आफ्नो कमाइबाट समाजसेवा गर्न पाउँदा खुशी लाग्छ – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

आफ्नो कमाइबाट समाजसेवा गर्न पाउँदा खुशी लाग्छ

दुर्गा विष्ट–मेकअप आर्टिस्ट

स्व. खम्बसिंह विष्ट र नरमायाका ६ छोरी तथा १ छोरामध्ये पाँचौ सन्तानको रुपमा मोरङको तत्कालीन बयरवनको सामान्य किसान परिवारमा जन्मिएकी हुन् दुर्गा विष्ट । उनका दिदीहरु शान्ता, शारदा, सुमित्रा, लक्ष्मी र बहिनी कला एवं भाइ दिनेश छन् ।

‘हुने बिरुवाको चिल्लो पात’ भनेभैंm तिक्ष्ण बुद्धिकी धनी दुर्गाको सानैदेखि फरक साेंच रह्यो । त्यही सोंचलाई मूर्तरुप दिँदै सीपमुलक तालिममार्फत सौन्दर्यकलामा ख्याति कमाएकी छन् । मध्यम वर्गीय परिवारको मुख्य आम्दानीको स्रोत भनेको कृषि नै थियो ।

दुर्गा सानै हुँदा बुबाको निधनले विष्ट परिवार बज्रपात भयो । अनि सुरु भयो उनका संघर्षमय जीवनका पाइलाहरु । सानैदेखि सेवाभावले ओतप्रोत, कर्तव्यप्रति जागरुक दुर्गा यी समस्याबाट अलिकति पनि नडमगाइ अगाडि बडिन् ।

उनी संघर्षशील र कर्तव्य निष्ठ र समाजसेवी शारीरिक रुपमा सानै कद भएपनि प्राकृतिक सुन्दरताले भरिपूर्ण छन् । उनै दुर्गाका संघर्षमय जीवनको सेरोफेरोमा रहेर नयाँ विकल्प साप्ताहिकका लागि कालिका महतले गरेको कुराकानीः

तपाईंको जन्ममा कहाँ र कहिले भएको हो ?
मेरो जन्म मोरङ जिल्लाको बयरवन गाविस वडा नं. ३ मा २०४८ साल कात्तिकमा भएको हो । ६ दिदी बहिनी र एक भाइमध्ये पाँचौं नम्बरकी हुँ म ।

पढाइको सुरुआत कहिले कहाँबाट भयो ?
मेरो पढाइ ४ वर्षको उमेरमा घरबाट नजिकै पर्ने विद्यालयबाट सुरु भएको हो । त्यहाँ कक्षा ४ सम्म अध्ययन गरेपछि दिदी सुमित्रासँग काठमाडौं आएँ । काठमाडौं आएर सिनामंगलस्थित तत्कालीन श्री गुह्यश्वरी माध्यमिक विद्यालयमा कक्षा ५ मा भर्ना भएँ । त्यहाँ मैले कक्षा ९ सम्म अध्ययन गरेँ । अनि थापाथलीको अल्फा एकेडेमीमा भर्ना भएँ । अल्फाबाटै २०६४ सालमा एसएलसी पास पनि गरेँ । सँगै सौन्दर्यकला सम्बन्धी सीपमुलक प्रशिक्षण पनि लिएँ ।

तपाईं सौन्दर्यकलातिर कसरी आकर्षित हुनुभयो ?
म सानैदेखि साथीहरुको तुलनामा थप आकर्षक बन्न रुचाउथेँ । ६÷७ वर्षको उमेरदेखि नै लवाइखुवाइ र सौन्दर्यमा विशेष ध्यान दिन्थे ।

घर बस्दा होस् या स्कुल जाँदा, बाहिरफेर कतै निस्कँदा नै किन नहोस् आफूलाई अरुको तुलनामा फरक देखाउन मन लाग्थ्यो ।

त्यसैले शरीर सुहाउँदो कपडा लगाउने मात्रै होइन, त्यही अनुसार मिल्दोजुल्दो श्रृंगार पनि गर्दथेँ । सधैं चिरिच्याट्ट परेर हिड्ने मेरो बाल्यकालदेखि कै सोख र चाहना हो ।

