सातै प्रदेशबाट सत्ता र शक्ति गुमाउँदै प्रचण्ड – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सत्ता उन्मादमा परेर धोकेबाज राजनीतिमा भर पर्दाको परिणाम

सातै प्रदेशबाट सत्ता र शक्ति गुमाउँदै प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक जीवनको उत्तरार्धमा पुगेका छन् । एक वर्षअघिसम्म संसदको तेश्रो राजनीतिक शक्ति भएर पनि राजनीतिको केन्द्रविन्दुमा रहेका दाहाल एकाएक देशको राजकीय पदबाट बहिर्गमन मात्र होइन, शक्ति पनि गुमाउने निश्चित छ।

आगामी असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने योजनामा रहेका दाहाल त्यसपछि भने राजनीतिको मूलधारबाट पाखा लाग्ने सम्भावना छ।

राजनीतिमा धोखाधडीबाटै स्थापित हुन खोज्ने दाहालको रणनीति भने अव असफल भएको छ । आफूलाई भावुक देखाउन कस्मेटिक अभिनयमा माहिर दाहाल यतिवेला उनीबाट धोखा पाएकाहरुबाट टाढिएका हुन् ।

दाहालको ‘एउटा तुलनात्मक कम प्रभाव भएको शक्तिको काँधमा बन्दुक राखेर अर्को तुलनात्मक रुपमा सबल शक्तिको टाउकोमा प्रहार गर्ने’ गर्ने रणनीति नेपालमा करिव तीन दशकसम्म सफल भएको देखिन्छ।

बामपन्थी राजनीतिलाई आधार बनाएका दाहाल पार्टी नेतृत्वमा भने चार दशकसम्म रहन सक्नु उनको यही रणनीतिको परिणाम हो। राजनीतिमा उनले आफूभन्दा सिनियर वा आफूसमान हैसियतका राजनीतिज्ञलाई जीवनभर साथमा लिएनन्। जो जो आफूसँग सहयात्री बन्न खोज्दछन्, ति सबैलाई पाखा लगाएर दलिय शक्ति आफूमा केन्द्रीत गर्न सक्नु नै दाहालको प्रमुख लक्ष्य हो।

बर्ग संघर्षको नाममा भूमिगत जीवन कालमै राजनीतिक शक्तिकेन्द्रको रुपमा उदाएका दाहालको चरम महत्वकांक्षाले उनलाई राजनीतिक जीवनको उत्तरार्धमा कमजोर र निरिह सावित गर्दैछ। उनका सहकर्मीहरु अब उनले नेतृत्व गरेको दलमा लगभग शुन्य छ।

आफू मातहतका नेता र कार्यकर्तालाई समेत प्रतिष्पर्धी देखाएर वा प्रतिष्पर्धी खडा गरेर कमजोर बनाउने गरेका छन्। जसको परिणाम भूमिगत राजनीति, शसस्त्र द्वन्द्व र खुला प्रतिष्पर्धात्मक राजनीतिमा समेत राजकिय शत्ताको ‘इन्ज्वे’ गरेका दाहाल अब भने संसदीय राजनीतिका दुई शक्तिशाली स्थापित दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सहमति भएसँगै कमजोर राजनीतिक शक्तिमा खुम्चिने निश्चित छ।

नेपालको राजनीतिमा दाहालले धोखा नदिएका र धोखा नपाएका कुनै राजनीतिक शक्ति नै वाँकी नभएकाले उनीसँगको सहकार्य असम्भव प्राय छ। कथम् सहकार्य गरे पनि त्यो क्षणिक र कमजोर अनि अविश्वस्निय हुने निश्चित छ।

पछिल्लो समय उनको दल माओबादी केन्द्रसँग सहकार्य गर्ने शक्तिशाली दल नै छैनन भन्दा फरक नपर्ला । प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने दिशामा सहमति भएसँगै प्रचण्डले संसद फेस गरेर बहिर्गमनको बाटो रोज्न बाध्य हुने निश्चित छ।

कांग्रेस–एमाले गठबन्धनलाई राप्रपा, लोसपा, जसपा नेपाल लगायतले पनि समर्थन गर्ने सङ्केत देखिएको छ । कांग्रेस–एमाले गठबन्धनबाट पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भइसकेको छ। साना दलले पनि समर्थन गरेमा ओलीको पक्षमा दुई तिहाइभन्दा बढी अर्थात् २०७ मत पुग्ने देखिएको छ।

यता प्रचण्डलाई अहिलेसम्म माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसदको मात्र समर्थन देखिएको छ।

