काँग्रेसले जनताको लागि राखेको प्रस्तावलाई छलेर कम्युनिष्ट सरकार भागेको हो – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

काँग्रेसले जनताको लागि राखेको प्रस्तावलाई छलेर कम्युनिष्ट सरकार भागेको हो

फर्मुल्लाह मन्सुर
नेता, नेपाली काँग्रेस

नेपाली काँग्रेस यतिखेर आफ्नै आन्तरिक द्वन्द्वमा फसिरहेको छ । दुई हप्ता अगाडिदेखि केन्द्रीय समितिको बैठक स्थगित हुँदै, फेरी बस्दै आइरहेको छ । पार्टीभित्रको आन्तरिक संरचनालाई बलियो पार्ने भन्दै आएको नियमावलीमा पक्ष र विपक्षबीच वादविवाद चलिरहेको छ । पुरानो संस्थापन पक्षको नेतृत्व र वर्तमान संस्थापन पक्षको नेतृत्वबीच बचाउ र घम्साघम्सी चलिरहेको छ ।

आफ्नै पार्टीभित्रको नियमावली बनाउन समेत सहमति जुट्न नसक्दा कार्यकर्ता अलमलमा परेका छन् । पुरानो संस्थापन पक्षले “अर्ली महाअधिवेशन” भनेर चिच्याइ रहँदा वर्तमान संस्थापन पक्षले पार्टीको सांगठनिक व्यवस्थापनलाई व्यवस्थित रुपले बनाउन समय लाग्ने बताइरहेको छ । यही बिचमा चालु बैठकमा दर्जनौ विषयहरु केन्द्रीत बनाएर राखिएको बैठकमा नियमावलीमानै नेताहरु रुमलिरहेका छन् ।

वादप्रतिवादबीच रुमलिदा गुट–उपगुटको जन्म भइरहेको छ । प्रचण्ड बहुमतको कम्युनिष्ट सरकारसँग दरो तरिकाले जनताको पक्षमा वकालत गर्न काँग्रेस यतिखेर चुकिरहेको विश्लेषकहरुको बुझाइ रहेको छ । चालु बैठकबाट दर्जनौ विषयवस्तु र काँग्रेसको सांगठनिक संरचना मजबुत बनाउने भन्दै सुरु भएको बैठकका बारेमा काँग्रेसका केन्द्रीय सदस्य एवं नेता फर्मुल्लाह मन्सुरसँग नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको समपदीत अंशः

चालु नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा नियमावलीमा सहमति जुट्छ, के लाग्छ तपाईलाई ?
निश्चित रुपमा यो भन्दा अघिको बैठकहरुमा यही कुराहरुमा छलफल भएको थियो र केही साथीहरुको फरक मतहरु पनि आएका थिए । केन्द्रीय सदस्यहरुले, नियमावली समितिलाई मिलाएर केन्द्रीय समितिमा प्रस्तुत गर्न भनेर निर्णय भएको थियो । नियमावली समितिका साथीहरुले त्यसलाई मिलाएर बैठकमा प्रस्तुत गर्नुहुनेछ । त्यसैले सर्वसम्मत रुपले नियमावली पारित हुन्छ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ ।

तर पुरानो संस्थापन पक्षका नेता रामचन्द्र पौडेलले यो कम्युनिष्ट पार्टी हो र ? लेवी उठाउन भनेर भन्र्द आउनुभएको छ नि ?
होइन, तपाईले यस्तो कुरा कहाँ सुन्नुभयो, मलाई थाहा भएन । केन्द्रीय समितिमा धेरै सदस्यहरुको प्रतिक्रिया के आएको छ भने लेवी शब्द नराखेर शुल्क राखौं र शुल्क अलि बढि भयो त्यसलाई अलि कम गरौं अहिलेसम्म भएको केन्द्रीय समितिको बैठकमा शुल्क चाँहि नलिउ भनेर कसैले भनेको मैले सुनेको छैन । त्यसकारण यसलाई ठुलो विषय बनाउनु बेकार हो ।

