नामाकरणमा सत्तारुढ सांसद्को तिव्र मतभेद – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

नामाकरणमा सत्तारुढ सांसद्को तिव्र मतभेद

प्रदेश तीनको नाम वागमती र राजधानी हेटौंडा

काठमाडौं । प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा हुने निश्चित भएको छ । प्रदेश सभा ३ को प्रदेश सभा बैठकमा ३ नम्वर प्रदेशको नाम र राजधानी तोक्ने गरी दर्ता भएको प्रस्तावमा निर्णयार्थ पेश गर्दा एक सय १० मध्ये एक सय ५ सांसदले प्रदेशको नाम वागमती र प्रदेश राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

समाजवादी पार्टीका एक मात्र सांसद प्रेस तामाङले प्रदेशको नाम नेवा – तामङसालिङ राख्नु पर्ने प्रस्ताव दर्ता गराउन खोज्दा कोही पनि समर्थक तयार नभएको भन्दै असन्तुष्टी जनाउँदै मतदानमा भाग लिएका थिएनन् । सभामुख सानुकुमार श्रेष्ठले पनि मत हाल्नु परेन तर विवेकशील साझाका ३ सांसदले भने काभ्रेको धुलीखेललाई राजधानी बनाउनु पर्ने प्रस्ताव पेश गरेकोले हेटौंडा राजधानी गर्ने प्रस्तावको विपक्षमा मत हालेका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुई तिहाई बुहमत रहेको प्रदेश ३ को प्रदेश सभामा सभासदबीच नै प्रदेशको नाम र राजधानीको विषयमा बिबाद भएपछि पार्टी सचिवालयको निर्देशन र निर्णय बमोजिम प्रदेशको नाम र राजधानी छनोट गर्ने निष्कर्ष निकालेको छ । तीन नम्वर प्रदेश नेकपाको संसदीय दलको बैठकले समेत पार्टीकै निर्देशन बमोजिम राजधानी हेटौंडा र प्रदेशको नाम वागमती राख्ने भएको हो । नाम र राजधानीका विषयमा पार्टीभित्र सहमति जुटाउन सचिवालयले नै हस्तक्षेप गर्नु परेको थियो ।

नेकपा संसदीय दलका नेतासमेत रहेका तीन नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी संसदीय दलमा प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि शुक्रबार सर्वदलिय बैठक बोलाई आफूहरुको निर्णयलाई साथ दिन आग्रह गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत नाम र राजधानीको विषयमा सत्तारुढ नेकपालाई साथ दिएको छ ।

कांग्रेसले समेत प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाउने निर्णय गरिसकेको छ । प्रदेशसभामा एक सिट रहेको राप्रपा र राप्रपा संयुक्तले पनि सत्तारुढ दललाई साथ दिएका छन् । राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङले नाम वाग्मती र राजधानी हेटौंडाको पक्षमा मतदान गर्ने भएका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्र गोसाईले भने सत्तारुढ दल नेकपाले गरेको निर्णयमा समर्थन गरेको छैन । विवेकशील नेपाली दलका रमेश पौंडेलले राजधानी काभ्रेमा राख्ने पार्टीको निर्णय रहेको जनाउँदै आएका छन् । प्रदेशको नाम वाग्मती राख्ने विषयमा भने विवेकशील नेपालीले सहमत जनाएको छ ।

साझा पार्टीकी शोभा शाक्यले नाममा सहमत भए पनि राजधानीको विषयमा असहमति जनाएकी छन् । विवेकशील साझाका सांसद पौडेलले शनिबार नै प्रदेशको राजधानी धुलीखेल बनाउने प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् । उनको सो प्रस्तावमा विवेकशील साझाकी सांसद सांसद शोभा शाक्य र विराजभक्त महर्जनले समर्थन गरेका छन् ।

शनिबार नै सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले हेटौंडालाई राजधानी बनाउने प्रस्ताव दर्ता गरेका थिए । प्रदेशको राजधानी हेटौंडा बहुसंख्यक सभासद्लाई अपायक परेको भन्दै सत्तारुढ नेकपाका सभासद्ले विरोध गर्दै आएका थिए ।

नेकपाका मकवानपुर र चितवनवाहेक दुई तिहाई वढी सांसदहरुलाई हेटौंडा प्रदेश राजधानी अपायक पर्ने निश्चित छ । विशेष गरी तीन नम्वर प्रदेशको रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र रामेछापका सांसदलाई हेटौंडा पुग्न नै एक दिनदेखि २ दिनसम्म लाग्ने गर्छ । विशेष गरी रसुवा र दोलखाका जनप्रतिनिधिलाई हेटौंडा अपायक पर्ने देखिन्छ ।

नेकपाका धेरै जसो सांसदले तीन नम्वर प्रदेशको राजधानी काभ्रे जिल्लाको धुलीखेल वा आसपासको क्षेत्रमा राख्नु पर्ने माग गर्दै आएका थिए । पूर्वमन्त्री समेत रहेको नेकपाका प्रदेश सभासद् राजेन्द्र पाण्डे, नेकपाको तीन नम्वर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य लगायतले हेटौंडा राजधानी कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै आएका थिए । पाण्डेले त हिउँदे राजधानी हेटौंडा राखे पनि वर्षे राजधानी धुलीखेल बनाउनु पर्ने प्रस्ताव गरेका थिए ।

तर नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशन र निर्णयबिरुद्ध जाने हिम्मत कसैको नभएकाले हेटौंडा राजधानी तोकिएको थियो । सत्तारुढ नेकपाका तीन नम्वर प्रदेश कमिटीमा हेटौंडालाई राजधानी बनाउने प्रस्ताव बहुमतले पारित भए पनि दुई दर्जन बढी प्रदेश कमिटी सदस्यले नोट अफ डिसेन्ट लेखेका थिए । प्रदेशको नाम नेवा तम्सालिङ राख्नु पर्ने दुई दर्जन सदस्यको मतलाई समेत गुपचुप राखिएको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र वानियाँ पनि मकवानपुरकै भएकाले उनले समेत ह्वीप जारी गरी सत्तारुढ दलकै निर्णयमा लतारिएर हेटौंडा राजधानी हुनु पर्नेमा जोड दिएको पाइन्छ । तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले २०७४ सालमा प्रदेश तीनको अस्थायी राजधानी हेटौंडा तोकेका थिए ।

त्यसवेला स्थानीय विकास मन्त्री राप्रपाका कमल थापा थिए । प्रदेश तीनको १३ जिल्लामध्ये दुई जिल्लालाई मात्र सुविधा हुने तर ६ जिल्ला सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटलाई दुगर्म हुने हेटौडा राजधानीले प्रदेशका यी जिल्लावासीले समेत सास्ती बेहुर्नु पर्ने देखिन्छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा काभ्रे र धादिङका जनप्रतिनिधिलाई पनि हेटौंडा राजधानी जाडो मौसम वा बर्षामा समेत कठिन र सास्ती निम्त्याउने देखिन्छ ।

मकवानपुर र चितवनका प्रदेश सांसदहरुले भने काठमाडौं हेटौंडा सुरुङमार्ग निर्माण भएमा हेटौडा टाढा नभएको बताउँदै आएका छन् भने नेकपाका केही शीर्ष नेताले प्रदेश २ को बारा र पर्षालाई समेत बाग्मती प्रदेशमा मिलाइने भएकोले हेटौंडालाई राजधानी तोकिएको बताएका छन् ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०७६ पुष २९, १०: ०१

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०७६ पुष २९, १०: ०१

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०७६ पुष २९, १०: ०१

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...