भारतको स्वतन्त्रता दिवस प्रधानमन्त्रीहरुका बिचको वार्ता र भावी दिनहरु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भारतको स्वतन्त्रता दिवस प्रधानमन्त्रीहरुका बिचको वार्ता र भावी दिनहरु

१.नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बिचमा १५ अगस्ट २०२०का दिन टेलिफोन वार्ता भएछ । १५ अगस्ट भारतको स्वतन्त्रता दिवस हो । अंग्रेजहरुले भारतलाई आजाद गराउन पाकिस्तान नामको अर्को देशको स्थापना १४ अगस्टमा गरेर मात्र भोलिपल्ट अर्थात् १५ अगस्ट १९४७का दिन भारत स्वतन्त्र भएको घोषणा गरे । त्यही दिनलाई भारतले सगर्व आफ्नो स्वतन्त्रताको दिन मान्दै आएको छ र यो ७४औँ दिवस हो ।

२. एउटा छिमेकीले अर्को छिमेकीलाई, एउटा मित्र राष्ट्रले अर्को मित्र राष्ट्रलाई उसको खुसीमा आफू खुसी भएको भनेर वधाइ दिने चलन विश्वभर प्रचलित छ । दुःखी हुँदा समवेदना दिने चलन पनि उत्तिकै चलनमा छ । त्यहीक्रममा भारतको स्वतन्त्रता दिवसको दिन पारेर हाम्रा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई शुभकामना दिएको समाचार अहिले चर्चामा छ ।

संभवतः राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आफ्ना समकक्षी भारतका महामहिम राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना पठाएको हुनुपर्छ किनभने त्यो सामान्य कूटनीतिक चलन हो । पक्कै पनि यो अवसरमा चीनले पनि भारतलाई शुभकामना दिएको होला जवकि भर्खरै गलवान उपत्यकामा विवाद भएर भारतीय सैनिकहरु मारिने गरी झडप नै भएको थियो ।

अर्थात् यो एकअर्का देशको स्वतन्त्रता दिवस, गणतन्त्र दिवस, राष्ट्रिय दिवस या त्यो राष्ट्रले मनाउने ऐतिहासिक दिवसमा शुभकामना, वधाइ दिने चलन पुरानै हो, यसपटक हाम्रा प्रधानमन्त्री ओलीले पनि भारतीय समकक्षीलाई दिनुभएको छ ।

३. आवश्यकता भन्दा बढी चर्चा हुनुमा भारत र नेपालका बिचमा हालका दिनमा देखिएको चिसोपनाले गर्दा भएको हुनुपर्छ । पोहोर नोभेम्बरमा भारतले आफ्नो देशको नयाँ नक्सा प्रकाशित गर्दा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरासमेत आफ्नो भूभागमा पारेको थियो र नेपालले भारतसँग दोहोरो कुरा गर्न चाहँदा कुनै प्रतिक्रिया नदिई उल्टै त्यही अनावश्यकरुपमा विवादित बनाएको नेपाली भूमिमा सडक बनाएर चीनको तिब्बतमा पर्ने मान सरोवर जाने बाटो बनाएपछि नेपाल र भारतका बिचमा कुनै पनि प्रकारको संवाद हुन सकेको थिएन ।

यसमा नेपालको कूटनीतिक क्षमतामा प्रश्न उठाउन सकिन्छ र पनि भारत नेपालको सम्वन्धका वारेमा विभिन्न आयामको परिचर्चा हुने गरेको छ । अहिले नेपाल र भारतका बिचमा परराष्ट्र मन्त्रालयस्तरमा वार्ता हुने क्रममा छ ।

कोभिड—१९को महामारीपछि वार्ता गर्ने भनेर भारतले उच्चस्तरमा वा सीमाका सम्बन्धमा गठित संयन्त्रमा समेत वार्ता हुन नसकेको बेलामा प्रधानमन्त्रीहरुका बिचमा भएको संक्षिप्त कुराकानीले पनि महत्व पाएको होला ।

४.सामान्य कूटनीतिक पहलभन्दा पनि शुभकामनाको विषय हो तर नेपालले परराष्ट्र मन्त्रालयको विज्ञप्ति दिने गरी त्यसलाई महत्व दिएको पाइयो । कुरा खासै केही भएको पाइएन तर केही महिनादेखि हुँदै नभएको संवाद प्रक्रियाले निरन्तरता दिने भयो भन्ने आशाको कुरा पनि यो हुनसक्छ ।

