गरी व्यक्तिको नाममा नामसारी गरी आफू प्रधानमन्त्री भएकै समयमा मन्त्रिपरिषद्बाटै निर्णय गर्ने पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई सरकारले चोख्याउने रणनीति बनाएको छ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिललाई बुझाएको अनुसन्धान प्रतिवेदनमा दुई पूर्वप्रधानमन्त्रीलाई ‘प्रतिवादी कायम गर्नु नपर्ने’ राय दिएबाट सीआईवीमाथि सरकारको दबाब झल्किएको हो।
एक साता पहिले मात्र सर्वोच्च अदालतले सरकारी जग्गा व्यक्तिको नाममा पार्ने र नक्कली मोही खडा गर्ने कार्यमा नीतिगत निर्णय भन्दै निर्णय प्रक्रियामा सहभागी हुने मन्त्रीपरिषद्का अध्यक्षमाथि पनि अनुसन्धान गर्नु भनी आदेश दिएको थियो।
तर सीआईबीका अनुसन्धान अधिकृतहरूले सोमबार दुवैजना पूर्वप्रधानमन्त्रीको घरमा गएर ‘बयान कागज’ गराएका थिए। प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई पनि प्रतिवादी कायम नगर्न सिफारिस गरेको छ।
साउन २८ गते सिआईबीले कार्यालयमा नै बोलाएर पौड्यालसँग बयान लिएको थियो। योजनाबद्ध रूपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा गरेर ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ।
नेपाल र डा. भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णयको आधारमा पनि बालुवाटारको जग्गा हिनामिना भएको भेटिएको छ। नेपाल र भट्टराईले नेतृत्वको सरकारले मन्त्रिपरिषद्को निर्णयको आधारमा ललिता निवास क्याम्प भित्र बाटो बिस्तारको नाममा जग्गा सट्टापट्टा र नक्कली पशुपति टिकिन्छा गुठी खडा गरेर ‘मोहीयानी हक’को नाममा जग्गा घोटाला गरिएको अनुसन्धान निष्कर्ष छ ।
भट्टराई प्रधानमन्त्री हुँदा लीलामणि पौड्याल मुख्य सचिव थिए। ब्युरोले ‘सङ्गठित किर्ते’ आरोपमा अनुसन्धान सुरु गरेको ५७ औँ दिनमा राय सहितको प्रतिवेदन बुझाएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले राय सहितको अनुसन्धान प्रतिवेदनको आधारमा सो मुद्दाको अभियोग पत्र शुक्रवार सम्ममा जिल्ला अदालतमा दर्ता गर्नुपर्छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...