यार्सा यात्रा सस्मरण : काठमाडौँ देखि मैकोट, पुपाल पाटनसम्म – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

यार्सा यात्रा सस्मरण : काठमाडौँ देखि मैकोट, पुपाल पाटनसम्म

छोरा संजीब सन् २०१९ बैशाखमा अस्ट्रेलियाबाट नेपालमा यार्सागुम्बाको आर्थिक र व्यवस्थापनबारे अध्ययन गर्न आएका थिए। यात्राको सुरुवात काठमाडौँको गोल्फुटारबाट पोखरा हुँदै बागलुंगसम्म पुग्यौ । उनले आफ्नो अध्यनको बारेमा कुरा गर्दा मलाई पनि उनिसंगै यात्रा गर्ने इच्छ्या भयो र उनको यात्रामा म पनि जोडिने जमर्को गरें। हामी बुर्तिबांगमा दुई जना साथीहरु दिपक र प्रकाश पनि बुर्तबांग आइपुगे र हामी चार जना त्यहाँबाट सानो चार पांग्रे साधन लिएर ढोरपाटन पुग्यौं र त्यहाँ केहि अफिसियल काम सकेर पैदल यात्रा सुरु गर्न थाल्यौं ।  हाम्रो गन्तब्य थियो रुकुमको मैकोट । 

झन्डै ६ घन्टाको पैदल यात्रा पछि हामी ढोरपाटन शिकार आरक्ष्यको सानो पोस्ट भएको ठाउँको नजिकैको घरमा बास बस्न पुग्ग्यौ र त्यस रात त्यहि बास बस्ने निधो गर्यौं । थाकेका कारण छिटै खानपिन गरेर हामी सुत्यौं अर्को दिनको पैदल यात्राको लागि तयार जो हुनु थियो । भोलि पल्ट सबेरै उठेर त्यहाँबाट दुई वटा खच्चडमा आफ्ना झोलाहरु राखी हामी यात्राको तयारी गर्न थाल्यौं। ढोरपाटनबाट सुरु भएको त्यस दिनको पैदल यात्राले ११ घण्टा पछि तकसेरा पुगेर बिश्राम लिग्यो । 

तकसेरामा बास बसी भोलिपल्ट साँझ एउटा जिपको व्यवस्था गरि हामी करिब चार घण्टामा नयाँ सडक भन्ने ठाउँ पुग्यौ। पुग्ने क्रममा बाटोको यात्रामा धेरै पटक अब भिरबाट तल खस्ने भैयो भन्दै जिपको कुन ठाउं समात्न मिल्छ बेस्सरी समात्दै डराउदै हामी नयाँ सडक पुग्दा साह्रै रमाइलो लाग्य। यात्रा कठिन थियो तर गन्तब्य अति रमणीय थियो। त्यहाँ पुग्दा बाँचेर आइपुगियो भने जस्तो महसुस भयो।

हाम्रो गुरु वहा हुनु हुन्थियो।

हाम्रो जस्तो बाटो मा पनि गाडी हाक्ने गुरु जी

नयाँसडकमा हामीलाई लिनको लागि मैकोट निवासी लाजिम पुन ज्युका छोरा दिनेश पुनजी आउनु भएको थियो। उहाँलाई त्यहाँ भेट्दा निकै खुसी लाग्यो। दिन ढल्की सकेकोले त्यस रात त्यहि बस्ने निर्णय गरियो र उहाँले त्यस रात त्यहि बास बस्ने व्यवस्था मिलाउनु भयो र दिनेशजी सहित हामी पाँच जना त्यहि बस्यौ। राति खानपिन गरेर हामी सुत्ने कोठातिर मोबाइलको लाइट बालेर गयौं। कोठा त रहेछ तर एउटा कोठामा १२ जना सुत्नु पर्ने। तर त्यो पनि अनुभव संगाल्ने अवसर थियो ।  हामी सबै जना लाइन लागेर त्यहि कोठामा सुत्यौं । भोलि बिहान कति खेर होला भन्ने मनमा लिएर सुतियो।

