बाजुरामा भाइरल ज्वरोका बिरामी बढे – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

बाजुरामा भाइरल ज्वरोका बिरामी बढे

नयाँ विकल्प

बाजुरा- जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए। गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र अझै सङ्क्रमणदर नघटेको जनाइएको छ।

उनले भने, “बालबालिकामा देखिएको सङ्क्रमण दर बढ्दो , अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको छ।” अनमी विष्णुकुमारी रावलले जिल्ला अस्पतालमा उपचार हुन नसकेका चार बालबालिकालाई रिफर गरिएको जानकारी दिइन्।

मौसमी सङ्क्रमणजस्तो देखिए पनि ज्वरो र निमोनियाको सङ्क्रमणका बिरामी वृद्धि हुँदै गएको छ। अस्पतालमा दैनिक १५ देखि २० बिरामी उपचारमा आउने सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।

उनका अनुसार अस्पतालमा १० भन्दा बढी बिरामी भर्ना भइ उपचाररत छन्। खप्तड छेडेदह गाउँपालिका पनि भाइरल ज्वरोका बिरामी बढेको आटीचौर स्वास्थ्यचौकीका इन्चार्ज रमेशबहादुर ओलीले जानकारी दिए। यसैगरी पूर्वी उत्तरी भेगको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीको सङ्ख्या बढेका छन्।

एक सय देखि १०५ डिग्रीसम्म ज्वरो आएका र निमोनिया, खोकी र पखालाका कारण थला परेका बिरामी दिनप्रतिदिन धान्नै नसकिने गरी आउने गरेको जिल्ला अस्पतालका स्टाफ नर्स निशा रोकायाले बताएकी छिन्। उनीहरुलाई अक्सिजनका सहयोगमा उपचार गर्ने गरेको उनले जानकारी दिइन्।

ज्वरोका बिरामी सरकारी स्वास्थ्य संस्थामा मात्र नभई निजी मेडिकलमा पनि उल्लेख्यनीय मात्रामा उपचारमा आउने गरेका छन्। मार्तडी सञ्चालन भइरहेका निजी क्षेत्रको खप्तड फार्मेसीका अमरराज जोशीले मेडिकलमा दैनिक ४० देखि ५० जना उपचार गर्ने गरेको बताए। विद्यालय जाने बालबालिकाबाटै सङ्क्रमण फैलिएको उनको भनाइ छ।

सङ्क्रमण दुई महिनादेखि पाँच वर्षमुनि उमेर समूहका बालबालिकामा बढी देखिए पनि १० वर्षसम्मका बालबालिकामा पनि देखिएको छ। जिल्ला अस्पतालले चार वर्षयताकै जटिल सङ्क्रमण देखिएको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा जानकारी गराइसकेको छ।

एकै महिना धेरै सङ्ख्यामा बालबालिका बिरामी भएर उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना हुनु निकै जोखिम र खतराको अवस्था देखिएको अस्पतालका प्रमुख डा जोशीको तर्क छ।

जिल्लामा गत साउन दोस्रो सातादेखि सङ्क्रमण फैलिएको हो। कोरोना जाँचमा नेगेटिभ देखिए पनि लक्षण सबै कोरोनासँगै मिल्ने गरेकाले थप जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ। अस्पतालले समयमै बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याउन र उपचारमा ध्यान दिन सार्वजनिक अपिलसमेत गरेको छ।

सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने, खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।

सङ्क्रमणलाई नै मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयले यही भदौ १ गतेबाट निषेधाज्ञालाई थप कडाइ गरेको छ। बजार क्षेत्रमा मास्कबिना हिँड्डुल गर्न र बिना काममा भीडभाड गर्ने कार्य रोक्न प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ।

सम्बन्धित समाचार

आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
  • २०७८ भाद्र २, ०९: ०२

काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
  • २०७८ भाद्र २, ०९: ०२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...

११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०७८ भाद्र २, ०९: ०२

काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...