पार्टी कमजोर भयो भने कमजोर पार्टीको प्रभावशाली व्यक्तिको के अर्थ ? – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

पार्टी कमजोर भयो भने कमजोर पार्टीको प्रभावशाली व्यक्तिको के अर्थ ?

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस यतिबेला राष्ट्रिय जागरण अभियान सफल भएको भन्दै भावी रणनीतिमा लागि परेको छ । सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै गएका कारण पनि काँग्रेस उत्साही बन्दै गएको छ ।

प्रमुख प्रतिपक्षी दलको भूमिकामा बसेका काँग्रेसले सरकारका विरुद्ध आन्दोलन घोषणा नगर्दै जनताबाटै स्वतस्फुर्त आन्दोलन सुरु भएबाट काँग्रेस बढी उत्साही भएको देखिन्छ । राष्ट्रिय जागरणपछि यही २२ गतेबाट विभिन्न एजेण्डा सहित केन्द्रीय समितिको बैठक चालु छ ।

जागरण अभियानमा अधिकांश कार्यकर्ताले पार्टीभित्र गुट–उपगुट नखोल्न आग्रह गरेपछि केही नेताहरु मत्थर पनि देखिन्छन् । जागरण अभियानमा अधिकांश केन्द्रीय सदस्यहरु जिल्ला दौडाहामा गएका थिए । जुनसुकै जिल्लामा गएका नेताहरुलाई कार्यकर्ताहरुले एकै स्वरमा पार्टीभित्र आन्तरिक द्धन्द्ध नबढाउन सुझाव दिएका थिए ।

जागरण अभियान छोटो र परम्परागत नभै विषयगत रुपमा मात्रै छलफल भएको केन्द्रीय समितिको बुझाई छ । यिनै समसामयिक विषयमा केन्द्रीत रहेर नेपाली काँग्रेसका नेता डा.प्रकाश शरण महत्तसँग नयाँ विकल्प साप्ताहिकको लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंशः

डा.प्रकाश शरण महत्त–सहमहामन्त्री, नेपाली काँग्रेस

पछिल्लो समय नेपाली काँग्रेस पार्टीको अवस्था कस्तो छ ?
नेपाली काँग्रेस पार्टी ठिक छ । ठिक भइरहेको छ  ।

वर्तमान नेतृत्वले गर्दा यतिबेला नेपाली काँगस सबैभन्दा कमजोर शक्तिको रुपमा परिणत भयो भनेर तपाइकै पार्टीको नेता कृष्णप्रसाद सिटौलाले भनिरहनु भएको छ नि यहाँ के भन्नुहुन्छ ?
यो कुरा एकदमै होइन । हामीले देखेकै छौं, उहाँनै धेरै सर्वेसर्वा हुनुहुन्थ्यो । विगत ०६४ सालमा हाम्रो पार्टीको अवस्था कस्तो थियो ? अहिले हामी जेनतेन ३६ प्रतिशत मत ल्याउन सफल भएका छौं । त्यतिबेला २० प्रतिशत मतमा मात्रै हामी सिमित हुनु परेको अवस्था थियो ।

त्यस बेलामा माओवादी एमाले र नेपाली काँग्रेस पार्टी अलग–अलग लड्दाको बाबजुत त्यस्तो अवस्था आएको थियो । अहिले सम्पुर्ण शक्तिहरु एकैतिर हुँदाखेरी पनि हामीले ३६ प्रतिशत मत ल्याएका छौं । तर दुभाग्र्यवश उनीहरुको जोडिएको मत हाम्रोभन्दा धेरै हुनु स्वभाविकनै थियो । त्यसैले गर्दापनि परिणाममा हाम्रो संख्या न्यून देखिएको छ ।