बिहान बिहान उठियो आफ्नो नित्य कर्म पुरा गरि तातो तातो चिया पिएर खच्चडमा सामान लोड गरेर फेरी गन्तव्यको लागि पैदल यात्रा सुरु गरियो।

छ घण्टाको ठाडो उकालो हिडाई पछि पुगियो मयांग त्यस स्थानमा दिनेशजीले खानाको व्यवस्था मिलाउनु भयो र त्यहाँ खाना खाइ एक डेढ घण्टा आराम गरि फेरी यात्रा सुरु गरियो। बाटोमा हिडिरहंदा रमाइला खोला-नाला, चरा चुरुंगीको मधुर आवाज सुन्दै झोलुङ्गे पुल तरेर मैकोटको गन्तब्यको लागि अन्तिम ठाडो उकालोतर्फ लागियो। उक्त मार्गमा कठिनाई रहेता पनि उकालो चड्दा पसिना आए पनि मिठो मधुर सरर चिसो हावाले आनन्द दिईरहेको थियो। त्यो सम्झिंदा अझै ताजा महसुस हुन्छ।

हामीहरु साँझ बत्ति बाल्ने समय तिर मैकोट पुग्यौं। त्यहाँ बस्ने राम्रो होटेलको व्यवस्था लाजिम दाजुले गरिदिनु भएको रहेछ। त्यति बिकट ठाउंमा पनि व्यवस्थित र राम्रो बास बस्ने होटेल पाउँदा सारैनै राम्रो लागिरहेको थियो। राति खाना खाइसके पछि दिनेशजी (उहाँ त्यहिकै स्थानीय हुनुहुन्छ) आउनु भयो र लाजिमजी संग भेटघाट गर्ने अनुकुल मिलाउनु भयो। उहाँसंग करिब २ घण्टाको कुराकानी पछि हामी जुन कार्यको लागि मैकोट गएका थियौं त्यस बिषयमा हामीलाई भरपुर सहयोग गर्ने वचन उहाँले दिनुभयो। लाजिमजीको छोरा दिनेशजीलाई हामीलाई सहयोग गर्ने जिम्मा दिनुभयो। दिनेशजीले आफ्नै मामा राजकुमारजीलाई लिएर आउनु भयो र त्यहि हामी संगै चियापान गरियो।

उहाँसंग पनि हाम्रो काम के कसरी गर्ने भनेर छलफल गरियो। उहाँहरुको साथ् हाम्रो लागि निकै सहयोगी रह्यो किन भने त्यस ठाउंमा नयाँ मान्छे आउँदा त्यहाँका बासिन्दाहरुले फरक रुपमा लिनु हुने रहेछ। किन आए, के गर्न आए, कसलाई भेट्न आए भनेर शंकाको नजरले हेरेको जस्तो अनुभूति भयो। हुन पनि हो नयाँ मान्छे गाउँमा आउँदा त्यस्तो हुनु स्वभाभिक हो। त्यसमाथि पनि त्यो यार्शागुम्बा टिप्ने सिजन भएर पनि होला सायद। तर हामीसंग लाजिम जी, दिनेश जी र राजकुमार  जी संगै हुनु भएकोले सजिलो महसुस भैरह्यो। हामीलाई कसैले सोद्धा लाजिम जीको नाम लिए पछि सबैले राम्रो व्यवहार गरेको महसुस भयो। त्यस्तो किन त भनेर लाजिम जीको बारेमा अलि गहिराइबाट बुझ्न मन लाग्यो र बुझ्ने अवसर पनि मिल्न गयो। उहाँका छोरा दिनेशजी तथा भान्जासंग बुझ्दा उहाँ त्यहाँका यार्शागुम्बा व्यवस्थापन समितिक पूर्व अध्यक्ष हुनुहुन्छ भने गाउँमा सबैले मान्ने अगुवा व्यक्ति हुनु हुन्छ। उहाँप्रति गाउँलेहरुको सम्मान देखेर हामीलाई पनि उहाँप्रति अझ सम्मान बढ्यो।  

