काँग्रेसले हिमाल, पहाड र तराई–मधेश राष्ट्रिय जागरण अभियान सफलता पूर्वक पुरा गर्छ – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

काँग्रेसले हिमाल, पहाड र तराई–मधेश राष्ट्रिय जागरण अभियान सफलता पूर्वक पुरा गर्छ

विश्व प्रकाश शर्मा
प्रवक्ता– नेपाली काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सशक्त प्रतिपक्षीको भुमिका निभाउन सकिरहेको छैन, काँग्रेससँग एजेण्डा छैन । बहुमत प्राप्त सरकारले गरेका हरेक निर्णयहरुका कमीकमजोरीहरु राम्ररी केलाउन सकिरहेको छैन ।

यतिबेला काँग्रेस एजेण्डा विहिन भयो भनेर टिकाटिप्पणी भइरहेको बेला यही बैशाख ११ गतेबाट काँग्रेसले देशव्यापी जागरण अभियानमा लाग्ने बताएको छ ।

काँग्रेसले जागरण अभियानमा सरकारका कमीकमजोरी, पार्टीभित्रको आन्तरिक व्यवस्थापन, नयाँ विधान कार्यान्वयन, कार्यकर्ता कार्यकर्ता बीचमा एकता लगायतका विषय लिएर नेताहरु जिल्ला दौडाहमा लाग्ने बताइएको छ ।

यिनै समसामयिक विषयमा नेपाली काँग्रेसका युवा नेता एवं प्रखर वक्ता विश्वप्रकाश शर्मासँग नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अशंः

यतिबेला नेपाली काँग्रेस राष्ट्रिय जागरणको अभियानमा लागेको छ, यो जागरणको उद्देश्य के हो ?

नेपाली काँग्रेस पार्टीको राष्ट्रिय जागरण अभियानको उद्देश्यको रुपमा हामीले १६ वटा कार्यक्रमहरु सार्वजनिक गरेका छौं । नेपाली काँग्रेस पार्टीलाई बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिमा क्रमशः रुपान्तरीत, व्यवस्थित, आधुनिक र सुदृढ बनाउँदै लिएर जानका लागि जागरण अभियानले काम गर्छ एकातर्फ भने अर्कोतर्फ राष्ट्रिय राजनीतिका कयौं मुद्दाहरु र समसामयिक विषयका बारेमा सरकारका कमी कमजोरीहरु, स्वदेश र विदेशमा बसेका आम नेपाली नागरिकहरुलाई सुसूचित गर्ने र आम नेपाली जनताको भावनालाई गाँस्ने काम पनि यो जागरण अभियानले गर्दछ ।

तपाइरुले काँग्रेस भित्रको एकता आजको आवश्यकता भन्दै गर्दा पार्टीभित्र कहिल्यै पनि एकता हुन नसक्नुको मुख्य कारण के हो ?
नेपाली काँग्रेस पार्टीले विगतमा आफुभित्र अनेकौ विषयमा विमती हुँदै गर्दा पनि राष्ट्रिय राजनीतिको सन्दर्भमा आफुलाई खरो ढंगले प्रस्तुत गर्न सकेको थियो । पार्टीभित्र अनेकौ विषयमा अनेकौ विमतिहरु पनि छन्, थिए र रहन्छन् । हामी अहिलेको सन्दर्भमा के अभियानमा प्रवेश गर्दैछौ भने एउटै साझा दृष्टिकोणका साथ, एउटै स्वर, भावनाका साथ प्रस्तुत हुन खोजिरहेका छौं ।

त्यसोभए राष्ट्रिय जागरण अभियानले काँग्रेस पार्टीभित्रको मनमुटाव, गुट–उपगुट र विवादहरु अन्त्य होलान् त ?
संसारमा राम्रा कुराहरु हुने प्रयत्न हुन्छ, ति राम्रा कुराहरु हुँदै गर्दाखेरी दुइ खालका मनोविज्ञान आउँछन् । एउटा मनोविज्ञान हुुन्छ अब राम्रो कुरा भइरहेको छ । राम्रो कुरा हुन्छ । राम्रो ढंगले जाउँ भन्ने खालको सकारात्मक सोंचहरु सकारात्मक साथहरु, चिन्तनहरु आउँछन् । अर्को मनोविज्ञान कस्तो हुन्छ भने हरेक राम्रो सन्दर्भ आउँदै गर्दाखेरी होला र ? हुन्छ र ? हुन्छ के ? कसरी होला ? किन होला ? भन्ने खालको सोंचहरु पनि आउँछन् ।

