‘मन्त्रीका अपराध छोप्न अधिवेशन अन्त्य गरियो’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

‘मन्त्रीका अपराध छोप्न अधिवेशन अन्त्य गरियो’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट अधिवेशन आव्हान गर्न पर्याप्त समय हुँदा हुँदै अप्रत्यासित र असामयीक रुपले संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य गरेकोमा आपत्ति जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आइतबार बिहान बसेको बैठकले सहकारी ठगीका प्रकरणमा सरकारका मन्त्रीहरु नै संलग्न भएको तथ्यहरु वाहिर सार्वजनिक भएसँगै त्यस्ता अपराधलाई ढाकछोप गर्न संघीय संसदको अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको हो ।

संसदमा सबै विपक्षी दलहरुले आमनागरिकसँग प्रत्यक्ष सरोकार भएको सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका थिए । सरकारका बहालवाला उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको सुनिश्चितताका निम्ति संसदीय छानविन समिति गठन गर्नुपर्ने कांग्रेस लगायतका विपक्षी दलहरुको मागलाई पुरा नगर्न सरकारले संसदको अधिवेशन अन्त्य गरेको हो ।

सहकारी ठगी प्रकरणमा सरकारलाई विपक्षीको मागप्रति गम्भीर हुन सत्तापक्षकै सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका थिए । सरकारले सदनमा बहुसंख्यक सदस्यहरुले उठाएको विषय बारे गम्भीर र सार्थक सम्वाद गरी निष्कर्षमा पुग्नु पर्नेमा जनताको सरोकारको विषयमा वेवस्ता गर्दै संसदबाट भाग्ने काम गरेको कांग्रेसको ठहर छ ।

‘सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने, जवाफदेही ढङ्गले प्रस्तुत हुनुपर्ने संसदीय मूल्य मान्यताका वर्खिलाप संसदीय अभ्यासमा आघात गर्ने र प्रकारात्मकले संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत गरेको छ’, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘प्रतिपक्षको अवरोधका कारण संसद चल्न नसकेको भनि सत्तापक्षबाट हुने गरेका तर्क हास्यास्पद मात्र होइन लज्जास्पद पनि छन् ।’

नेपाली कांग्रेसले एक महिनादेखि सहकारी ठगीमा सरकारका उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको विषय तथ्य र प्रमाणसहित उठाउँदै आएको थियो । तर, संसदका कुनै पनि काम कारवाही अवरोध गरेको थिएन । यस बिचमा सरकारको अपरिपक्वता, गैरजिम्मेवारी र तानाशाही प्रवृत्तिका कारण दुई दिन केही अवरोध भएको हो जसको जिम्मेवारी सरकारले नै लिनु पर्दछ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी यस पूर्वप्रतिपक्षमा रहेका दलहरुले कति दिनसम्म संसद अवरुद्ध गरेका थिए भन्ने इतिहास पनि स्मरण गर्न आग्रह गर्दछौं । नेपाली कांग्रेस संसदीय दलको यो बैठक जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार हुँदै संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको घोर भत्सर्ना र निन्दा गर्दछ । साथै सरकारलाई यस्ता अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध कार्य नगर्न कडा चेतावनी दिने निर्णय गर्दछ ।’

नेपाली कांग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको लाखौं जनताले सहकारीमा जम्मा गरेको अरबौं रकम हिनामिना ठगी भएको र उक्त जनविरोधी अपराधजन्य कार्यमा स्वयं सरकारका मन्त्री संलग्न रहेको विषय घाम जस्तै छर्लङ्ग भई सकेको कांग्रेसको दाबी छ ।

सहकारी पीडितका पक्षमा, सहकारीको रकम ठगी गर्ने अपराधीका विरुद्धमा र यस विषयको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको पक्षमा थप दृढतापूर्वक कांग्रेस उभिएको भन्दै लेखकले भनेका छन् ‘संसदीय अभ्यासमा सदनलाई विजनेस सरकारले दिने हो ।

कानून निर्माणको विषयमा विधेयक प्रस्तुत गर्ने, प्रभावकारी छलफल गराउने, दलहरुबिच वार्ता र सम्वाद गरी कानून निर्माण कार्यलाई निष्कर्षमा पु¥याउने जिम्मेवारी सरकारको हुन्छ । तर सरकार संघीयता लगायत संविधान कार्यान्वयन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने, नागरिकका मौलिक हकअधिकारको प्रचलन गर्ने, नागरिकका दिनानुदिनका समस्या सम्वोधन गर्ने र नागरिकका जनजीविकाका सवालहरु सम्वोधन गर्ने, विधेयक सदनमा प्रस्तुत गर्न सर्वदा असफल भयो ।’
(नयाँ विकल्प साप्ताहिक बाट)

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ४, १६: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख ४, १६: ३९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ४, १६: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...