संसदमा एक÷एक सिट भएका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र स्वतन्त्र सांसद अहिलेसम्म कतै खुलेका छैनन्। दाहाललाई रास्वपाले गर्ने समर्थन पनि क्षणिक छ। किनकी आफूलाई नयाँ शक्तिको रुपमा स्थापित गरेर पुराना दलको विकल्प बन्ने उद्देश्य लिएको रास्वपाले चाहेर पनि माओबादीसँग सहकार्य दीर्घकालिन हुने सम्भावना नै छैन।

केन्द्रदेखि सातै प्रदेशमा धोखा खाएकाहरु एकै ठाउँमा

कांग्रेस–एमाले सत्ता सहकार्यले असार २८ मा प्रधानमन्त्री प्रचण्ड सत्ताच्युत हुने लगभग निश्चित छ। कहिले एमाले त कहिले कांग्रेससँग मिलेर डेढ वर्ष सत्ता टिकाएका प्रचण्डले एकैपटक केन्द्रदेखि सातै प्रदेशमा सत्ता गुमाउने भएका छन्।

२०७९ पुस ११ गते तेस्रोपटक शक्तिशाली प्रधानमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका उनी कुनै उथलपुथल नभएमा अबको पाँच दिनमा राजकीय शक्ति गुमाएर बाहिरिने भएका हुन्।

प्रधानमन्त्री भएको करिब १९ महिनामा दाहालले पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि पहिलोपटक २०७९ पुस २६ गते, दोस्रोपटक २०७९ चैत ६ गते तेश्रो पटक २०८० फागुन ३० गते, चौथो पटक २०८१ जेठ ७ गते र आगामी असार २८ गते पाचौं पटक विश्वासको मत लिँदैछन्।

१९ महिनामा ४ पटक विश्वासको मत पाएका दाहालले यो पटक भने विश्वासको मत पाउने सम्भावना नै समाप्त भएको छ।

संघदेखि सातै प्रदेशमा कांग्रेस–एमालेको सहज बहुमत पुग्ने भएकाले प्रचण्डले चमत्कार गरे पनि यो साता राजकीय पद गुमाउँदैछन् । अहिले देशको सर्वोच्च निकाय राष्ट्रपतिमा रामचन्द्र पौडेल छन्। जो नेपालीस् कांग्रेसका पूर्वकार्यवाहक सभापति समेत हुन्। जसपा नेपालका महासचिव भइसकेका रामसहायप्रसाद यादव उपराष्ट्रपति छन्।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेकपा एमालेको टिकटबाटै झापा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद हुन् । राष्ट्रिय सभाका उपाध्यक्ष एमाले र प्रतिनिधि सभाका उपसभामुख रास्वपाबाट बनेका छन्।

सात प्रदेशमध्ये अहिले माओवादीले बागमती र लुम्बिनीमा मात्र सरकारको नेतृत्व गरेको छ। ति दुवै प्रदेशमा कांग्रेस र एमाले मिलिसक्दा अरु सबै दल विपक्षमा लागे पनि माओबादीले सत्तामा साझेदारी पाउने सम्भावना छैन।

माओवादीबाट लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख बनेका छन्। यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा माओवादी केन्द्रबाट सभामुख बनेका छन् कर्णालीमा उपसमाभुख माओवादी केन्द्रले पाएको छ । नयाँ समीकरण बनेपछि सातै प्रदेशमा माओवादी सत्ता बिमुख हुनेछ । त्यसको शुरुवात मधेस प्रदेशबाट भइसकेको छ।

सात प्रदेश प्रमुखमध्ये अहिले कोशीका प्रदेश प्रमुख परशुराम खापुङ जसपा नेपाल निकट हुन्। मधेसकी सुमित्रा भण्डारी, गण्डकीका डिल्लीराज भट्ट र सुदूरपश्चिमका नजिर मियाँ एमाले निकट हुन्। यी तीनै जना फागुन २९ गतेमात्र फेरिएका हुन्।

बागमतीका प्रदेश प्रमुख यादवप्रसाद शर्मा एकीकृत समाजवादी निकट हुन् भने लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियार माओवादी निकट हुन्। शर्मा, शेरचन र परियार तीनै जनाको पद धरापमा छ।

सात मुख्यमन्त्रीमध्ये कोशी, लुम्बिनी र कर्णाली एमालेले लिने सहमति भएको छ। मधेस जनमत पार्टीलाई नै निरन्तरता पाई सकेको छ भने गण्डकीमा कांग्रेसकै मुख्यमन्त्री छन्। बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री अब कांग्रेसले लिने सहमति भएको छ । अहिले माओवादीबाट बागमतीमा शालिकराम जम्कट्टेल र लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री छन्।

