नेतृत्व छोड्नै नचाहने प्रमुख नेताकै एकाधिकारले चरम निरासा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
संघीय गणतन्त्रमाथि खतरा कोबाट र किन?

नेतृत्व छोड्नै नचाहने प्रमुख नेताकै एकाधिकारले चरम निरासा

काठमाडौं। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली शुरुवात भएको १५ वर्ष भईसकेको छ। समावेसी प्रतिनिधित्वको सूनिश्चिततासहित धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली बमोजिमको संविधान कार्यान्वयन भएको आठ वर्ष भएको छ।

यति छोटो समयमा संविधान बमोजिमका मौलिक अधिकार ग्यारेटी गर्न आवश्यक पर्ने कानूनहरु समेत बनिनसक्दै र संविधानको कार्यान्वयन नै भइनसकी यसमाथि प्रश्न उठाउन थालिएको छ।

नेपाली जनताको चाहना र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिमाथि एक दशकभित्रै यसरी प्रश्न उब्जिनुको पछि राजनीतिक परिवर्तनका पक्षधर राजनीतिक दलका प्रमुख नेताको कार्यशैली नै दोषि देखिन्छ।

वर्तमान राजनीतिक शासन प्रणालीका पक्षधर दलहरुको काँधमा नै शासन सत्ता छ। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलहरु नै वर्तमान राजनीतिक परिवर्तनको स्वामित्व लिने गर्दछन्।

यही मंसिर ५ र मंसिर ७ गते महत्वपूर्ण दिनमा समेत परिवर्तनका पक्षधर दलहरुले विस्तृत शान्ति सम्झौता र १२ बुँदे समझदारी भएको ऐतिहासिक दिनको अवसरमा औपचारिक कार्यक्रम गरी समिक्षा समेत गर्न सकेनन्। त्यसको खास कारण थियो, एक मेडिकल व्यवसायीले वर्तमान राजनीतिक परिवर्तमानमाथि नै प्रश्न उठाउँदै गर्ने भनिएको र गरेको शासन व्यवस्था बदल्ने आन्दोलन।

संसारकै उत्कृष्ठ २०७२ मा जनताले चुनेका प्रतिनिधिहरुले बनाएको संविधानमाथि यति थोरै समयमै प्रश्न उठाउने गरी भएका अन्दोलन र आमनागरिकको नैतिक र भौतिक रुपमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरेका समर्थनले संविधान कार्यान्वयनमा साँच्चिकै चुनौति थपेको छ।

स्वास्थ्य संस्था संचालन गर्दै गरेका व्यवसायी दुर्गा प्रसाईँले सरकारको अनुमतिमा भौतिक पूर्वाधार तयार गर्न करोडौं ऋण लिएको देखिन्छ। तर मेडिकल कलेज संचालन गर्न नपाउँदाको आक्रोृसमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै चुनौति थपिनु वर्तमान राजनीतिक परिवर्तन कतै कमजोर त छैन भन्ने देखाएको छ।

प्रमुख दलका शीर्ष नेताको कार्यशैली, व्यवहार र जीवनपद्धति हेर्ने हो भने दलिय व्यवस्थामाथि आस्था राख्ने नेपाली नागरिकहरु नै बढी असन्तुष्ट देखिएका छन्।

नेपाली जनताको समृद्धिको चाहनालाई संवोधन गर्न नसक्दा वर्तमान व्यवस्थामाथि नै प्रश्न गर्न थालिएको छ। समावेसी लोकतान्त्रिक चरित्र वोेकेको संविधानमाथि आज प्रश्न उठाउनेहरुले त्यसको कार्यान्वयन नगर्ने, गर्न नसक्ने र दुरुपयोग गर्ने प्रमुख दलका शीर्ष नेतामाथि नै प्रश्न गरिरहेका छन् र असन्तुष्टि व्यक्त गरिरहेका छन्।

बहुदलिय शासन प्रणालीमा यति धेरै राजनीतिक दल र नेता हुँदा समेत आमनागरिकहरुले विहीबार एक विवादस्पद पृष्ठभूमीका मेडिकल व्यवसायीको विरोध प्रदर्शनलाई साथ, समर्थन र सहयोग गर्नु भनेको दल र दलका नेतामाथिको चरम असन्तुष्टि हो भन्ने प्रष्ट हुन्छ।