त्यस अर्थमा हामी कमजोर भएको होइन तर हामीले हाम्रो शक्ति बढाउनुपर्ने आवश्यकता भने छ । समस्या कहानिर छ भने पार्टीमा अब व्यक्तिहरुको वरीपरी केन्द्रीत गरेर आफ्ना समर्थक बढाउने प्रवृत्तिहरु बढ्दै जाँदा समस्या भयो । त्यसैले गर्दा तपाईले पनि त्यही सोधिरहनु भएको छ । फलानो कति भयो ? फलानोसँग कति जोडिए भन्दै हुनुहुन्छ । म के भनिरहेको छु भने पार्टीमा जोड्ने कुरा गरौं न, अहिले संयुक्त शक्ति छ, कम्युनिष्टहरुको, मधेशमा चाँही मधेश केन्द्रीत दलहरुको संयुक्त शक्ति छ । त्यसो हुनाले हाम्रो आफ्नो शक्ति विस्तार गर्नुपर्ने छ ।

शक्ति विस्तार गर्ने भन्ने कुरा मेरो पछाडी मैले कति जना थपे त्यो कुराको कुनै अर्थ छैन । यो पञ्चायतको बेलाको शासनसत्ता जस्तो होइन । त्यसबेला व्यक्तिको बिचमा सिमित निर्वाचन हुन्थ्यो । व्यक्तिले आफ्नो पछाडी जति मान्छे जोड्न सक्थ्यो उसको जित्ने सम्भावना बढी हुन्थ्यो । अहिले चाही पार्टी बलियो भने पार्टीबाट उठाएको उम्मेदवारले जित्ने सम्भावना बढ्ने हो । त्यसो हुनाले मलाई लाग्दछ पार्टीको कुरा गर्न छोडनु भएन ।

केही मान्छेहरुलाई के लागिरहेको छ भने म बलियो हुनुप¥यो । त्यती भएपछि पार्टीमा म चाँही प्रभावशाली हुन्छु भन्ने लागिराखेको हो तर पार्टी कमजोर भयो भने कमजोर पार्टीको प्रभावशाली व्यक्तिको के अर्थ ?

केहीदिन अघिमात्र कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेस पार्टीको नेतृत्व ठिक भएन भन्नुभएको थियो नि यहाँलाई के लाग्छ ?
सबैले आफुतिर फर्केर हेर्दैनन् । अर्काको बारेमा मात्रै कुरा गर्छन् । मुख्य समस्या भनेको त्यो हो । अहिले अलिकति व्यक्तिवादी प्रवृत्तिहरु देखिएका छन् । पार्टीभित्र आफु केन्द्रीत प्रवृत्तिहरु देखा परेका छन् र संगठनलाई दोस्रो दर्जामा राख्ने र आफुलाई चाँही पहिलो दर्जामा राख्नेजस्ता प्रवृत्तिले संगठनलाई पार्टीलाई बलियो बनाउन सक्दैन । यो कुरालाई सबैले आत्मसात् गर्न जरुरी छ । पार्टीलाई केन्द्र बिन्दुमा राखेर का गर्दै जाँदा पार्टी बलियो भयो भने हामी सबै बलियो हुन्छौं भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ ।

अहिले त नेपाली काँग्रेस पार्टी बलियो हुन नसकिरहेको अवस्थामा तपाई पार्टीभन्दा शेरबहादुर देउवा बलियो हुनुपर्छ भन्न खोज्नुभएको हो ?
नेपाली काँग्रेस पार्टी कमजोर भएको छैन । परिणाममा हामी हाम्रो संसदमा संख्या कम भएको हो । त्यसको कारण मैले अघिनै पनि भनिसके त्यसकारण हामीले ३६ प्रतिशत मतबाट कमसेकम ४५–४६ प्रतिशतसम्म पु¥याउनु सक्नुपर्छ । त्यो पु¥याउन सकिन्छ । त्यसको लागि आफू केन्द्रीत प्रवृत्तिहरु छोड्नुपर्छ । पार्टी केन्द्रीत भएर सबै जनाले काम गर्नुपर्छ ।