एउटा मनोविज्ञान पनि के छ भने संकटलाई अवसरका रुपमा लिने वा अवसरलाई संकटको रुपमा लिने भन्ने हुन्छ । संकटहरु आइरहन्छन्, समस्याहरु आइरहन्छन् । समस्याहरुलाई अवसरको रुपमा अगाडि जान सक्यो भने राजनीतिक दलले, व्यक्तिले र राष्ट्रले प्रगती गर्छ । तर अवसरलाई नै संकटको रुपमा लियो भने सबै बेलामा नकारात्मक प्रश्नहरु उठ्न सक्छन् । त्यसकारण नेपाली काँग्रेस पार्टी अफ्ठ्यारोको बीचबाट अगाडि बढ्नेछ । यो बेलामा एकताबद्ध ढंगले काँग्रेस अगाडि जानुपर्छ, जान्छ, जानेछ ।

नेपाली काँग्रेस पार्टी एकताबद्ध भएर जान्छ भनेर तपाइले भनिरहँदा यसको आधारहरु चाँही के–के हुन सक्लान ?
तपाइलाई नेपाली काँग्रेस पार्टीको राष्ट्रिय जागरण अभियानको बारेमा यसको उद्देश्य के छ ? यसको कार्यक्रम के छ ? यसको समयावधी के हो ? कसरी जान्छन् ? कस्ता कार्यक्रम हुन्छन् भन्ने कुरामा बढी चासो हुनुपर्नेमा काँग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेलले कुन बेलामा के कुरामा विवाद गर्नुभयो भनेर भागवण्डानै खोज्नुहुन्छ ।

तपाइलाई मैले भन्दैगर्दा र मैले पहिला पनि भन्दै गरेको छु की पार्टीभित्र आन्तरिक विवाद हुँदैनन् भन्ने होइन । विवादहरु हुन्छन् । विवादहरुको निरुपण हुन्छ । विवादले एउटा बाटो लिन्छ । मन र मष्तिस्कमा दुइवटा धारणाहरु आउँछन् कहिले मनले एउटा भन्छ भने कहिले मष्तिस्कले अर्कै भन्छ । तर फेरी पनि एउटै धारणा बनिसकेपछि फेरी त्यो धारणा एउटै रहन्छ की रहँदैन भनेर मैले उदाहरण दिएर पनि भनिसके । कोही मान्छे बिरामी हुन्छ । बिरामी भइसकेपछि अस्पताल जान्छ । अस्पताल गइसकेपछि ठिक भएर उ फर्किन्छ, अस्पतालबाट फर्किसकेपछि फेरी उ एउटा सामान्य जीवनमा लाग्छ ।

त्यो बेलामा बाटोमा हिँड्दै गरेको मान्छेले तपाइको अर्को जिवनको बारेमा सल्लाह नगरेर अनि अस्तिनै त अस्पतालमा हुनुहुन्थ्यो साँच्चै त्यो खाइरहेको औषधी सकियो कि नही ? फेरी पनि बिरामी बन्नुहुन्छ कि बन्नुहुन्न ? डाक्टरले भविष्यमा तपाइ बिरामी बन्नुहुन्न भनेर लेखेर दिएको छ कि छैन ? भन्ने कुरामा अल्मलिनुको अर्थ हुँदैन । त्यसकारण नेपाली काँग्रेस पार्टीभित्र राष्ट्रिय जागरण अभियान के हो ? किन हो र के का लागि हो भन्ने कुरा जरुरी हुन्छ ।

