पत्रकारिताको अहिलेको अवस्था सम्झेर कहाली लाग्छ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पत्रकारिताको अहिलेको अवस्था सम्झेर कहाली लाग्छ

नेपाली पत्रकारिता जगतमा राजेन्द्र बानियाँ सम्मानजनक नाम हो । दुई दशकभन्दा अघिदेखि औपचारिक–व्यवसायिक ढंगले यसै क्षेत्रप्रति समर्पित उहाँ हाल हिमालय टेलिभिजनको समाचार प्रमुख हुनुहुन्छ । प्रस्तुत छ– विशेषतः टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा पृथक पहिचान बनाउनुभएका बानियाँसँग उत्तम कार्कीको भलाकुसारीः

आफ्नो परिचय कसरी दिनुहुन्छ ?

हेर्नुस् मान्छेको परिचय र पहिचान भनेको पनि परिवर्तनशील हुँदोरहेछ । तपाई आफूलाई कसरी परिचय गराउनुहुन्छ या समाजले तपाईंलाई कसरी परिचय दिन्छ भन्ने बिषय पनि महत्त्वपूर्ण रहेछ । म गोरखाको तात्कालिन मिरकोट गाउँ विकास समितिको वडा नम्बर ५ राम्चे मोहोरियामा जन्मेर बाल्यकाल बिताइरहँदा म मेरो बुबा–आमाको कान्छो छोरा थिएँ । राजेन्द्र बानियाँ भन्ने मेरो न नाम थियो न त पहिचान । केवल घरको प्यारो कान्छो छोरो थिएँ । विद्यालय गएपछि खासगरी माध्यमिक कक्षा पढ्दाको कुरा गर्ने हो भने म शिक्षकहरूको मेधावी छात्र, साथीहरूको मिल्ने मित्र अनि समाजमा राम्रो भाषणवाज । जीवन यात्राको गतिशील रफ्तारमा बिहेपछि दुई छोरी स्नेहा र स्मृतिको स्नेही पिता अनि पत्निको जीवन साथी मेरो परिचय बन्यो । पेशागत हिसाबले हेर्दा विद्यालयको कक्षा कोठाबाट अध्यापन गराउँदै कलेजसम्म पढाउने एउटा शिक्षक र विगत दुई दशकदेखि अनवरत संघर्ष गरिरहेको एक संचारकर्मी । हालको आबद्धताका हिसाबले ‘हिमालय टेलिभिजन’को ‘समाचार प्रमुख’ अनि कार्यक्रम ‘यक्ष प्रश्न’को प्रस्तोता ।