त्यस्तै सर्वेक्षण गर्ने क्रममा पनि दिनेशजीहरुले धेरै सहयोग गर्नु भयो। त्यहाँको स्थानीय भाषा खाम भाषा रहेछ तर उहांहरुको सहयोगले हामीलाई अप्ठेरो महसुस भएन। दिनेशजी, राजकुमारजी, किरणजी साथमा हुनु भएकोले भाषा लगायत अन्य कुनै कुरामा हामीलाई समस्या परेन। उहांहरुबाट निकै नै प्रसंसनिय सहयोग रहेको थियो। हामीलाई पुपाल पुग्नु थियो किनभने यार्सागुम्बा टिप्ने सिजन थियो त्यो र मैकोटबाट १ घर १ सुरक्षाको व्यवस्था मिलाउन जाने त्यहाँको सिजन व्यवस्थापन समितिले मिलाएको थियो। त्यसैले हामी पनि अब उहाँहरु संगै भोलि पल्ट पुपाल तर्फ़ जाने निधो हामीले गर्यौं।

भोलिपल्ट मैकोटबाट हाम्रो पुपालतर्फ़को यात्रा ठाडो उकालोबाट सुरुवात भयो। जाँदा जाँदा झन्डै ११ घण्टा पछि दुले भन्ने ठाउंमा पुगेपछि दिनेशजीले बास बस्ने व्यवस्था मिलाउनु भयो र त्यस दिन त्यहि बास बसियो। भोलिपल्ट सबेरै उठियो पुपालतर्फ़ लागियो। बाटोको आनन्द लिंदै छ घण्टापछि पुपालको फेदीमा पुग्यौं। पुपालको फेदी हाम्रो लागि ठाडो उकालो थियो तर दिनेशजीहरुले त्यो बाटोलाई तेर्सो भन्नुहुन्थ्यो। भिर- पख पखेरा नहिडेको मान्छे होइन म, तर पुपालसम्मको त्यो यात्रा सहज अवस्य थिएन। हामी उकालो चड्दै थियौं, हिड्दै गर्दा निकै रोचक कुरा के भयो भने करिब २ घण्टा जति हिडें पछि अविश्मरणीय तरिकाले हिमपात सुरुभयो। हावा हुरीका साथ् आएको त्यो हिमपातले मनमा निकैनै उत्साह उत्पन्न भैरहेता पनि अर्को तर्फ़ डर जस्तो पनि लागि रहेको थियो। त्यो बेला को भिडियो युटूब मा हेर्न सक्नु हुन्छ।

किनभने उकालो चढी रहेका थियौं, फर्किन पनि गाह्रो बाटो चिप्लो भैसकेको थियो। उकालो बाटोमा, ओत लाग्ने ठाउं पनि कहिँ कतै थिएन।  आखाँ अगाडी थिए त केवल हिउँले ढाकेको सेताम्मे पहाडहरु , दृश्य निकै नै मनोरम थियो तर ३५ मिनेट सम्म लगातार एकोहोरो हिमपातले भगवान शिवजीलाई सम्झिने अनुकुलता मिल्यो सबैलाई। ओत लाग्ने ठाउं कहिँ कतै नभएकोले हामी सबैजना त्यो हिमपात सहेर नै बसी राख्यौं। ३५ मिनेटपछि शिवजीको आशिर्वादले एक्कासी हावाहुरी, हिमपात सबै एकै चोटी बन्द भयो। त्यसपछि चाही अब बाचिन्छ भन्ने लग्यो। त्यो अवसरको आनन्द लिन भनेरै त्यति बेला सायद त्यस्तो हिमपात भएको थियो होला।