आवधिक निर्वाचनबाट बहुमतको सरकार चलाउने नेपाली कांग्रेस, नेकपा माओबादी केन्द, नेकपा एकीकृत समाजबादी, जनता समाजबादी पार्टी नेपालदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सबै वर्तमान संविधान र व्यवस्थापको स्वामित्व लिने दलहरु हुन्।

यो व्यवस्थाप्रति करिव ५ प्रतिशतको हाराहारीमा जनमत पाएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विपक्षमा छ।

एउटा प्रसाईंको आव्हानमा भएको विरोध प्रदर्शबाट राज्यको सुरक्षा निकाय यतिधेरै सतर्क रहनु पर्ने अवस्था कहाँबाट आयो? त्यसको एउर्टै जवाफ हो राजनीतिक दललाई विश्वास गरेर मत दिने मतदाताको आदेश वा चाहाना बमोजिम काम गर्न नसक्ने असक्षम नेतृत्व।

गुनासो गर्नेलाई पाखा लगाउने नेतृत्व

बहुलवादमा आधारित संघीय लोकतान्त्रिक नेपालमा राजनीतिक दल नेपालमा पर्याप्त छन्। हरेक दलको नेतृत्व गर्ने अध्यक्ष वा सभापतिहरु पार्टी भित्रबाट आउने फरक मतलाई स्वीकार्न सक्दैनन्।

नेकपा एमाले
प्रमुख प्रतिपक्ष दलको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यशैली र योजनामाथि फरक मत राख्ने जस्तासुकै बरिष्ठ नेतालाई समेत पाखा लगाउने र आफ्नालाई अवसर दिने नेता हुन्।

उनै ओलीका कारण एमालेका दुई पूर्वअध्यक्षहरु माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपाध्यक्ष बामदेव गौतमसमेत पार्टीमा अटाउन सकेनन् भने भीमरावललाई पार्टीको कुनै पनि जिम्मेवारी दिएनन्।

बरु ओलीले विवादस्पद छवि भएका महेश वस्नेतदेखि गोकुल वाँस्कोटालाई भने वारम्बार अवसर दिने गर्छन्। ओलीले पाखा लगाएकै कारण पूर्वउपमहासचिव घनश्याम भुषाल नेकपा एकीकृत समाजबादीको महासचिव भइसकेका छन्।

केपी ओली आफ्नो कार्यशैलीप्रति प्रश्न गर्ने र असन्तुष्टि व्यक्त गर्नेहरुको माग संवोधन गर्ने वा समान व्यवाहार प्रदर्शन गर्ने शैली अपनाउँदैनन्।

उनको आलोचना गर्नेहरु त किनारा लगाउने गरिन्छ जसले गर्दा नेतृत्वप्रति विश्वास र भरोसा तत्लोतहका नेता र कार्यकर्तामा तोडिँदै गएको छ। चाकडी, चाप्लुसी र भक्तहरुले अवसर पाउने भएपछि योग्यता र क्षमता भएकाहरुले एमालेमा अवसर पाउँदैनन्।

ओली आफ्नो पार्टीभित्रका विरोधीको तेजोबध गर्न सुदूरपश्चिम प्रदेशमा नवप्रवेसी लेखराज भट्टलाई नेता बनाएर उपाध्यक्षमा विजयी भईसकेका र आफूसँग अध्यक्षमा प्रतिष्पर्धा गरेका नेता भीम रावललाई कुनै पनि संसदीय क्षेत्रबाट उम्मेदवार समेत बनाएनन्।

उनले आफ्नो भक्तिभाव देखाए वामत र आर्थिक सहयोग गरेवापत उनी विवादस्पद क्षविका दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाए भने नेपालका एक सय बढी बाटा र पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारलाई उनै प्रसाईंको आन्दोलनको अघिल्लो दिन पार्टीमा रातो कार्पेट बिछ्याए।

दुई दुई पटक मृगौला प्रत्यारोपण गरेका ओली उमेरले ७२ पुगीसके तर पार्टी नेतृत्वमा अझै २० वर्ष रहने घोषणा गर्छन्। उनी पार्टी नेतृत्व कुनै पनि हालतमा छोड्ने पक्षमा छैनन्।