पत्रकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

यसमा बडो रोचक प्रसंग छ । हुन पनि जीवनमा सोचेको बन्न नपाइने, नसोचेको बनिने । खोजेको नभेटिने, भेटेको नमेटिने । अचम्म रहेछ जीवनको यो यात्रा । कक्षा ७ मा पढ्दा पहिलोपटक मञ्चमा उक्लिएर पृथ्वी जयन्तीका अवसरमा वक्तृतामा भाग लिँदा मैले जीवनको यो मुकामको कल्पना गरेको पनि थिइनँ । मेरा अभिभावकहरूको मलाई चिकित्सक बनाउने ठूलो धोको थियो । मेरो दाजु पेशाले इन्जिनियर भएकाले पनि मलाई डाक्टर बनाउने उहाँहरूको धोको हुनु अस्वभाविक पनि होइन । मेरा गुरुहरू पनि म जीवनमा सफल चिकित्सक बन्छु भन्नेमा सायदै विश्वस्त हुनुहुन्थ्यो । त्यतिबेला एसएलसी परीक्षामा फस्ट डिभिजन ल्याएको विद्यार्थी डाक्टर या इन्जिनियर बन्नुपर्छ भन्ने सामाजिक मान्यता थियो । मेरा माता–पिता त्यसको अपवाद हुने कुरै भएन । तर, मलाई सानैदेखि समाजमा हुने विभेदले चिमट्थ्यो, कसैले झुठो बोल्यो या गल्ति गर्यो भने म प्रतिवादमा उत्रिहाल्थें । मञ्च भेट्नासाथ भाषण गर्ने जोस चल्थ्यो । तर, परिस्थिति भने भिन्नै थियो । मैले घरको भित्तामा झुण्डिएको लुगा लगाएको रेडियोमा बोल्ने मान्छे कत्रो र कस्तो हुन्छ भनेर आमालाई बारम्बार सोधेको छु । टेलिभिजन त एसएलसी पास गरेर काठमाडौं आएपछि देखेको । त्यसैले रेडियो या टिभीमा जागिर पनि हुन्छ भन्ने त के पत्तो ? पत्रकारिताको पनि अत्तोपत्तो थिएन । बरु, म सानैदेखि वक्तृतासँगै निबन्ध, कविता, कथालगायत लेखनमा भने रुचि राख्थेँ । परिवारको अपेक्षा र योजना बमोजिम नै डाक्टर बन्न अमृत साइन्स क्याम्पस भर्ना भएको म विज्ञानमा असफल भएपछि जीवन यात्राले मार्ग परिवर्तन गर्यो । म नीजि विद्यालयमा पढाएर आफ्नो बाँकी अध्ययनलाई निरन्तरता दिने काममा लागेँ । त्यही बेला आजभन्दा करिब २३ बर्षअघि ‘टाइम्स एफ एम’का लागि कार्यक्रम सञ्चालकको आह्वान गरिएको थियो । त्यो विज्ञापनले तानिएको म अन्ततः पत्रकारिता अझ भनौं सञ्चारकर्ममा नछुट्टिने गरी टाँसिएँ ।

औपचारिक–व्याबहारिक पत्रकारिताको बाटो कसरी समात्नुभयो ?

विज्ञानको असफलताले मलाई जीवनमा धेरै सिकायो । हाम्रो बेलामा न रोजेको बिषय पढ्न पाइने, न चाहेको काम गर्न पाइने ? म बाबुआमा र गुरुहरूका लागि डाक्टर बन्दिनुपर्ने थियो । मेरो अन्तस्करणले बारम्बार चिच्याएर भन्थ्यो– यो डाक्टरी मेरा लागि हुँदै होइन । फेरि, मेरो पारिवारिक स्थितिले पनि मलाई कुस्त पैसा तिरेर डाक्टर पढ्ने अनुमति दिँदैनथ्यो । दाजुलाई इन्जिनियरिङ पढाउँदै सुकुम्बासी भइसकेका मेरा बाबुआमालाई डाक्टर बन्न पनि फेरि पैसा चाहिन्छ भन्ने थाहा थियो कि थिएन कुन्नी ? तथापि मेरो असफलताले उहाँहरूलाई सायद ‘कुचोले उडाउनुपर्ने कसिंगर हावाले उडाइदियो ।’ म राजधानीका विभिन्न नीजि विद्यालयमा पढाएर जीवनरथ गुडाउने स्थानमा पुगेँ । यद्यपि मैले आइएस्सी त अझ ठमेलको अमृत क्याम्पसमा बिहान प्रयोगात्मक कक्षा सकेर बनेपाको नीजि विद्यालयमा अध्यापन गराएर पढेको । त्यतिबेला खाना भनेको बेलुकी एक छाक नभएर भन्दा पनि नभ्याएर । तर, नीजि विद्यालयमा पढाइरहेकै बेला ‘टाइम्स एफएम’सँगको यात्रा जसरी आरम्भ भयो, सायद यहि नै थियो मेरो सञ्चारकर्मको ढोका खुलेको दिन । मलाई आज पनि सम्झना छ, त्यतिबेला लिखित परीक्षा दिएर नाम निकालेको अनि क्यासेटमा रेकर्ड गरेर कार्यक्रम बुझाएको । सुरुवाती समयमा त अझ ‘टाइम्स एफएम’ले मेरो स्वर रेडियोका लागि अयोग्य भनेर लिन नै आनाकानी गरेको तीतो अनुभुव अहिले पनि मनमा अमिलो भएर बसेको छ । तर, त्यही रेडियोमा एउटा समय मैले सञ्चालन गर्ने कार्यक्रम ‘बिहानी चिन्तन’ स्रोतामाझ निकै लोकप्रिय भयो । पेशागतरुपमा त्यसरी २२ बर्षअघि सुरु भएको पत्रकारिता अध्ययन पनि गर्नुपर्छ भन्ने मान्यता र आवश्यकताले मैले स्नातक र स्नातकोत्तर पत्रकारितामै पूर्वाञ्चल विश्वविद्यालयबाट गरेँ । ‘एमफिल’ चाहिँ पत्रकारितामै त्रिभुवन विश्वविद्यालयबाट गरेको छु । यसरी प्राज्ञिक र व्याबसायिकरुपमा म पनि सञ्चारकर्मी बनेँ ।