तर वर्तमान अवस्थामा काँग्रेस पार्टीभित्र समयको मागअनुसार निर्णय गर्ने क्षमता नभएको, नेता–नेताबीचमै गुट–उपगुटको पसल थापे भन्छन् नि ?
तपाइको यस पत्रिका मार्फत् एउटा कुरा जानकारी गराउन चाहन्छु । किनकी नेपाली काँग्रेस पार्टीका साथीहरु के जान्नुहुन्छ भने यो देशमा इतिहासको कुरा छोडेर विगतका एक सवा दशकको मात्र कुरा गर्ने हो भने नेपाली काँग्रेस पार्टीभित्र त्यो बेलामा पनि विवाद र समस्या हुँदै आएको थियो । त्यो बेलामा माओवादीलाई शान्ति प्रकृयामा ल्याएर मुलुकलाई हिंसाबाट मुक्ति दिलाएको थियो । त्यो बेलामा पनि हाम्रोबीचमा विमती थियो, विवादहरु थियो, समस्याहरु थियो ।

माओवादी शान्ति प्रकृयामा आउँछ कि आउँदैन भन्ने कुरामा द्वन्द्व थियो । राजालाई राख्नुपर्छ कि हटाउनुपर्छ भन्ने कुरामा विवाद थियो । दरबारमा राजा श्रीपेज लगाएर बसिरहेकै थिए । माओवादीका लडाकुहरु क्यान्टोमेन बसिरहेकै थिए । शाही सेना सेनाकै रुपमा ब्यारेकमा बसिरहेकै थिए । त्यो बेलामा पनि विमती र विवादको बीचमा मुलुकमा शान्ति स्थापना गर्ने गणतन्त्र कार्यान्वयन गराउने नेतृत्व कसले ग¥योे ? नेपाली काँग्रेसले ग¥यो ।

काँग्रेसका देशभरीका साथीहरु यो पनि जान्नुहुन्छ कि शान्ति स्थापना भएर मात्रै देशले बाटो पहिल्याउँछ । देशलाई संविधान चाहिएको थियो । देशमा संविधान बनाउनको लागि लगातार प्रधानमन्त्री प्रचण्डजी बन्नुभयो, प्रचण्डजीपछि माधव कुमार नेपाल बन्नुभयो, उहाँ पछाडी झलनाथ खनाल बन्नुभयो, झलनाथ खनालपछि बाबुराम भट्टराई बन्नुभयो तर चारचार जना हक्की स्वभाव भएका देखिएका युवा भनिएकाहरु प्रधानमन्त्री बनाउँदै गर्दा पनि मुलुकले बाटो पहिल्याउन सकेन ।

तर फेरी काँग्रेसभित्र विवाद विमती छँदै थियो । संविधान यस्तो कि त्यस्तो, यो गुट कि त्यो गुट, यो विचार कि त्यो विचार, यो नेता निकट कि, त्यो नेता निकट जस्ता सानातिना कुराहरुमा विवाद त्यसबेला पनि थिए ।

तर सुशील कोइरालाको नेतृत्वमा नेपाली काँग्रेस पार्टीले संविधान लेख्न सक्यो भन्ने कुरा देशभरीका जनतालाई थाहा भएको कुरा हो । सुशील कोइरालाको नेतृत्वमा संविधान त बन्यो तर संविधान जारी भइसकेपछि कही मैनबत्ती बालेर स्वागत गरियो भने कहिकतै टायर बालेर विरोध पनि भयो । त्यसको बावजुत त्यो बेलामा पनि स्थानीय प्रदेश र केन्द्रको निर्वाचन गर्नलाई मधेशमा पनि विश्वास थिएन ।

मधेश केन्द्रीत दलहरुलाई विश्वासमा लिएर आएर आज वडा वडालाई वडा अध्यक्ष दिने, प्रदेश प्रदेशलाई प्रदेश सांसद दिने, प्रदेश सरकार दिने र केन्द्रीय सरकार दिने कर्म गर्ने गराउने काम त आफ्नो विमती, विवाद र असन्तुष्टिका बावजुत पनि शेर बहादुर देउवाको नेतृत्वको पालामा सरकारले ग¥यो । त्यसकारण अहिले पनि के हो भने नेपाली काँग्रेस पार्टीभित्र एउटा व्यक्तिभित्र जीवन पद्धतिभित्र फरक–फरक विचारहरु हुन्छन् नि ।