हामी फेरी बिस्तारै गन्तब्य तिर लाग्यौं र २ घण्टा जतिमा पुपाल पुग्यौं। पुपालमा यार्सागुम्बा टिप्न जानु भएका मैकोट निवासी दाजु भाई, दिदि बहिनि, आमाहरुले पाल टाँगेर हाम्रो लागि पनि बस्ने व्यवस्था मिलाइदिनु भएको रहेछ, त्यो देख्दा बडो आनन्द लग्यो।  तर पुपालको हिउँ परेको चिसो रात्रीमा हिउँ पर्न सक्ने प्रबल सम्भावना देखियो र अलि राम्रो प्रबन्धका साथ् बस्नुपर्ने महसुस हामीलाई लागि रह्यो। रात्रि बिश्रामको अगाबै खानको अनुकुल मिलाएर खाइवरी त्यहाँ पुपालमा खट्टिनु भएका समितिका पदाधिकारीसंग भेटघाट गर्ने समय मिलाई भेटघाट गर्ने तयारीमा हामी लाग्यौं किनभने भोलि बिहानै त्यहाँ रहनुभएका  संकलकहरु सबेरै यार्सागुम्बा टिप्न पुपाल पाटनको टुप्पो टुप्पो पुग्नु हुने रहेछ। बिहान जानु भएपछि आखाँले देख्न सक्ने समय सम्म यार्सागुम्बा टिप्न बस्नु हुने रहेछ। त्यसैले हामीले अघिल्लो दिनको समयलाई नै सदुपयोग गर्ने सोच्यौं र सर्वेक्षण गर्न तिर लाग्यौं। त्यसपछि पदाधिकारीहरुसंग भेटघाट भयो, भेटघाटमा हामीलाई अनुकुल मिल्ने व्यवस्था उहांहरुले गरिदिनु भयो। हामी हाम्रो काम सुरु गर्दै थियौं, त्यतिनै बेला एक घर एक सुरक्षामा खट्टिनु भएको टोलिमा केहि अन्य व्यक्तिहरुले घुसपैठ गरेको भन्ने हल्ला त्यहाँ फिजियो। अब भोलि यार्सागुम्बा टिप्न जानु भन्दा अघि सबैको हाजिरी लिने सूचना त्यहाँ प्रबाह भएसंगै भोलि बिहान यार्सागुम्बा टिप्न जान अलि ढिला हुने खबर हामीले पायौं। त्यो हाम्रो लागि एक हिसाबले खुसी कै कुरा भयो किन भने हामीले धेरै संकलकहरुबाट तथ्यांक लिने मौका पाउने भयौं। रात छिपिदैं थियो टाउको निरन्तर दुखिरखेको थियो। लेक लाग्न सक्ने डर पनि थियो तर त्यो भन्दा धेरै चिसोको कारण टाउको दुखाइले पिरोलेको थियो।

भोलि पल्ट हामी सबेरै उठ्यौं र आफ्नो काम सक्काउने तयारी गर्न थाल्यौं। तथ्यांक संकलन गर्ने कामलाई अन्तिम रुप दिन अध्यन टोलि अरिंगाल खंनिए जस्तोगरी काममा लागि रह्यौं। हामी काम पुरा गरेर लगभग रातको ९ बजे तिर दुले पुग्यौं। भीरको बाटो बिजुली बत्तिको सुबिधा त थिएन मोबाइलको बत्ति बालेर निकै गाह्रो हुँदा हुँदै पनि दुले बल्ल तल्ल पुग्यौं। त्यस रात्रिमा दुलेमा राम्रो भोजनको अनुकुलतामा बास बस्ने संयोग मिल्न गयो। त्यस रात दुलेमा बासबसी भोलिपल्ट बिहान चिया खाजा खाईवरी मैकोटतर्फ़ पैदल यात्रा सुरु गरियो। बाटोको आनन्द लिंदै हिउँले सेताम्मे भएको हिमाल, वन जंगलको मनोरम दृश्य, चरा- चुरुंगीको मधुर आवाज, खोला नालाको कलकल आवाजको आनन्द लिंदै हामी साँझको करिब ६ बजेतिर मैकोट पुग्यौं।