नेपाली काँग्रेस पार्टीका शिर्ष नेताहरुनै भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् भन्ने पनि सुनिन्छ नि तपाईलाई के लाग्छ ?
कम्युनिष्ट सरकारको प्रायोजित समाचारलाई हाम्रै मान्छेले हो हो भन्दै हिड्ने कुरा त भएन । यो सरासर झुटो हो । सबैलाई थाहा छ । सरकार वाइडबडीदेखि लिएर बालुवाटार जग्गा प्रकरण र विभिन्न काण्डजस्तै फोरजी काण्ड, बुढीगण्डकी काण्ड के मात्रै काण्ड छैन ? तमाम काण्डहरुबाट सरकार यति बद्नाम भइसक्यो र त्यसपछि उनीहरुलाई के लाग्यो भने एउटा प्रायोजित समाचार चाँही सम्प्रेषण गर्नुपर्छ ।

सामािजक सञ्जाल र विभिन्न मिडिया मार्फत र जनतालाई कनफ्युज गराउनुपर्छ भनेर उनीहरुले चाँही त्यो समाचार सम्प्रेषित गरेका हुन् । अब ति कुराहरु पढेर हामीले दृष्टिकोण बनाउने हो भने कुनै अर्थ छैन । हाम्रो पार्टीको महासमितिले पार्टीको केन्द्रीय समितिले पार्टी सभापति स्वयम्ले संसदमा पटक–पटक बोल्नुभएको छ र यि तमाम काण्डहरुका दोषीलाई कारवाही गर्नुपर्दछ । यो सरकार संस्थागत भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।

ललिता निवास जगा प्रकरणदेखि बालुवाटार जग्गा प्रकरण सबै शेरबहादुर देउवा कै पालामा भएको हो भन्ने पनि सुनिन्छ नि यहाँलाई के लाग्छ ?
यो एकदमै गलत कुरा हो । कुनै कुरा भएको छैन । गृहमन्त्री हुँदाखेरी गृहमन्त्रीले जग्गा बाढ्छ ? यो सरासर झुटो कुरा हो । त्यसको सही तरिकाले छानविन हुनुपर्छ । दोषीहरुलाई कारवाही हुनुपर्छ । को–को नेताहरु परेका छन् ? को–को परेका छन् भन्ने पनि सार्वजनिक भइसकेको छ ।

कम्युनिष्ट पार्टीकै ठुला–ठुला मान्छेहरु त्यसलाई विषयान्तर गर्नका लागि एउटा झटारो कम्युनिष्ट सरकारले प्रायोजित रुपमा समाचार निकाल्यो भनेर त्यसैमा कोही दङ्ग पर्छन् भने त्यो चाँही आत्मघाती कुरा हो । कुनै काण्ड वा प्रकरणमा नेपाली काँग्रेस पार्टीभित्रका नेताहरु कसैको पनि हात छैन । यो सबै झुटो र भ्रामक र प्रायोजित समाचार हो । त्यो भनेपछि मैले अरु व्याख्या गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन । जहाँसम्म पार्टीको कुरा छ ।

पार्टीलाई चाँही हामी एउटा बलियो पार्टी बनाउने बाटोमा लागेका छौं । हाम्रो यही २२ गतेबाट केन्द्रीय समितिको बैठक चलिरहेको छ । हामीले सम्पूर्ण संघीय संरचनाहरुलाई चाँही पूर्णता दिने हाम्रो विधानको व्यवस्था अनुसार हामीले भर्खरै विधान पारित गरेका छौं । पारित भएपछि सम्पूर्ण प्रक्रियाहरु चाँही विधान अनुसार अगाडि बढ्छन् ।

बदलिएको संघीय संरचना सात प्रदेशदेखी लिएर यि तमाम संरचनाहरुको चाँही पूर्णता समेत विधानको व्यवस्था अनुसार हामी सम्पन्न गर्छौ । जति पनि तलदेखी माथिसम्म संगठनलाई पुरा गर्नुपर्ने व्यवस्थाहरु चाँही पुरा भएको छैनन् । त्यसको पनि हामी टुङ्गो लगाउँदछौं ।

