सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निः शुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको हो ।

चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले १४औँ नगरसभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको जानकारी दिए । आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण पछिल्लो समय गाउँ खाली हुँदै गइरहेकाले पनि यसको रोकथामका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले भूमिका खेल्ने उनको भनाइ छ ।

“बालबालिकालाई सामुदायिक विद्यालयमा पठाउने अभिभावक वा घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिँदा उपचारमा सहयोग पुग्छ”, उनले भने, “सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै जान्छ ।”

नगरपालिकाले यसका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । उक्त कार्यक्रमले सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुग्नुका साथै सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई गुणस्तरीय बनाउनका लागि पनि पालिकाले आवश्यक नीति, कार्यविधि तथा बजेटको सुनिश्चित गरेको नगर प्रमुख खाणले बताए ।

नगरपालिकाभित्र ४५ सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार बालबालिकाका परिवारका सदस्यका लागि न्यूनतम तीन हजार पाँच सय बीमाबापतको रकम नगरपालिकाले भुक्तानी गरिदिने भएको छ । उक्त रकमले पाँच जनासम्मको परिवारले एक वर्षको अवधिसम्म एकलाख बराबरको उपचार खर्च गर्न पाउने छन् । पाँच जनाभन्दा बढी जनाको सङ्ख्या भए पालिकाले प्रतिव्यक्ति सात सय थप गरिदिने भएको छ ।

शिक्षा शाखा प्रमुख बन्दना गुरुङका अनुसार चापाकोट नगरपालिकामा माध्यमिक तहका १६, आधारभूत तह (१–८) का पाँच, आधारभूत (१–५) का १४ र आधारभूत (१–३) का १० विद्यालय रहेका छन् । हाल नगरका १० वडामा रहेका ४५ सामुदायिक विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत रहेका तथ्याङ्क छ ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८० माघ १, १०: ३६

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८० माघ १, १०: ३६

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८० माघ १, १०: ३६

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...