रमणीय झरना र पहाड

यात्रा रमाइलो हुनुको साथै थकाई लाग्ने पनि थियो। होटेलको कोठामा पुगेर, नुहाईधुवाई पश्चात चिया पियौं र एकछिन आराम गरि छिटै खानपिन गरि सुत्यौं। लामो यात्राका कारण शरीर निकै थाकेको थियो त्यसैले भुसुक्कै निदाएछौँ। भोलि पल्ट बिहान हामी लाजिमजीलाई भेट्न उहाँको घर पुग्यौं। पुपालको यात्रा बारे एकछिन गफगाफ गरेर दिनेश जी, राजकुमार जी, किरण जी लगायत सम्पूर्ण संग बिदा भै हामीले मैकोट छोड्यौं।

नयाँसडक बास बस्ने मनसायले हामीले पैदल यात्रा सुरु गर्यौं। करिब ६ घण्टाको हिडाई पछि हामी मयांग पुग्यौं र त्यहाँ खाजा- खाना खायौं। खादैं गर्दा निकै ठुलो पानी पर्यो। झन्डै २ घण्टा परेको त्यो अविरल वर्षाले हामीलाई आराम गर्ने अवसर दियो। पानी पर्दा पर्दै हिड्ने अवस्थाको पानी नभएकोले हामी त्यहि एकछिन निदाउन पनि भ्यायौं। पानी रोकिएपछि फेरी हाम्रो यात्रा सुरु भयो। हामी साँझको ७ बजे तिर बन्दै गरेको भित्री राजमार्गको नयाँसडक पुग्यौं। त्यस रात त्यहि बास बस्यौं।      

भोलिपल्ट बिहान हामीहरु ४ पांग्रे जीप चढेर लगभग ११ बजेतिर रुकुम पूर्वको सदरमुकाम पुग्यौं र त्यहि खाना खाएर रात्री बसको टिकट लियौं। अब हाम्रो गन्तब्य थियो बुटवल। हामी बस चढ्यौं र यात्रा सुरु भयो। रातिको समय खाना खाने ठाउँमा बस रोक्यो तर राम्रो व्यवस्था नभएकोले हामीले बुटवलनै पुगेर खाना खाने विचार गर्यौं। बिहानको ४ बजेको थियो बुटवल झर्दा, १७ दिनको धुलो, मैलो, माटो नुहाईवरी हामी खाना खाना थाल्यौं। यतिका दिन पछि घरको खाना खान पाउँदा मन हर्षित थियो। हुनत दिनेशजीको सहयोगमा हाम्रो सम्पूर्ण यात्रा निकै सहज भएको थियो। उहाँले हाम्रो बसाईंको व्यवस्था निकै राम्रो गर्नु भएको थियो तर घर पुगेर खान बस्दा खुसी महसुस भयो। बसमा निन्द्रा नपरेकोले अब हामी खाना खाएर सुत्ने तरखरमा थियौं घरका सदस्यहरुले हाम्रो यात्राको बारेमा जिज्ञाशा राख्नु भयो। छोटकरीमा यात्राबारे विस्तार गरेर हामी आराम गर्न कोठा तिर लाग्यौं। ओछ्यानमा पल्टिरहंदा काठमाडौँ देखि मैकोट, त्यसपछि पुपाल अनि त्यहाँबाट बुटवलसम्मको यात्रा आखाँमा झल्झली आइरहेको थियो। जीवनमा थुप्रै यात्राहरु गरियो तर यो यात्रा अविष्मरणीय हुन पुग्यो। नेपालको हिमाली क्षेत्रको राम्रो अनुभब संगाल्ने मौका मिल्यो। कति पटक त अब गयौं अब गयौं भन्दै यात्रा गर्यौं। तर प्रकृतिको सुन्दरताले भरिपुर्ण रुकुम सहरी देखासिकी र कृतिमताबाट टाढा रहेको मैले महसुस गरें।