वर्तमान सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर धेरै नेताहरुले असफल सभापति भनेर प्रश्न चिन्ह उठाइरहेका छन् नि, तपाई के भन्नुहुन्छ ?
निर्वाचनमा पराजित शक्तिहरु हुन्छन्, त्यसले निर्वाचित व्यक्तिको जुन कुराको पनि विरोध गर्ने एउटा प्रवृत्ति छ हाम्रो समाजमा । शेरबहादुर देउवाको साँढे तिन वर्षको कार्यकालसम्म आइपुग्दा जम्मा तीन वटा विषयमा मात्र असहमति भएको छ, जसअनुसार जतिपनि नेपाली काँग्रेस पार्टीभित्र निर्णय भएका छन् सबै सर्वसम्मत रुपमा भएका छन् । शेरबहादुर देउवाले एकतर्फी पार्टी चलाएको भए धेरै विषयमा असहमतिहरु त हुन्थ्यो र पार्टी यति अगाडि बढ्दैनथ्यो ।

तर अहिले नेपाली काँग्रेस पार्टी विसर्जनको बाटोमा धकेलियो, त्यसैले पाटी कमजोर भयो भन्छन् नि, यहाँलाई के लाग्छ ?
तपाईले एउटा कुरा के बुझ्नु प¥यो भने नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी हो, डेमोक्रेटिक पार्टीलाई आफूले आफ्ना कुराहरु राख्ने अधिकार हुन्छ । नेपाली काँग्रेसको केन्द्रीय समितिमा सबै सदस्यहरुले जुनसुकै समयमा जुनसुकै विषयमा आफ्ना विचारहरु राख्न सक्नुहुन्छ । बैठकको अन्त्यमा सर्वसहमतिले निर्णयको परिपाटी बनाउने शैली नेपाली काँग्रेसमा छ ।

मैले अघिपनि भनिसके जम्मा तिनवटा विषयमा अल्पमत र बहुमत भएको थियो । त्यसैले डेमोक्रेटिक पार्टीभित्र विवाद हुन्छ, विरोध हुन्छ अनि समाधानको बाटो खोजिन्छ र आफ्ना–आफ्ना मत राख्न पाउने अधिकार डेमोक्रेटिक पार्टीमा हुन्छ । यो कम्युनिष्ट पार्टी होइन नि नेताले जे भन्दियो त्यही सबैले मान्नलाई । त्यसकारण तपाई त्यो कुरामा चिन्तित नहुनुस् नियमावली सर्वसहमतिले पारित हुन्छ । नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी हो ।

नेपाली काँग्रेस पार्टीको सबैभन्दा ठुलो पहिचान नै यही हो कि जसले नेपालमा डेमोक्रेटिक स्थितिको स्थापनाको लडाई लड्यो । देशमा लोकतन्त्रको स्थापना हुँदा आफ्नो पार्टीमा लोकतन्त्र विरोधी क्रियाकलाप हुनै सक्दैन र कसैले रुचाउँदा नि रुचाउँदैन । तपाई विसर्जनको कुरा गर्नुहुन्छ भने आजपनि नेपाली काँग्रेस पार्टी जति ठुलो पार्टी यो देशमा अरु छैन । लगभग ७ लाख क्रियाशिल सदस्यहरु छन् र लाखौं लाख कार्यकर्ताहरु नेपाली काँग्रेसमा आबद्ध छन् ।

तर तपाईकै पार्टीका नेताहरुले वर्तमान सभापतिकै कारण नेपाली काँग्रेस पार्टीको यस्तो अवस्था भएको हो भन्छन् नि, तपाई के भन्नुहुन्छ ?
शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएपछि नेपालको संविधान बन्यो । नेपाली काँग्रेसकै नेतृत्वमा नयाँ संविधान बनाउन हामी सफल भयौ । त्यही संविधान बनेपछि हामी प्रधानमन्त्रीको चुनाव पनि हा¥यौं । सभामुखको चुनाव पनि हा¥यौ, राष्ट्रपतिको चुनाव पनि हारेकै हो ।