तत्कालीन अवस्थामा आम निर्वाचन गराउने जिम्मा काँग्रेसकै थियो होइन र ? तर काँग्रेसले आफुले पाएको जनमत पनि गुमायो नि कसरी ?
तपाइले निकै राम्रो प्रश्न गर्नुभयो । जसले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्छ, उसले हरेक सुखद् परिणाममा म व्यक्तिले के पाए भन्छ ? जसले दलगत मात्रै स्वार्थ राख्छ हरेक राजनीतिक परिवर्तनमा मेरो दलले के पायो भन्छ ? जसले गुटगत मात्रै स्वार्थ राख्छ उसले हरेक निर्वाचनको परिणामबाट मैले के पाए भनेर मात्र सोच्छ ? नेपाली काँग्रेस पार्टीले गुटको, दलको वा व्यक्तिको होइन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेको छ ।

२००७ को परिवर्तन नेपाली काँग्रेसले पनि स्वाधीनता प्राप्त गर्नका लागि ग¥यो । गणेशमान सिंहजीको नेतृत्वमा २०४६ को परिवर्तन सम्भव भयो । देशले प्रजातन्त्र प्राप्त ग¥योे । काँग्रेसमा लागेर मैले के पाए भन्ने नागरिकले पनि प्रजातन्त्र प्राप्त गरे । गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति स्थापना भयो । देशले शान्ति पायो, नेपाली काँग्रेस पार्टीले पनि शान्ति पायो । सुशील कोइरालाको नेतृत्वमा संविधान बन्यो ।

देशले पनि संविधान पायो र नेपाली काँग्रेस पार्टीले पनि संविधान पायो । काँग्रेस पार्टीले कहिले हारेको छ, कहिले जितेको छ । यो एकदमै ठुलो चिन्ता गर्नुपर्ने विषय होइन । आतिनुपर्ने विषय होइन । तर नेपाली काँग्रेस हार्दै गर्दाखेरी पनि स्थानीय प्रदेश र केन्द्रको निर्वाचन गराएर देशलाई जित्ने बनाएको छ । गोली चलेको मधेशमा उनीहरुलाई विश्वासमा लिएर मुलुकलाई मधेश सँगसँगै देशलाई बाटो दिएको छ । त्यसकारण हामी हारेका छौं ।

त्यसलाई कसरी रुपान्तरीत गर्ने ? कसरी व्यवस्थित गर्ने ? आगामी दिनमा काँग्रेसलाई कसरी जित्ने बनाउने, हामी जागरण अभियान मार्फत यसमा पनि जान्छौं । सरकारका कमीकमजोरीहरुमा पनि प्रहार गर्छौ । तर हामी के मन पराउँदैनौ भने हामीले देशमा कम गरेर काँग्रेसले के पायो पाएन भन्दा पनि हामीले देशलाई के दिन सकेका छौं भन्ने कुरामा हाम्रो चिन्ता हुन जरुरी छ ।

सुशील कोइरालाको नेतृत्वमा आएको संविधान पनि सर्वस्वीकार्य छैन भनेर संविधानकै बारेमा चर्चा र बहस चलिरहेको छ, तपाइ के लाग्छ ?
संविधान दियौ के दियौ भन्दै गर्दा तपाइको घरमा सानी छोरी छन् । छोरी जन्मिसकेपछि छोरीलाई कोहीबेला हाँछिउ आउँला । छोरीलाई सञ्चो नहोला । त्यो बेलामा छोरी के भयो भनेर प्रश्न गर्न थाल्नुभयो भने त्यसको अर्थ हुन्न । छोरी जन्मिएकी छन् स्वभाविक छ । छोरी जन्मिदै गर्दा हृदयको कुना कुनामा तपाइलाई खुसी प्राप्त भएको छ । तर छोरी जन्मिदैमा हुर्किहाल्छन्, बढिहाल्छन् भन्ने होइन । समस्या आउँछ हरेक व्यक्तिगत जिवनमा ।

हो संविधान भन्ने कुरा पनि त्यस्तै हो । संविधान निर्माण भएको छ । संविधान तपाइ हाम्रो नेपाल आमाको काखमा छ । यसलाई भरणपोषण गर्ने, संविधानलाई अरु धेरैको भावनामा गाँस्नेतर्फ लिएर जाने, नेपाली काँग्रेस पार्टीले गदै जाने कुरा हो । तराई मधेश जागरण अभियानको क्रममा पनि भनेको छ कि तराई मधेश लगायत नेपालका कतिपय भु–भागमा देखिएका असन्तुष्टिहरु के छन् ? यसलाई हामीले संविधान संशोधनको प्रक्रियाबाट समाधान गरौं भनेर अघिल्लो सरकारको पालामा जे भनेका थियौं त्यो नै समाधानको मुल बाटो हो ।