गत वर्ष २०७६ सालमा गरिएको त्यो यात्रा यो वर्ष पनि ताजै छ। यो वर्ष कोरोना भाइरसका कारण यार्सागुम्बा टिप्न सरकारले निषेध गरेको समाचार सुन्दा मैकोटबासी सम्झिरहेको छु। यहि सिजनको समयमा यार्सागुम्बा टिपेर वर्ष भरिको खर्च धान्ने मैकोटबासीको लागि यो वर्ष बिपत आइपरेको छ। उनीहरुलाई सम्झिदा गत वर्षकै उधारो तथा सरसापटी लिएको तिर्न बाँकी हुँदै यस वर्ष यार्सागुम्बा टिप्न सरकारबाटै प्रतिबन्ध भएपछि उनीहरुले कसरि घर व्यवहार चलाउंछन् होला, कसरि यो वर्षको खर्चपानीको अनुकुलता मिलाउछन् होला भन्ने कुरा सम्झेर पनि झसङ्ग भएर आउँछ। तर हामीलाई आत्मा देखि नै सहयोग गर्नु हुने दाजु लाजिम जी, दिनेश जी, राजकुमार जी, किरण जी र समिर जीलाई हृदय देखि नै सम्झी रहन्छु। आशा गर्छु कुनै मोडमा उहाँहरुसंग फेरी भेट हुने सौभाग्य मिल्नेछ। उहांहरु लगायत हाम्रो यात्रामा प्रत्यक्ष- अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा धन्यबाद दिन चाहन्छु। यस्तै अविष्मरणीय यात्रा फेरी गर्ने अवसर मिलोस भन्ने कामना पनि गर्दछु।

राजकुमार जी, प्रकाश जी , किरण जी, म र दिनेश जी, पछाडी पुथा हिमाल उचाई ७२४६ मीटर
छोरा संजीव र म

तर संयोग अहिलको कोरोनाको विषम परिस्थितिमा दाजु लाजिम पुनजी र उहाँका छोरा दिनेश पुन जी लकडाउनका कारण काठमाडौँमा नै अड्किनु भएछ। टेलिफोनमा सम्बाद गर्ने मौका मिल्यो तर सहयोग गर्ने अनुकुल नमिल्दा सारै नै मनमा पिरलो लग्यो। जसो तसो गरेर उहांहरु मैकोटको लागि काठमाडौँबाट हिड्नु त भएछ तर निकै दुख पाउनु भएछ।  बुर्तिबाङ्ग हुँदै ढोरपाटन, तकसेरा, नयाँबजार हुँदै मैकोट पुग्न ४ दिन लागेछ।  कोरोनाका कारण कसैलाई पनि बाटोमा पानी – खाना दिएमा १० हजार, चाउचाउ खाना दिए १५ हजार, बास दिए २० हजार, जरिवाना गर्ने निर्णय जिल्लाबाट भएकोले उहांहरुलाई बाटोमा निकै कष्ट भएको कुरा उहाँसंग टेलिफोनमा कुरा हुँदा थाहा भयो सारै पिडा भयो सुन्दा। यस वर्ष यार्सागुम्बा टिप्न नपाए पनि उहाँहरुको जीवनमा अफ्ठेरो नपरोस, यहि कामना गर्दछु।        

सम्बन्धित समाचार

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७७ जेष्ठ १७, १४: ४५

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७७ जेष्ठ १७, १४: ४५

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७७ जेष्ठ १७, १४: ४५

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...