देशभरीका नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरु निराशा भएको समयमा १३आंै महाधिवेशनमा शेरबहादुर देउवा सभापति भएपछि केपी ओली नेतृत्वको सरकारले केही गरिरहेको थिएन र माओवादीसँग समिकरण गरेर सरकार परिवर्तन गरेर कानुन बनाएर यो संविधानलाई कार्यान्वयन गर्ने काम गरेर नेपाली काँग्रेस पार्टीको कार्यकर्ताहरुमा एउटा उत्साह सृर्जना गराउनुभयो । काँग्रेसको हातबाट देशको राजनीति बाहिर गएकोलाई काँग्रेसको हातमा ल्याउने पहिलो काम शेरबहादुर देउवाले गर्नुभयो । शेरबहादुर देउवाकै नेतृत्वमा तिन तहको निर्वाचन भयो ।

दुनियाँलई विश्वास थिएन । देश र दुनियाँलाई अचम्मित गरेर शेरबहादुर देउवा सभापतिको नेतृत्वमा तिन तहको निर्वाचन भएर नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन भयो । शेरबहादुर देउवाको नेतृत्वमा काँग्रेसको हातबाट गएको राष्ट्रको राजनीतिलाई काँग्रेसको हातमा ल्याउनुभयो र संविधानलाई कार्यान्वयन गराउनुभयो ।

नेपाली काँग्रेसको यो कामहरुले गर्दाखेरी शेरबहादुर देउवाको नेतृत्वको कामसँग देशका सबै कम्युनिष्टहरु क्रसित भएर एक्लाएक्लै नेपाली काँग्रेससँग चुनाव जित्न सकिदैन भनेर एमाले, माओवादी लगायतका अरु साना दलहरु मिलेर चुनाव लडेका थिए । भनेपछि यो काँग्रेसलाई बलियो बनाउने काम तिन वर्षको शेरबहादुर देउवाको नेतृत्वले गरेको छ ।

तर शेरबहादुर देउवाकै नेतृत्वमा संघीयदेखि प्रदेश निर्वाचनमा काँगेस कसरी निर्वाचनबाट हा¥यो त ? अनि तपाई भन्दै हुनुहुन्छ देउवाकैै पालामा दुनियाँ अचम्म पार्ने काम भइरहेको छ भनेर ?
नेपाली काँग्रेस पार्टी जनताको बिचमा छ । यो चुनावमा सिट कम आएपनि एमाले भन्दा ५ लाख बढी मत प्रत्यक्षमा नेपाली काँग्रेसले ल्याएको छ । समानुपातिकमा ४० हजार मात्रै हामी उनीहरुभन्दा कम थियौं भनेपछि नेपाली काँग्रेस कहाँ छ भन्दा जनताको बिचमा छ । चुनावमा त हारजित भइहाल्छ । २०६२÷०६३ ठुलो जनआन्दोलनमा काँग्रेसकै नेतृत्वमा आदरणीय नेता गिरिजाप्रसाद कोइरालाको अगुवाइमा त्यति ठुलो आन्दोलन भएको हो कि होइन ।

अनि उहाँकै नेतृत्वमा संविधानसभाको पहिलो निर्वाचन पनि भयो । त्यो निर्वाचनमा पनि त हामी पछि परेकै थियौ । त्यतिबेला नेपालमा शान्तिको जित भएको थियो । आजको दिनमा नेपाली काँग्रेस पाटीले चुनाव हारेपनि नेपाली काँग्रेस पार्टीको राजनीतिक एजेण्डा भित्र बहुदलीय प्रतिस्पर्धाबाट संसदीय व्यवस्था मान्ने नेपालका सबै राजनीतिक दलहरुहरु सोही बाटोमा आउन बाध्य भएका छन् । त्यसकारण राजनीतिमा चुनाव हारजितको मात्र होइन ।