यस दौरान कहाँ–कहाँ कुन–कुन भूमिकामा रहेर काम गर्नुभयो ?

सुरुवाती दिनमा त ‘टाइम्स एफएम’मा हप्ताको एक दिन सोमवार ‘सहल’ भन्ने कार्यक्रम सञ्चालन गर्थेँ । त्यतिबेला एक घण्टाको कार्यक्रमका लागि हातैले लेखेर स्क्रिप्ट तयार पारिन्थ्यो । अतिथिलाई स्टुडियोमै बोलाएर अन्तर्वार्ता गरिन्थ्यो । बारम्बार नेपाल बन्द हुने त्यतिबेला काठमाडांैको चण्डोलबाट हिँडेर जावलाखेलको स्टुडियोमा पुगिन्थ्यो । चिया–खाजा खान न ‘स्टेसन’ले कार्यक्रम चलाए वापत पैसा दिन्थ्यो न त खल्तीमा हुन्थ्यो । तथापि , आफंैले रेडियोमा बोलेको सुनेर सबै भोकतिर्खा मेटिन्थ्यो । त्यसरी सुरु भएको यात्राका क्रममा जुन दिन मेरो कार्यक्रम ‘बिहानी चिन्तन’ स्रोताको प्रिय कार्यक्रम बन्यो, त्यतिबेला सुरुवाती दिनका अपमानका क्षणलाई रमाइलोकारुपमा स्मृतिमा सम्हाल्नुपर्छ भन्ने निष्कर्षमा पुगेको । तात्कालिन राजा ज्ञानेन्द्रले माघ १९, २०६१ मा सत्ता हातमा लिएपछि स्टुडियोमा सेना खटाइयो र हाम्रा कार्यक्रमहरु बन्द भए । पछि कार्यक्रम पुनः सुचारु भयो र थप केही बर्ष मैले चलाएँ । समग्रमा झण्डै १० बर्षजतिको यात्रा रह्यो मेरो ‘टाइम्स एफएम’सँग । त्यसै दौरान झण्डै १८ महिना ‘रेडियो नेपाल’को कार्यक्रम ‘घटना र विचार’को नाम परिवर्तन गरेर ‘समाचार सन्दर्भ’ राखेर सञ्चालन गरेँ । त्यसै दौरान मेरो टेलिभिजन करियर सुरु भयो । तात्कालिन ‘रेडियो नेपाल’का मेरो अग्रज कृष्ण केसीले अवकासपछि ‘सगरमाथा टेलिभिजन’मा महाप्रबन्धकको रुपमा काम गर्दा मलाई ‘सगरमाथा टेलिभिजन’मा अवसर दिनुभएको हो । संयोग या सौभाग्य, मैले ‘सगरमाथा टिभी’मा सुरुवातमै डेस्कमै सम्पादनको काम गरेको । तर, म कति कचिलो र कमजोर थिएँ भन्ने आज आएर महसुस हुन्छ । तथापि, टेलिभिजनको स्क्रीनमा उभिएर आफैं बोलेको हेर्न पनि त्यहीँ पाको पहिलोपटक । दुईपटक गरेर झण्डै चार बर्षको सगरमाथा बसाइपछि मैले त्यतिबेलाको चर्चित टेलिभिजन ‘एभिन्युज टेलिभिजन’मा झण्डै आठ बर्ष बिताएँ । टेलिभिजन विश्वविद्यालय ‘एभिन्युज टेलिभिजन’ त्यो आठ बर्ष मेरा लागि साह्ै अविस्मरणीय रह्यो । मैले आफूलाई अन्तर्वार्ताकारकारुपमा परिचय दिन सकेको त्यहीँबाट हो । मैले पत्रकारिताको ‘कखरा’ सिकेको त्यहीँबाट हो । पछिल्लोपटक विगत तीन बर्षदेखि ‘हिमालय टेलिभिजन’सँग आबद्ध छु । सुरुमा कार्यक्रम ‘यक्ष प्रश्न’का लागि अनुबन्धित म केही समयमै समाचारको प्रमुख पनि भएँ । मलाई टेलिभिजनमा कार्यक्रम चलाएर पनि सेलिब्रेटी बन्न सकिन्छ भन्ने विश्वास दिलाएकै ‘हिमालय टेलिभिजन’ले हो ।