तपाईंको पहिरन देखेर साथीभाइहरु कत्तिको आकर्षित हुन्थ्ये ?
म सँधैं सफासुग्घर चिटिक्क परेर हिँडेको देखेर साथीभाइ, छरछिमेक, विद्यालय सबैतिर मेरो पहिरन अनि सौन्दर्यको चर्चा–प्रशंसा हुन्थ्यो ।

हुन पनि त्यतिबेलादेखि अहिलेसम्म म त्यो विशेषताबाट कतै डगमगाएकी छैन । बरु थप परिमार्जित र परिष्कृत भएकी छु ।

त्यसोभए तपाईं एसएलसी पास भएपछि सौन्दर्यकलातिर लाग्नुभयो ?
हो, म एसएलसी पास भएपछि सौन्दर्यकलाको क्षेत्रमा हात हालेँ । मैले मेकअप आर्ट सम्बन्धी तालिम पनि लिएँ । त्यससँगै उच्च शिक्षा अध्ययनको लागि ललितपुरको बालकुमारीस्थित माइलस्टोन कलेजमा भर्ना भएँ ।

त्योसँगै थापाथलीमा मेकअप आर्टको प्रशिक्षण पनि लिन थालेँ । त्यहाँबाट मलाई आफ्नो बाल्यकालदेखिको सपना साकार हुने र लक्ष्यमा पुगिने मार्ग पहिल्याएँ भन्ने महशुस हुन थाल्यो । त्यहाँ बेसिक, डिप्लोमा (एड्भान्स) र स्पेशल गरी एकवर्षे प्रशिक्षण लिएँ ।

यससँगै मैले थापाथलीमा नै कस्मेटिक पसल पनि चलाउन थालेँ । यसरी मेरो व्यवसायिक यात्रा शुरु भएको हो ।

सौन्दर्यकलामा ज्ञान हासिल गरिसकेपछि व्यवसाय सञ्चालनको लागि कुन ठाउँ रोज्नुभयो ?
मैले राजधानीबाट सौन्दर्यकलामा सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरिसकेपछि नेपालको पर्यटकीय नगरी पोखरालाई आफ्नो व्यवसायिक गन्तव्यको पहिलो निसाना बनाएँ ।

त्यहाँ मैले फेरि थप ६ महिना मेकअप सम्बन्धी प्रशिक्षण पनि लिएँ । त्यसपछि सभागृह चोकमा मेकअप स्टुडियो सञ्चालन गर्न थालेँ । त्यहाँ ४ वर्ष सञ्चालन गरेपछि पुनः काठमाडौं फर्किएँ ।

पोखराबाट किन काठमाडौं नै फर्किनुभयो त ?
पोखराभन्दा काठमाडौं फराकिलो पनि सबैतिरको केन्द्र पनि हो । पोखरामा भन्दा काठमाडौंमा ग्राहक पनि बढी हुन्छन् । मैले हासिल गरेको सौन्दर्यकलाको सैद्धातिक र व्यवहारिक ज्ञानलाई व्यवसायिक रुप दिन काठमाडौं अझ बढी उपयुक्त हुने ठानेर फर्किएकी हुँ ।

तपाईंको मेकअप स्टुडियो काठमाडौंको कुन ठाउँमा खोल्नुभएको छ ?
मैले मेकअप स्टुडियो, प्रफेक्ट मिडिया एकेडेमी नाम दिएर काठमाडौंको मैतिदेवीमा खोलेकी छु । त्यसैगरी मैले क्रमशः डिवाइटी, टिभी र कान्तिपुर मोडल एजेन्सी पनि सञ्चालनमा ल्याएँ, जुन अहिले निकै चर्चित छन् । त्यहीं भएर होला यसबाट मनग्य आम्दानी भइरहेको छ ।

सौन्दर्य क्षेत्रमा व्यवसायिक रुपले लागेको कति भयो ?
म यो क्षेत्रमा व्यवसायिक ढंगले लागेको १२÷१३ वर्ष भयो । यो अवधिमा मैले ५ सयभन्दा बढी प्रशिक्षार्थीहरु नै कमाइसकेकी छु ।