अहिले सरकारले डा. सीके राउतसँग एउटा सम्झौता ग¥यो । समाधान संविधानको परिधिभित्रबाट यसरी गर्ने भनेर । संविधान संशोधनको प्रक्रियाबाट यसरी गर्ने भनेर सरकारले सम्झौता गरेको ११ वटा बुँदामा कहीपनि लेखेन तर हामीहरुले के भनिरहेका छौं भने हामीसँग त्यो संविधानलाई संविधान प्रतिको असन्तुष्टि समाधान गर्ने विधि छ, त्यो विधि काँग्रेससँग मात्र छ भन्ने होइन ।

यो संविधानसँग त्यो सामथ्र्य छ, हामी सबै मिलेर लेखेको संविधान हो, त्यही प्रक्रियाबाट जान सकिन्छ भन्ने हो । त्यसकारण विगतमा हामीले जे गरेका छौ, ग¥यौ त्यो सबै काम सक्यौ, त्यो पनि होइन । हामीले विगतमा जे–ग¥यौ त्यो गर्दै गरेनौ त्यो पनि होइन ।

अन्त्यमा, नेपाली काँग्रेसले यही आउँदो बैशाख ११ गतेबाट सुरु गर्ने भनेको राष्ट्रिय जागरण अभियानको आवश्यकता र औचित्यबारे बताइदिनुस् न ?
पहिलो कुरा नेपाली काँग्रेस पार्टीले आफ्नो अभियानको नाम हिमाल, पहाड र तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान भनेर राखेको छ । संक्षिप्तमा यसलाई हिपतम अभियान भन्न सकिन्छ भनेर पनि भनेको छ । जागरण अभियानको क्रममा हामीले महासमितिबाट पारित भएको नीति कार्यक्रमहरुको बारेमा, विधानको बारेमा जानकारी गराउने पहिलो कुरा हो ।

त्यस्तै देशव्यापी रुपमा पार्टी सुदृढीकरणको जागरण बढाउने, नेपाली काँग्रेस पार्टीको नेतृत्वमा विगतमा देशले हासिल गरेको जे–जति पनि उपलब्धीहरु छन, समृद्धिका दिशामा गरिएका कार्यहरु छन्, त्यसलाई नागरिक पङ्तिमा बुझाउने, हामीले वर्तमान सरकारले जे–जस्ता प्रकारका विसंगति पूर्ण क्रियाकलापहरु गरेको छ, ढाकछोप गर्न खोजेको वाइडवडी लगायतका प्रकरणहरु छन, भ्रष्टाचारका जति विवरणहरु छन् त्यसलाई सार्वजनिक गर्ने, पाचौंमा नेपाली समाजमा अनेक प्रकारका फरक मतहरु छन् उहाँहरुसँग बहस र छलफल गर्ने, त्यस्तै छैटौमा नागरिहरु के सुनाउन चाहनुहुन्छ काँग्रेसलाई जनसंवाद मार्फत नागरिकको आवाज सुन्न जाने लगायतका कार्यक्रमहरु रहन्छन् ।

सम्बन्धित समाचार

Rolling Slots Review: Quick‑Hit Slots und Blitzschnelles Gameplay
  • २०७६ बैशाख ९, ०९: २०

In der ständig wandelnden Welt der Online-Casino-Unterhaltung bietet Rolling Slots einen frischen Ansatz für Spieler, die Adrenalin-geladene Momente statt langer...

AllySpin Casino: Lightning‑Fast Gaming for the Modern Player
  • २०७६ बैशाख ९, ०९: २०

Kun olet kiireisen aikataulun keskellä ja kaipaat välitöntä jännitystä, AllySpin Casino tarjoaa leikkikentän, joka on rakennettu nopeaa toimintaa varten. Alustan...

JeetCity Casino: Quick Wins, Fast Payouts, and Spin‑Frenzy Slots
  • २०७६ बैशाख ९, ०९: २०

1. A Rapid‑Fire Welcome When you land on the JeetCity Casino landing page, the first thing that grabs your attention...