शेरबहादुर देउवाले संघीय संरचनालाई अगाडि बढाउन चाहनुहुन्न भनेर पौडेल र सिटौलाको समूहले तपाईहरु माथि आक्षेप लगाइरहनु भएको छ नि किन ?
यो एकदमै झुटो कुरा हो । सबैलाई थाहा छ, पहिला नयाँ संघीय संरचना अनुसारको विधान बनाउनुपर्ने व्यवस्था थियो । हामीले महासमितिबाट व्यवस्था ग¥यौ । कुनै पार्टीहरुले त्यो अनुसार वैधानिक व्यवस्था स्थापित गरेका छैनन् । त्यो विधान बनिसकेपछि त्यतिले मात्रै पुग्दैन, त्यसपछि नियमावली पारित हुनुप¥यो । नियमावलिको लागि केन्द्रीय समितिले समिति बनाएर यसले काम गरेर अब अहिले उहाँहरुले प्रस्ताव तयार गर्नुभएको छ ।

मस्यौदा तयार गर्नुभएको छ । केन्द्रीय समितिमा पेश गर्नुहुन्छ । त्यो केन्द्रीय समितिबाट पास गर्नुपर्छ । त्यो पारित नभएसम्म यो नयाँ संरचना अनुसार हामीले संरचनालाई पूर्णता दिन सक्दैनौ भन्ने कुरा सबैलाई थाहा छ । सिटौला र पौडेल दाइ लगायत तमाम नेताहरुलाई थाहा छ यो पटक–पटक छलफल भएको छ ।

त्यो हुँदाहुँदै पनि यदि कसैले शेरबहादुर देउवाले चाँही गर्नै चाहेन यो हुँदै भएन भन्नु उपयुक्त हुँदैन्, त्यसो हुनाले हामी यो संगठनलाई रफ्ततार लिएर जान चाहन्छौं । तिव्र गतिमा लैजान चाहन्छौं । पार्टी सभापतिले सबै नेताहरुको चित्त बुझाउन चाहनुहुन्छ । सबैको सहमतिबाट निर्णय गर्न चाहनुहुन्छ । तर उहाँहरु सहमति दिनुहुन्न । त्यसकारणले मात्रै ढिला भएको हो । सबैलाई हुनेसम्म उदारताकासाथ प्रस्तुत हुने र निर्णय चाँही समयमा गर्नुपर्छ भनेर हामीले पार्टी सभापतिलाई सुझाव दिएकै छौं ।

तैपनि सबैको सहमति सकेसम्म जुटोस् भन्ने उहाँको चाहना छ र त्यसकारणले पनि निर्णय ढिलो भएको छ । नयाँ विधानमा भएको व्यवस्था कार्यान्वयन गर्नको लागि यो सम्पूर्ण प्रक्रिया पुरा हुनुपर्दथ्यो । त्यसमा यहाँभन्दा चाडो गर्नसक्ने अवस्था नै थिएन सबैलाई थाहा छ ।

पार्टी सभापतिले तदर्थ समितिको प्रस्ताव राख्नुभएको भन्ने आरोप हो कि यथार्थ हो ?
कहिले राख्नुभयो ? विना आधारको कुरा गरेर हुदैन ? त्यो कुरा विना आधार मिडियामा ल्याइएको हो । जबसम्म यो विषयमा केन्द्रीय समितिमा छलफल भएर नियमावली पारित हुुँदैन, तबसम्म कुन आधारमा जाने भन्ने कुरा कहाँबाट टुङ्गो लाग्छ ?

उहाँहरुले चाँही के सोच्नुभएको छ भन्ने हामी एकदमै लोकप्रिय कुरा, कार्यकर्ताको पक्षमा, एकदम चुनावको पक्षमा भनेर आफुलाई त्यो ठाउँमा उभ्याएका छौं अब पार्टी सभापति, कार्यसमिति पदाधिकारीहरु चाँही छैनन् भनेर देखाउँदाखेरी फाइदा हुन्छ भन्ने कतिपय नेतालाई लागेको होला । त्यो अल्पकालीन सोंच हो, दीर्घकालीन सोंच होइन । कुनै नेताबाट त्यस्तो आएको छ भने उहाँहरुको अल्पदृष्टि हो ।