वर्तमान नेपाली पत्रकारिताको कसरी समीक्षा गर्नुहुन्छ ?

साँच्चै भन्ने हो भने पत्रकारिताको अहिलेको अवस्था सम्झेर कहाली लाग्छ । कुनै बिषय नजान्दा आनन्दै हुन्छ होला, गज्जबले जान्दा पनि आनन्द नै होला तर छिप्छिपे जानकारीले डुबाउँछ । आज पत्रकारिता नेपालमा शारिरीकरुपमा आँखा नदेख्नेले हात्ती छामेजस्तो भएको छ । को पत्रकार र सञ्चारकर्मी हो ? को होइन ? हातमा बुम, माइक र क्यामेरा लिने सबै सञ्चारकर्मी हुन् ? कि यसका लागि कुनै औपचारिक शिक्षा चाहिन्छ या योग्यता पनि चाहिन्छ ? नेपालमा मात्र यस्तो हुन्छ कि अन्य देशमा पनि यस्तै हुन्छ ? हामीले भन्दै आएको नागरिक पत्रकारिता यही हो ? यसैका लागि हो नेपालमा पत्रकारितालाई चौथो अंग भनेको ? साँच्चै मलाई कहिलेकाहीँ त आफूलाई सञ्चारकर्मीभन्दा गर्व भन्दा ग्लानी हुन्छ । हामीले नेपाली पत्रकारिताको चीरहरण त गरिरहेका छैनौं । इन्टरनेटको आगमन र सामाजिक सञ्जालको विकास पछि जसरी पत्रकारिताको नाममा जे गरिरहेका छौं नि यसले पत्रकारिता व्याबसायिक होइन, दलालीतिर पो जाँदैछ कि भन्ने पो लागिरहेको छ । यो परिदृष्यका बीच सबभन्दा डाह र बेचैनी त यसैलाई पेशा बनाएर नैतिक आचरण र मूल्य–मान्यतामा बसेकाहरुलाई भएको होला नि ? पत्रकारिताको न्युनतम मर्म र धर्म निभाएकाहरूलाई ‘फटिचर’हरूका अघि निन्याउरो अनुहार लगाएर बस्नुपर्ने । बिषयको औपचारिक ज्ञान लिएकाको अघि हात्ती पढेर ठूलो भएको हो र भन्नेले पाण्डित्याँइ गर्ने र उसैका कुरा बिक्ने । ‘भ्यालु’ छाडेर ‘भ्युज’का पछि लागेपछि हुने यस्तै हो । जब घर साङ्लो बन साङ्लोको घेरामा पर्छ नि हुन्छ यस्तै ।

यहाँको खास समस्या, विकृति के हो ?