राजनीतिमा सबैभन्दा ठुलो कुरा हो, विचारको । त्यसकारण काँग्रेसले विचारको लडाई जितेको छ । काँग्रेसको राजनीतिक विचार बहुदलीय संसदीय व्यवस्थाका पछाडि नेपालका राजनीतिक पार्टीहरु पछिपछि लाग्दै आएका छन् ।

त्यसोभए नेपाली काँग्रेसलाई सत्ताभन्दा लोकतान्त्रिक मुल्य मान्यता प्यारो छ भन्ने लागेको छ भने सँधैभरी कम्युनिष्टहरुले शासन गरिरहँदा सरकारको विरोध किन गरिरहनु भएको छ ?
तपाईले अहिले के कुरा बुझ्नुप¥यो भने वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीको सरकार जुन छ, त्यसले देशको हजारौं हजार लोकतन्त्रवादी नेपालीहरुको लोकतन्त्रको मूल्य मान्यतामाथि हस्तक्षेप गरिरहेको छ । अदालतदेखि लिएर, अभिव्यक्तिको स्वतन्त्रतासम्म हरेक क्षेत्रमा लोकतान्त्रिक मूल्य–मान्यतामाथि यो सरकारले कम्युनिष्ट पार्टीको जस्तो एकदलीय तानाशाही प्रहार गरिरहेको छ ।

यसलाई नेपाली जनताहरुले अनुभुति गरिरहेका छन् । देशभरी जुन ग्रासरुट निर्वाचनको समयमा कम्युनिष्टहरुको थियो । त्यो ग्रासरुट अहिले उनीहरुबाट टुटिसकेको छ । अहिले यो कम्युनिष्ट सरकारको काम देखेर जनताहरु क्रसित भएका छन् । नेपाली काँग्रेस पार्टीले देशको संविधान अनुसार विधान बनाएको छ ।

त्यो विधानको नियमावली निर्माणपछि तमाम काँग्रेसभित्रको सात तहको निर्वाचन पश्चात् काँग्रेसको संगठनलाई चुस्त दुरुस्त हुन्छ र निर्वाचनमा नेपाली काँग्रेस पार्टीको विजय प्राप्त हुन्छ । नेपाली काँग्रेस सबैभन्दा ठुलो पार्टीको रुपमा खडा हुन्छ ।

निर्मला पन्तको बलात्कार पछिको हत्या भएको एक वर्ष भइसक्यो आजसम्म अपराधी पत्ता लगाउन सकेको छैन । प्रमुख प्रतिपक्षी भएको नाताले तपाईहरुले आफ्नो भुमिका निभाउन चुक्नुभयो नि ? यहाँलाई के लाग्छ ?
देशमा यत्रो ठुलो प्राकृतिक विपद् आइपरेको छ । मधेश डुबानमा छ । यो अवस्थामा विपद्सँग सामना गर्नका लागि नेपाली काँग्रेस पार्टीले संसद्मा सार्वजनिक महत्वको प्रस्ताव राख्दाखेरी सरकार र कम्युनिष्ट सासंद् संसद्बाट भागे । सरकारले यो विद्को सयममा उद्धार, राहत र पुनः स्थापनाको काम जनताको लागि गर्नुपर्ने कुरामा यो सरकार जिम्मेवार देखिएन । त्यसकारण हिजो मात्रै बाध्य भएर सरकार आएको छ र त्यो प्रस्ताव प्रस्तुत भएको छ ।

