सम्भव भन्छन्– सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गरियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सम्भव भन्छन्– सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गरियो

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले बुवा कैलाश सिरोहियालाई पक्राउ गर्न लगाएको दाबी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सम्भवले भिडियोमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सहकारी घोटालाको समाचार लुकाउन धेरैपटक गरेको आग्रहलाई अस्वीकार गर्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकताको झुटो कसुरमा पक्राउ गरिएको खुलाएका हुन्।

नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयले जेठ ८ गते सिरोहियालाई कान्तिपुरको थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको थियो।

सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी हिरासतमा चार दिन, जनकपुरस्थित काब्या अस्पतालमा तीन दिन र मेडिसिटी अस्पताल ललितपुरमा २ दिन बसेर जेठ १६ गते रिहा भएका थिए।

सम्भवले सहकारी घोटाला जनतामाझ ल्याउने क्रममा गृहमन्त्री लामिछानेले धेरै ‘रिक्वेस्ट’ गरेर समाचार लुकाइदिन भनेको पनि दाबी गरेका छन्।

उनले सो समाचार नलेखेर आफ्नो आग्रह अनुसार मिलाइदिन लामिछानेले गरेको आग्रह नमानेपछि प्रतिशोध साँधेर मन्त्री पद दुरुपयोग गरेर आफ्ना बुवालाई पक्राउ गराएको दाबी गरेका छन्।

‘हामीले कहिल्यै कान्तिपुरलाई व्यापारका रुपमा हेरेनौँ । माओवादी, एमाले, कांग्रेस, राप्रपा कुनै पनि दलका र भ्रष्टाचारविरुद्ध कान्तिपुरले जहिले पनि स्ट्यान्ड लिएको छ, लिइराख्ने छ,’ उनले भनेका छन्, ‘एउटा अर्को नयाँ दलको भ्रष्टाचार देखिँदा कान्तिपुरले लुकाउन सक्दैन। सत्यलाई जनतामाझ लिएर आउनुपर्छ । यसपाली गृहमन्त्री लामिछानेको सहकारी घोटाला जनतामाझ ल्याउने क्रममा उहाँले धेरै ‘रिक्वेस्ट’ गर्नुभयो। समाचार लुकाइदिन र मिलाइदिन भन्नु भयो। उहाँले आफूले गरेको पत्रकारिता जस्तै सोच्नुभयो । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ भन्ने सोच्नुभयो। उहाँलाई कति बुझाउन खोजियो व्यवस्थापनले समाचार लेख्दैन र कान्तिपुरमा सम्पादकीय समूह स्वतन्त्र छ। उहाँले यो कुरा बुझ्न सक्दै सक्नुभएन।’

सम्भवले गृहमन्त्रीको अनुरोध नमानेकै कारण बुवा पक्राउ परेको दाबी गरेका छन् । ‘गृहमन्त्रीको ‘रिक्वेस्ट’मा कान्तिपुरले सेटिङ गरेन। अनि उहाँ तल्लोस्तरमा उत्रिनुभयो । पदको दुरुपयोग गरेर झुटो मुद्दामा कान्तिपुरका अध्यक्ष एवम् मेरो बुवा कैलाश सिरोहियालाई पक्राउनु भयो ।’

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २५, १६: ५२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २५, १६: ५२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २५, १६: ५२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...