योसँगै मैले दर्जनौं वृत्तचित्र, म्युजिक भिडियो, टेलिचलचित्र तथा ठूलो पर्दाका चलचित्रमा समेत आफ्नो कला देखाइसकेकी छु । सौन्दर्य कला मेरो लागि भविष्यसम्मको यात्रा हो । यसैलाई व्यवसायिक रुपमा निरन्तरता दिन्छु ।

यसको अलावा अन्य काम पनि गर्नुभएको छ ?
सौन्दर्य कलासँगै म विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय सामाजिक संघसंस्थाहरुमा पनि आबद्ध छु । यस्तै सक्रियताले दर्जनौं उपाधिसहित विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित पनि भएकी छु । त्यतिमात्र हैन, मैले विभिन्न कार्यक्रममा जुरीको भूमिकासमेत निर्वाह गरेकी छु ।

समाजसेवाको काम पनि गर्नुभएको छ ?
आफ्नो व्यवसायको कमाइबाट मैले केही प्रतिशत रकम समाजसेवाका लागि खर्चिने गरेकी छु । ‘मैले पनि जिन्दगीमा धेरै संघर्ष गरेँ ।

अनाथलयका बृद्धबृद्धा, बालबालिका, गरिब, जेहेन्दारका लागि केही गरौं भन्ने भावना जाग्छ’ । हाम्रो सानो सहयोगले कसैको भविष्य बन्छ भने किन नगर्ने ? सबैले यसैगरी अलिअलि सहयोग गरे त धेरै भइहाल्छ नि ।

मलाई त आफूले लगाएको, खाएको भन्दा पनि सहयोग गर्न पाउँदा मन आनन्दित भएर आउँछ । त्यसैले आफ्नो कमाइको केही प्रतिशत सधैं समाजसेवामा छुट्ट्याउने गर्दछु ।

आफ्नो व्यवसाय र कमाइमा सन्तुष्ट हुनुहुन्छ ?
म मेरो सौन्दर्यकला (मेकअप आर्टिस्ट) बाट एकदमै सन्तुष्ट छु । यो पेशामा लागेर ठीक गरेँ भन्ने लाग्छ । मेरो जे–जति लगानी र सीप छ, त्यसबाट भएको आम्दीनले म सन्तुष्ट छु । यसबाट हुने कमाइ आफ्नो जीवन चलाएर केही प्रतिशत समाजसेवामा खर्चिन पनि पुगेको छ । त्यसैले म मेरो पेशा र आम्दानीमा सन्तुष्ट छुृ ।

शिक्षित बेरोजगार युवा÷युवतीलाई के भन्नुहुन्छ ?
उहाँहरुलाई म ‘अहिलेको युगमा ज्ञान हासिल गर्न पढाइ त अनिवार्य भइगयो । त्यसको अलावा व्यवसायिक र स्वरोजगार बन्न आफ्नो इच्छाअनुसार सीपमूलक तालिम लिनुहोस’् भन्न रुचाउँछु ।

हामीमा शिक्षासँगै व्यवसायिक सीपमूलक तालिम भयो भने कुनै ठाउँमा पनि बेरोजगार हुनुपर्दैन । सीपले हामीमा आत्म बल बढ्छ । जसले आत्मनिर्भर बनाउन मद्दत गर्दछ ।

सम्बन्धित समाचार

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७७ श्रावण १२, १४: २४

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...

अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
  • २०७७ श्रावण १२, १४: २४

१. सबैतिर एउटै प्रश्न—अब नेपाली कांग्रेसको भविष्य के हुने हो ? नेपाली कांग्रेसको विशेष अधिवेशन भएको पनि करिब ८ महिना...

मुलुक, संविधान र लोकतन्त्रका लागि कांग्रेसमा एकता
मुलुक, संविधान र लोकतन्त्रका लागि कांग्रेसमा एकता
  • २०७७ श्रावण १२, १४: २४

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो र लोकतन्त्रको पर्यायबाची पार्टी नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । कांग्रेसको इतिहास...