सभामुखतर्फ कोशी र बागमतीमा राप्रपा, मधेस र कर्णालीमा एमाले, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा माओवादीबाट निर्वाचित भएका हुन्। संसदमा असहयोग भएको खण्डमा माओवादीले प्रदेश सभाबाट जुनसुकै बेला सभामुख गुमाउने खतरा देखिन्छ। त्यति मात्रै होइन अब संवैधानिक निकाय, कूटनीतिक नियोग, राजनीतिक नियुक्तिका सबै ढोकाहरू माओवादीका लागि बन्द हुनेछन्।

अध्यक्ष दाहालको एकल निर्णयबाटै चल्ने नेकपा माओबादी केन्द्रबाट एमाले, कांग्रेसले मात्र होइन, जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्ति लगायतका दलहरुले धोखा पाईसकेका छन् । उनीहरु दाहालको आश्वासन वा सहमतिलाई भर पर्न त टाढाको कुरा विश्वास समेत गर्न सक्दैनन्।

उथलपुथलको सपना देख्दै सत्ता छोड्न आनाकानी

अझै पनि कांग्रेस वा एमाले भित्र खेल्न सकिन्छ कि भनेर अनेकौं तिकडम, आश्वासन, चतु¥याई र तिलम्मी कुरा गरेर प्रधानमन्त्री दाहालले उथल पुथल ल्याई दिने सपना देखि रहेका छन्। उनको यो सपनामा नयाँ राजनीतिक अभ्यासमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सपना देख्ने गरेको छ।

त्यसैले राजिनामाको पत्र खल्तीमा बोकेर प्रधानमन्त्री दाहाललाई बुझाउन वालुटार पुगेको रास्वपा अध्यक्ष रबी लामिछानेसहितका चार मन्त्री आश्वासन पाएर फर्किए।

विश्वासको मतसम्बन्धी प्रस्ताव संसदबाट फेल भएमा संविधानको धारा ७६को उपधारा (३)मा जान सकिने उनको बुझाइ रहेको छ। उपधारा ३ अन्तर्गत सरकार गठन भएमा सबैभन्दा ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने भएकाले प्रधानमन्त्री बन्नबाट ओलीलाई रोक्न सकिने प्रचण्डको आङ्कलन छ।

असार १८ गते प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको पदाधिकारी बैठकबाट राजीनामा नदिने निर्णय गरेका उनी त्यस लगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए । पौडेलसँग भेटका क्रममा प्रचण्डले सरकार गठनको विषयमा छलफल गरेका थिए।

उनले विभिन्न सम्पर्क सूत्र प्रयोग गर्दै देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेका होइनन् तर देउवाले अस्वीकार गरे। सरकार गठनकै विषयमा शनिबार प्रचण्डले कांग्रेसका नेता डा. शेखर कोइरालासँग छलफल गरेका थिए।

तर कांग्रेस–एमालेले संविधानको धारा ७६(२) आन्र्तगत नै सरकार गठन गर्ने सहमति गरिसकेको, कांग्रेसको पदाधिकारी तथा संसदीय दलको बैठकले ओलीलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको र यसअघि प्रदेश सरकार गठनका विषयमा सर्वोच्च अदालतबाट स्पष्ट व्याख्या आइसकेकाले प्रचण्डको रणनीति तत्काल सफल हुने देखिँदैन।

ओली र लेखकले फागुन ३० गरेका थिए संकेत

एमाले अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष फागुन ३० गते प्रधानमन्त्री दाहालले संसदमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै ‘कांग्रेससँग सहकार्य गर्न खोज्यो, भागेर हिँड्छ। कुरै सुन्न चाहँदैन, छलफल गरौं, एक ठाउँ बसौं भन्यो टाढा टाढा भाग्छ’ भनेर गुनासो गरेका थिए।

त्यसै वेला उनले भविष्यमा सहकार्य गर्न उनले कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरेका थिए। ओलीको अभिव्यक्तिलाई चासो दिएर सुनेका देउवाले टाउको हल्लाएर सकारात्मक जवाफको संकेत गरेका थिए।

त्यही दिन कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादी केन्द्रले कांग्रेस र एमालेलाई पालैपालो धोका दिएको र माओबादीले धोखा दिएको राजनीतिक शक्ति नै वाँकी नरहेको भन्दै ‘धोका पाएका दलहरु भविश्यमा कथम कदाचित एक ठाउँमा उभिए भने त्यो दिन तपाइँ र माओबादी पार्टीको हालत के होला?’ भनी प्रश्न गरेका थिए।

आखिर त्यसको तीन महिना पुगीसके पछि भयो पनि त्यस्तै। माओबादीबाट धोखाधडी पाएका प्रमुख दल नै एकै ठाउँमा उभिए पछि धोखा पाउने अन्य साना दल पनि माओबादीइत्तरमै उभिने निश्चित छ। (नयाँ विकल्प साप्ताहिकबाट )

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २४, १६: ५६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २४, १६: ५६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २४, १६: ५६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...