हामीले प्रजातन्त्रको अधिक प्रयोग गर्यौं । वाक् स्वतन्त्रताको गलत प्रयोग गरियो अनि प्रकाशन र प्रसारण स्वतन्त्रताको लक्ष्मण रेखा कोरेनौं या कोरेर पनि बारम्बार मेट्ने प्रयास गर्यौं । हुन त नेपाली पत्रकारिता सुरुबाटै ‘मिसन’बाट हुर्किएको हो । जे रोप्यो त्यही फल्छ नि । देश र जनताकोमात्र पक्षधरता भएको यस्तो हुने थिएन कि ? इन्टरनेटको विकासपछि चुनौतिको पाटा र पक्ष फेरिए ‘डिग्री’ फेरिएन । सामाजिक सञ्जाललाई पत्रकारिताको मैदान ठानियो, आम्दानकिा लागि जस्ता बिषय पनि समाचारका बिषय बने । विज्ञापन पनि हुन नसुहाउनेदेखि श्रीमान श्रीमतिबीच समेत नहुने संवाद सञ्चारमाध्यमका सामाग्री बने । समग्रमा मर्यादाको अवसान भयो । पत्रकारिताको आचारसंहिताको धज्जी उडाइयो । पत्रकारिताले समाज जोड्नुपथ्र्यो, तोड्न उद्यत भयो । राष्ट्रियता बलियो बनाउनुपथ्र्यो, कमजोर बनाउने खतरा देखियो । लक्ष्मण रेखा कोरिनुपथ्र्यो, मेटिन थालियो । प्राज्ञिक अभ्यास र अनुसन्धानले बढावा पाउनुपथ्र्यो, सतही बिषयले प्रधानता पाए ।

यसलाई निराकरण गर्ने अचुक उपाय के हुन सक्छ ?

कुनै पनि समस्या समाधानको अचुक उपाय भन्ने त हुँदैन तर, कानुन, सरकार र नैतिकता भनेको असल अभ्यासमा मात्र प्रभावकारी हुन्छन् । जब दण्डहीनता मौलाउँछ, अनि राज्यका सबै अंग निष्क्रिय हुँदै जान्छन् । आजको दिनमा सरकारलाई बोलाएर या कानुन बनाएर नेपालको पत्रकारितालाई मर्यादित बनाउन सकिन्छ त भन्ने प्रश्न नै असान्दर्भिक भइसक्यो जस्तो लाग्छ । सामान्य रोग भए घरमै पनि निको हुन्छ । ज्वरो लामो समयसम्म आए अलि ख्याल गर्नुपर्छ । निमोनिया नै भयो भने अस्पताल जानुपर्छ । क्यान्सर नै भयो भने किमो चढाउनुपर्छ । तर, नेपाली पत्रकारिता किमोले पनि काम नगर्ने ‘फेज’को ‘क्यान्सर’ भइसकेको छ । तसर्थ, यस्तो बेला यसको समग्र पुनर्संरचनाको विकल्प छैन ।

नेपाल र बाहिरको पत्रकारितामा के फरक छ ?

नेपाली पत्रकारिताको विकासको समय र क्रमलाई समेत हेर्यो भने यो सकारात्मक भाषामा भन्दा सिकाइ र तीतो भाषामा भन्दा नक्कलको परिणाम हो । पछिल्लो दिन त भारतीय सञ्चारमाध्यमको ‘जेरक्स कपी’ हुने हो कि भन्ने समस्या छ । विश्वमा कुनै पनि देशको पत्रकारिता आलोचना मुक्तचाहिँ छैन । विश्वका शक्तिशाली भनिने सञ्चारमाध्यम र सञ्चारगृह पनि ठूला व्यापारिक घरानाका कब्जामा छन् । केही देशमा त आज पनि स्वतन्त्र सञ्चारमाध्यमको अभ्यास नै छैन । पश्चिमा सञ्चारमाध्यमको दबदबाकाबीच खासगरी ‘अल जाजिरा’ले पत्रकारिताको परिभाषालाई पुनव्र्याख्या गरिदिएको छ । हिजोका दिन जुन ‘फ्लो’मा ‘एजेण्डा’मा ‘सिन्डिकेट’ थियो अहिले त्यसको पनि ध्रुविकरण भएको छ । विकसित र शिक्षित देशमा पनि सञ्चारमाध्यमहरू कसैको मुखपत्र बनिरहेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको अघिल्लो भिडन्तका बेला अमेरिकाका ५० भन्दा बढी सञ्चारमाध्यममा आएको समाचार हेर्ने हो भने एउटालेमात्र डोनाल्ड ट्रम्पले जित्ने प्रक्षेपण गरेको थियो । अर्को उदाहरण छिमेकी भारतको हेरौं, आज त्यहाँका मूलधारका भनिएका सम्पूर्ण जसो सञ्चारमाध्यम मोदी सरकारको मुखपत्र जस्ता भएका छन् । त्यसैले विश्वव्यापीरुपमै सञ्चारमाध्यम र पत्रकारिताको गलत प्रयोग भएको छ । अर्कोे उदाहरण युक्रेन र नेटो मुलुककै हेरौं । युक्रेनलाई पश्चिमा सञ्चारमाध्यमकै कारण आज हरितन्नम हुने अवश्थामा पुर्याइयो । त्यसले केही सभ्य र विकसित देशबाहेक अधिकांश मुलुकमा पत्रकारिता आजको दिन पर्चाकारितामा रुपान्तरण भएको छ ।