नेपाली कांग्रेस
संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसको नेतृत्व पनि एमाले अध्यक्ष ओलीभन्दा फरक छैन्। सभापति देउवा आफ्नो योजना वा विचारमाथि फरक मत राख्नेलाई कुनै अवसर नै दिँदैनन्। पार्टी संचालनमा देउवाको एकलौटी र एकाधिकार कायम छ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्दा होस् वा संघीय संसद र प्रदेश सदस्यको उम्मेदवार चयन गर्दा देउवाले एकलौटी गरेका छन्।

यहाँसम्मकी पार्टीको महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका सभापतिका प्रत्यासी डा.शेखर कोइराला पक्षधरलाई संघीयदेखि प्रदेश सरकारमा समेत ४० प्रतिशत स्थान दिएका छैनन्।

राजनीतिक नियुक्तिदेखि लिएर पार्टीमा विभाग गठनमा समेत देउवाले एकलौटी गरेका छन्। केन्द्रीय सदस्य मनोनयन र अन्य अवसरमा देउवाले आफ्ना प्रतिष्पर्धी र असन्तुष्ट पक्षलाई अवसरबाट बञ्चित गर्ने गरेको आरोप पार्टी भित्रैबाट लाग्ने गरेको छ।

सभापति देउवा हालसम्म पाँच पटक देशको प्रधानमन्त्री भइसके तर उनी अझै २ पटक प्रधानमन्त्री बन्ने दाबी गर्दै हिँडेका छन्। ७६वर्ष पुगिसकेका देउवा सार्वजनिक कार्यक्रममा हिँड्न रुचाउँदैनन्।

पार्टीको भ्रातृ संस्थामा आफ्नो समुहकाले मात्र अवसर पाउन भनेर उनी महाधिवेशन गर्न कुनै चासो दिँदैनन् तर मनोनीतका भरमा भ्रातृ संस्था चलाउँछन्।

नेकपा माओबादी केन्द्र
संसदको तेश्रो ठूलो दल माओबादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विगत ४० वर्षदेखि पार्टीको नेतृत्वमा छन् । उनी नेकपा मसाल, चौथोमहाधिवेशन, नेकपा माओबादीको महासचिव र अध्यक्ष तथा एनेकपा माओबादी हुँदै हाल नेकपा माओबादी केन्द्रको अध्यक्ष छन्।

प्रकृया पुरा गर्न मात्र पार्टीको महाधिवेशन गर्ने दाहाल नेतृत्वको माओबादीमा मतदानबाट पदाधिकारी भने चयन गर्ने संस्कार अझै बसिसकेको छैन।

माओबादी केन्द्रमा प्रचण्डसँग प्रतिष्पर्धा गर्ने वा गर्छु भन्ने कुनै पनि नेता टिकेको इतिहास छैन। उनका राजनीतिक गुरु मोहन बैद्य किरणदेखि लिएर डा.सहकर्मी डा. बाबुराम भट्टराई समेत उनीसँगै बस्न सकेका छैनन्।

अहिले पभि गोपाल किराँतिदेृखि लिएर विश्वभक्त दुलाल आहुति, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल कोही पनि उनीसँग अटाउँदैनन्। दाहाल आफ्ना विरोधी वा असन्तुष्ट पक्षलाई पार्टीमै रहन दिँदैनन्।

नेकपा एकीकृत समाजबादी
संसदको पाचौं ठूलो दल नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल पनि विगत ३० वर्षदेखि कुनै न कुनै रुपमा नेकपा एमालेको महासचिव र बरिष्ठ नेता हुँदै अवसर लिँदै आएका नेता हुन्।

पार्टीमा असन्तुष्ट र फरक मत राख्नेलाई अवसर नदिने र आफ्ना समर्थक र भक्तलाई सँधै चेप्ने प्रबृत्तिले गर्दा उनीमाथि नाताबाद र कृपावादको आरोप लाग्ने गर्छ।

नेपाल सँधै अन्य नेतालाई सानो तिनो भूमिका दिएर आफै नेतृत्वमा टिकीरहने दाउमा बस्ने नेता हुन्।

जनता समाजबादी पार्टी
सत्तारुढ घटक जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि पार्टीमा असन्तुष्ट पक्षलाई पाखा लगाएर आफ्ना भक्तलाई मात्र अवसर दिने नेता हुन्।

२०६४ मा मधेशी जनअधिकार फोरम नाममा र्गैरसरकारी संस्थाबाट राजनीतिमा प्रवेश गरेका यादव विगत १४ वर्षदेखि पार्टी नेतृत्वमा छन्।