त्यसोभए नेपाली काँग्रेसभित्रको किचलोहरुलाई चिर्दै बैठकले केन्द्रीय चालु समितिको बैठकले अन्त्य गर्छ जस्तो लाग्छ यहाँलाई ?
काँग्रेसले भर्खरै राष्ट्रिय जागरण कार्यक्रम अत्यन्त सफल पारेको छ । सबै नेपाली जनताले प्रशंसा गरेको रिर्पोटहरु आएका छन् । अब भदौ महिनामा दोस्रो र पुस महिनामा तेस्रो जनजागरण अभियान हुँदैछ । यो अत्यन्त सफल भएको छ । सम्पूर्ण संरचनाहरुलाई पूर्णता दिएपछि अझ प्रभावकारी ढंगबाट यो अगाडि बढ्छ । भातृ संगठनहरुदेखि जुनचाँही म्याद सकिएका त्यसलाई पनि हामी पुरा गर्दैछौं । पार्टीले एउटा गति लिएको छ ।

यो सरकारको गलत प्रवृत्ति र खिलापमा पनि नेपाली काँग्रेसको संसदीय दलले गति लिएको छ । हामीले बाहिर पनि शसक्त भएका सरकारका विरुद्ध लाग्नुपर्नेछ । गुठी विद्येयक जसरी हाम्रा धर्म, संस्कृति, परम्परा, मान्यतालाई नै समाप्त पार्ने खालको विद्येयक सरकारले ल्याएको थियो । त्यसका विरुद्ध जर्बजस्ती विरोध गरेर सडकमा जनता उत्रिएपछि सरकारले उक्त गुठी विद्येयक फिर्ता लिन बाध्य भएको छ । गति पक्रिन थालेको स्थितिबाट पार्टीका नेताहरु सबै खुशी हुनुभएको छ, ठिक गति लिइराखेको छ ।

पार्टी कार्यकर्ताहरु पनि उत्साहित छन् । केन्द्रीय समितिको मुख्य एजेण्डा भनेको नियमावली पास गर्ने हो । पदाअवधि समाप्त भएको भातृ संगठनहरुलाई पूर्णता दिने खालकोे रोडम्याप तयार गर्ने । त्यसैगरी संघीय संरचनाअनुसार परिवर्तित संरचना छ, जुन तलदेखि माथिसम्म त्यसलाई पूर्णता दिने ।

फोरम समावेश पाएको छ, त्यसलाई पनि पूर्णता दिनको लागि काम गरिराखेका छौं । त्यसको प्रगति विवरण पेस गर्ने, राष्ट्रिय जागरण कार्यक्रमको प्रतिवेदनमाथि छलफल गर्ने लगायत बाह्रतेह्र ओटा विषयहरु भएका हुँदा ती विषयमाथि छलफल गरेर हामीले सम्पूर्ण संगठनहरुलाई टुंगो लगाउँछौं ।

त्यसपछि पुनः राष्ट्रिय महाधिवेशनको लागि सक्रिय सदस्यताहरु लगायत तमाम प्रक्रियाहरुको रोडम्याप अगाडि बढाएर हामी अगाडि बढछौं । त्यस्तै राष्ट्रिय समसामयिक विषयहरुमा पनि हामी छलफलका लागि तयारी गरिरहेका छौं ।

त्यसोभए नेपाली काँग्रेसको ममहाअधिवेशन फागुन महिनामा हुन सक्ला ?
पार्टी सभापति अनावश्यक रुपमा महाअधिवेशन बढाउने प्रक्रियामा हुनुुहुन्न । तर जति न्यूनतम समय यी तमाम प्रक्रियाहरुलाई पूर्णता दिन चाँही लाग्छ । जस्तो सक्रिय सदस्यता नवीकरण गर्नुप¥यो, समायोजन भएकाहरुलाई समायोजित गर्नुप¥यो यी तमाम गर्न जति न्यूनतम समय लाग्छ, न्यूनतम समयभन्दा बढी लिने पक्षमा सभापति हुनुहुन्न । तर सम्पूर्ण कुराचाही पार्टी विधानमा व्यवस्था भएअनुसार कार्य हुन्छ र विधानभन्दा बाहिर गएर कुनैपनि काम हुँदैन ।

सम्बन्धित समाचार

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७६ असार २३, ०७: ४६

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७६ असार २३, ०७: ४६

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७६ असार २३, ०७: ४६

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...