संक्रमणकालिन न्यायासम्वन्धि विधेयक चालु अधिवेशनबाटै पारित गराउने गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

संक्रमणकालिन न्यायासम्वन्धि विधेयक चालु अधिवेशनबाटै पारित गराउने गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालु अधिवेशनबाट पास गर्ने प्रमुख तीन दलका शीर्ष नेताहरुले प्रतिबद्धता व्यक्त गरेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन आज सिंहदरबारमा शीर्ष नेतालाई बुझाएपछि नेताहरुले उक्त प्रतिबद्धता जनाएका हुन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवादित विषयमा सहमति खोज्न गठित कार्यदलले बुधबार शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझेपछि प्रमुख प्रतिपक्षी दल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सहमति नेताहरुका लागि मात्र खुसीको विषय नभएको बताए ।

उनले यो विधेयकलाई संसदको यही अधिवेशनमा पेश गरेर पारित गरिने समेत बताए।

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउँदा विश्वका लागि अनुकरणीय हुने बताए।

प्रधानमन्त्री ओलीले टिआरसी विधेयकमा कार्यदलमा सहमति बनेपछि पूर्णता दिनको लागि अब कानूनी रुपमा कुनै दुविधा नभएको बताए। उनले यही अधिवेशनबाटै टिआरसी विधेयक पारित गर्ने बताए।

प्रतिनिधिसभामा दर्ता भई कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधिन रहेका ती विधेयकका मुख्य विषयमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो।

कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका छन्।

मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरुको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धिविधा नभएकाले संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे।

‘हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताका रुपमा रहेका यी कार्यहरुलाई सम्पन्न गर्न कानुनलाई संशोधन गर्नुपर्ने अवस्थामा पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ । पीडादायी विगतबाट हामी गुज्रियौँ । देशमा हिंसात्मक द्वन्द्व भयो । देशलाई ठुलो क्षति भयो । सकारात्मक परिवर्तन पनि भयो तर शान्ति प्रक्रियालाई हामीले टुङ्गोमा लानुपर्ने थियो । हिंसाका सबै अभ्यासहरुलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरु रहन आवश्यक छैन ।’, प्रधानमन्त्री ओलीले भने।

उनले भने ‘सर्वाेच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीडितमैत्री विषयलाई ध्यानमा राखेर सहमति भएको छ। शान्ति प्रक्रियामा यो कोशेढुङ्गा सावित भएको छ। फेरि भविष्यमा यस्तो द्वन्द्व नहोस् भन्नका लागि यी विधेयक ल्याइएका हुन्। विधेयक पारितसँगै परामर्श र सहमतिमा आयोग गठनलगायतका काममा तत्काल लाग्नेछौं।’

माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ सरकार गठनपछिको राम्रो कामका रुपमा कार्यदलको प्रतिवेदनलाई लिँदै विगतदेखि नै सहमितको प्रयास गरिएको स्मरण गरे । उनले प्रतिवेदनलाई संसदको वैधानिक प्रक्रियाबाट टुङ्गो लगाइ नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश जाओस् भन्ने आग्रह गरे ।

कांग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए । उनले सहमति कार्यान्वयनमा सहमति मिलोस् भन्ने कामना गरे ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २३, १६: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण २३, १६: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २३, १६: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...