नेपाली काँग्रेस पार्टीले के भनेको छ भने यो विपद्मा परेको जनताको उद्धार, राहत र पुनः स्थापनाको काममा हामी सरकारको साथमा छौं । हामीले भनेको भन्यै छौं । तर सरकारको उपस्थिति देखिएन यो विपद्को बेलामा जनताको बिचमा सरकार गएको छैन । सरकार गैर जिम्मेवार भएको छ भनेर सबै नेपाली जनताहरुले महसुस गरिसकेका छन् । निर्मला पन्तकै कुरा गर्दा निर्मला पन्तको न्यायको लागि तपाई, हामी र सम्पूर्ण नेपाली युवा–युवती मिलेर सडक आन्दोलनदेखि संसद्मा यसको धेरै कुरा भयो र अहिले भर्खरै गृहमन्त्रीले दुनियाँको कुनैपनि मन्त्रीले यस्तो गैर जिम्मेवार, यस्तो अभिव्यक्ति दिए, त्यस्तो घटना हिजो पनि घटेको थियो, आजपनि घट्न सक्छ र भोली पनि घट्न सक्छ, भन्ने जस्ता अभिव्यक्ति दिएका छन् ।

दुनियाँको कुनैपनि सरकारको मन्त्रीले कुनैपनि लोकतान्त्रिक सरकारको मन्त्रीले यस किसिमको अभिव्यक्ति दिँदैनन् । जुन गृहमन्त्रीले आफ्ना अभिव्यक्ति दिएका छन् । यो नै कम्युनिष्ट सरकारको चरित्र हो । यसरी नै भोलीका दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो हिजो पनि गएको थियो, आजपनि जान सक्छ र भोली पनि आउन सक्छ भन्न बेर लाउँदैनन् । किनकी कम्युनिष्ट पार्टीको चरित्र यस्तै हुन्छ ।

बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपले नेपालको विभिन्न ठाउँमा ठुलो जनधनको क्षति पु¥याएको छ, के पीडितहरुले अब राहतको आशा नगर्दा हुने भयो हैन त ?
त्यही त अहिले देशव्यापी रुपमा मधेशमा बाढीको डुबानले त्यहाँका जनताहरु विपद्मा परेका छन् भने पहाडमा पनि पहिरोको कारणले ठुलो जनधनको क्षति तथा थुप्रै घर परिवार विस्थापित भएका छन् । अहिले दुःखद् राष्ट्रिय विपद् आइपरेको छ ।

यस्तो समयमा सरकारलाई केही पनि वास्ता छैन । सरकारको कतव्र्य होकी यस्तो समयमा विपक्षीलाई र सम्पूर्ण राष्ट्रलाई एक गरेर यो विपत्तिमा परेको जनताको उद्धारमा लाग्नु पर्नेमा, सरकार जिम्मेवार हुनुपर्नेमा दुइतिहाईको दम्भ र घमण्डको कारणले गैरजिम्मेवार तरिकाले अगाडि बढिरहेको छ । प्रमुख प्रतिपक्षीको हैसियतले सरकारलाई हामीले घचघच्याइ रहेका छौ कि जिम्मेवार बन भनेर ।

ससंद बन्द तपाईहरुकै कारणले भएको हो भनेर कम्युनिष्ट सरकारका नेताहरुले भनिरहेका छन् नि तपाई के भन्नुहुन्छ ?
हामीले गरेको होइन । हामीले त सार्वजनिक विषयलाई प्रस्तुत गरेका मात्र हौ । त्यो गर्दाखेरी सरकार त्यस विषयमा छलफल नै नगरी सरकारले सभामुखलाई प्रयोग गरेर सुचना निकालेर संसद्लाई स्थगित गराएको हो । काँग्रेसले जनताको लागि राखेको प्रस्तावलाई छलेर कम्युनिष्ट सरकार भागेको हो ।

सम्बन्धित समाचार

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७६ श्रावण १३, १०: ४९

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७६ श्रावण १३, १०: ४९

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७६ श्रावण १३, १०: ४९

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...