यो क्षेत्रमा लागेर समाज र राष्ट्रलाई के दिनुभयो ?

मैले यति गरेँ, आकाशै थामेको छुजस्तो पनि कतिबेला लाग्छ होला । म नभए त घण्टाघरको घडी नै घुम्दैनथ्यो जस्तो पनि लाग्छ तर होइन, दिन पछि रात आउँछ अनि भोलि बिहान फेरि सूर्योदय हुन्छ नै । म नेपाली पत्रकारिताको एउटा विन्दुमात्र हो, विन्दु रेखा बन्न यस्ता धेरै अरु विन्दु जोडिनुपर्दछ । त्यसैले मैले मेरो हिस्साको जिम्मेवारी गरिरहने हो ।

 

अनि समाज–राज्यले चाहिँ तपाईंलाई चाहि के दियो नि ?

म मेरो पेशा गरिरहेको छु । यसबाट सम्मान र प्रेम पाएको छु । परिचय र पहिचान पाएको छु । मैले ‘पत्रकारिता सम्मान–२०६६’ (न्युटन हाइस्कुल, बालुवाटार), ‘सम्मानपत्र–२०६८’ (शिक्षा दिवसको अवसरमा राष्ट्रिय जिल्ला शिक्षा समिति, काठमाडौं), ‘राष्ट्रिय शिक्षा प्रशंसापत्र–२०७१’ (नेपाल सरकार, शिक्षा मन्त्रालय), ‘राष्ट्रिय शिक्षा प्रशंसापत्र–२०७२’ (नेपाल सरकार, शिक्षा मन्त्रालय), ‘राष्ट्रिय टेलिभिजन सम्मान–२०७२’ (टेलिभिजन कलाकर्मी मञ्च) ‘उत्कृष्ट कार्यक्रम प्रस्तोता पुरस्कार–२०७४’ (चलचित्र कलाकर्मी संघ), ‘दशौं क्रिटी अवार्ड–२०७५ (निर्णायक)’ (नेपाल विज्ञापन संघ), ‘भेनस शिक्षा सेवा सम्मान–२०७७’ (भेनस नेशनल कलेज), ‘पत्रकारिता सम्मान–पुरस्कार–२०७७’ (हरिप्रसाद–कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठान), ‘पत्रकार तीर्थराज भुसाल स्मृति पत्रकारिता पुरस्कार–२०७७’ (पत्रकार तीर्थराज भुसाल स्मृति ट्रष्ट), ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार–२०७८’ (सम्पादक समाज), ‘बानियाँबन्धु समाज पत्रकारिता सम्मान–२०७९’, ‘पत्रकारिता तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएकोमा सम्मान–२०७९’ (पालुङटार नगरपालिका), ‘पत्रकारिता सम्मान–२०८०’ (जगनन्द प्रकाशेश्वर तथा पाञ्चायन संरक्षण समिति), ‘पत्रकारिता सम्मान–२०८०’ (गोरखा साँस्कृतिक समाज) आदि पाएको छु । यो नै समाज र राष्ट्रले दिएको सम्मान हो नि ।

(नयाँ विकल्प साप्ताहिक बाट)

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २३, १७: १४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

Retiros y verificación en 55Bet Casino: plazos y límites de 10.000 € al día
  • २०८० चैत्र २३, १७: १४

diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र २३, १७: १४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...