यादव पनि आफूलाई नेतृत्व नदिए पार्टी फुटाउने वा पार्टीबाट असन्तुष्टहरुलाई अवसर नदिएर अन्य पार्टीमा जान बाध्य बनाउने नेता हुन्। उनकै कारण मधेश केन्द्रीत दलहरुको आकर्षण तराई मधेशमा घट्दै गएको छ।

उनीसँग रहेका उनका सहकर्मीहरु जयप्रकाश प्रसाद गुप्ता, विजयकुमार गच्छदार, महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो, महिन्द्र राय यादव कोही पनि सँगै छैनन्। पछिल्लो समय यादवसँगै रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत यादवको साथ छाडिसकेका छन्।

लोकतान्त्रिक समाजबादी पार्टी
सरकारमा सहभागी लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विगत १४ वर्षदेखि मधेशकेन्द्रीत दलको नेतृत्वमा छन् । टुट्दै र फुड्दै हाल राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा र सर्वेन्द्रनाथ शुक्लालाई साथमा लिएर हिँडेका ठाकुर २०६४अघि नेपाली कांग्रेसमा थिए।

हाल लोसपामा आफ्ना प्रतिष्पर्धी र विरोधीलाई अल्पमतमा पारेर कमजोर बनाउन उनले आफ्ना परिवारका सदस्यलाई पार्टी राजनीतिमा ल्याएको आरोप लाग्ने गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी
रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा समेत नेतृत्वको हालीमुहाली छ।

आफ्नो विचार र योजनाभन्दा फरक मत राख्नेलाई रबी लामिछानेले २०७९को संघीय संसदको निर्वाचनमा समानुपातिक तर्फको सांसद छनोट गर्दा देखाएको विभेदपूर्ण व्यवहारले देखाई सकेको छ।

मन्त्री बन्ने नाममा दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ आर्थिक सहयोग मागेका रास्वपाका सांसद ढाकाप्रसाद श्रेष्ठले आफूले नेतृत्वको निर्देशनमा रकम मागेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि रबीले उनलाई कारबाही गरे।

उनले संसदबाट नागरिकता विधेयक पारित भएको अवसरमा त्यसको स्वागत गर्ने सांसद मनिष झाको अभिव्यक्तिको खण्डन गरेका थिए।
लामिछानेले समानुपातिक सांसदको छनोट गर्दा गणेश कार्कीको नाम समानुपातिक सूचीमा रहे पनि उनलाई हटाएर महिला उम्मेदवारलाई छनोट गरेर पूर्वाग्रही व्यवहार देखाए।

जेलमै वसेर श्रीमती र बुवालाई कैलाली र बर्दियाबाट निर्वाचित गराउन सफल रेशम चौधरीले आफ्ना प्रतिष्पर्धी र असन्तुष्ट नेताहरुलाई साईड लगाइ सकेका छन्। उनी पार्टीमा आफनो समर्थकवाहेक कसैलाई पनि स्थान नदिने नेता हुन् ।

यसरी हेर्दा नेपालमा रहेका राजनीतिक दलको नेतृत्वको पदलोलुप जीवनशैली र जीवनपर्यन्त पार्टीको नेतृत्व नछाड्ने प्रबृत्तिले आमनागरिकमा राजनीतिक दलका नेताप्रति वितृष्ठा पैदा भएको हो ।

समस्यामा परेका नेता, कार्यकर्ता, शुभेच्छुक र मतदाता वा नागरिकको प्रश्नको जवाफ नदिने, गुनासो सुन्न नचाहने र पार्टीभित्र एकलौटी निर्णय गरेर एकाधिकार लाद्ने प्रबृत्तिले नेपालमा गैरदलिय नागरिकहरुको विना योजनाका सरकारबिरोधी अभियानमा समर्थन जुट्ने गरेको छ।

यसका लागि राजनीतिक दलका नेताहरुले सामुहिक नेतृत्वको भावना जागतृ गर्न नसकेृ प्रतिगमन हुने सम्भावना रहन्छ। त्यसका लागि दोश्रो वा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण अहिले राजनीतिक आकासमा देखिएको मडारिएको बादल फाट्ने निश्चित छ।

नत्र वादल लाग्ने होइन, लोकतान्त्रिक व्यवस्थामा ग्रहण लाग्ने चुनौति टड्कारो देखिन्छ।

 

 

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर ८, २२: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर ८, २२: १२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर ८, २२: १२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...