५. सुगौली सन्धिका वारेमा भारतलाई नेपालले धेरै सम्झाएको छ र वार्ता यसकारणले आवश्यक परेको हो कि भारत र नेपालमा ती भूभागहरु देखाइएका छन् । त्यसो त हालै पाकिस्तानले पनि कास्मिर र गुजरातको जुनागढसम्मको भूभागलाई आफ्नो देशको नक्सामा राखेको रहेछ । त्यसलाई भारतले तत्काल खारेज गरेको छ जस्तो कि नेपालले पनि पोहोर भारतको नक्सा आउने बित्तिकै खारेज गरेको थियो । भारत र पाकिस्तानको स्थितिभन्दा नेपाल र भारतको स्थिति एकदम फरक छ ।

भारत अंग्रेजको उपनिवेशमा हुँदा स्वतन्त्र नेपालले जितेको भूमि भारतलाई फिर्ता गरेको थियो । कतिपय नेपाली भूमि भारतमा राखेर भारतले तत्कालीन अवस्थामा नेपाललाई गाह्रो साँघुरो पारेर सुगौली सन्धि गरेको थियो । इतिहास साक्षी छ र कागजातहरुले त्यही बोलेका छन् ।

तर पाकिस्तान त भारतबाट टुक्राइएको भूमि हो र अझै भारत र पाकिस्तानका बिचमा अंशवण्डाका कुरा बाँकी देखिन्छन् । बाँड्ने अंग्रेज भोलिपल्टै गयो, तर टुक्रा परेका देशहरु पछि झन बाङ्लादेशका रुपमा विभाजित भएर अहिले ३ ओटा देश बनेका छन् । वास्तवमा भारत, पाकिस्तान र बाङ्लादेशका बिचमा सीमा रेखाङ्कन हुन अझै बाँकी देखिन्छ ।

यही माहोलमा भारतका प्रधानमन्त्रीसँग नेपालका प्रधानमन्त्रीले शुभकामना कूटनीतिमार्फत् वार्ताको ढोका खोलेको भनेर चर्चा बढी भएको होला ।

६.कूटनीति भनेको नै भित्र भित्रै कुरा हुने हो तर परिणाम भने देखिनु पर्छ बाहिर नै । नेपालले यो बिचमा भारतसँग भित्र भित्रै कति कुरा गरेको छ , बाहिर आएको छैन तर इपीजी प्रतिवेदन भारतले बुझेको छैन, त्यो दृश्यमा छ । त्यसमा काम गर्नेहरु भारत र नेपालमा पुरस्कृत गरिएका छन् जस्तो कि नीलाम्बर आचार्य भारतका लागि नेपाली राजदूत हुनु भएको छ, डाक्टर राजन भट्टराई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार हुनु भएको छ भने भारतमा पनि कोसियारीजी राज्यपालमा नियुुक्ति पाएर काम गरिरहनु भएको छ । अर्थात् प्रतिवेदन अन्यौलपूर्ण अवस्थामा छ तर पात्रहरु पुरस्कृत भएका छन् ।

७. नेपालले गरेको गल्ती भनेको आफ्नो भूमिको रखवारी गर्न नसकेको हो । विभिन्न कारणले त्यस्तो भयो होला इतिहासकालमा, तर त्यो भूमि नेपालको हो । नेपालले जव आफ्ना कमी कमजोरी सच्च्याउनका लागि भारतसँग अनुरोध गरेको छ, यो बेलामा भारतले नेपालको भूमि फिर्ता गरेन भने भारतले अन्तर्राष्ट्रियस्तरमा जबाफ दिनुपर्ने हुन्छ । अब भारत संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा अस्थायी सदस्य पनि भएको छ । त्यो कुरा भोलि त्यहाँ पनि उठ्न सक्छ । नेपालको बेवास्ता भएकै हो आफ्नो भूमिमा । तर त्यसको ।

ऐतिहासिक कारण के पनि हुन सक्छ भने चीनसँगको पराजयपश्चात् भारतले त्यहाँ केही समयका लागि बस्न ठाउँ मागेको हुनसक्छ । या त्यो हिमालीभेगमा भारतले बसेको कुरालाई नेपालले ध्यान नदिएको हुनसक्छ । जब जग्गावालाले आफ्नो भोगचलनको जग्गा खोज्छ, पक्कै नै नाप नक्सा, पुराना कागजात खोज्छ नै । जब नेपालले सन् २०१५मा चीन र भारतसँग आफ्नो भूमिको वारेमा लेख्यो, त्यसपछि यसको चर्चा भएको हो । नेपालको हेलचेक्र्याइँ भन्दा भारतले गरेको व्यवहारले नेपालको चित्त दुख्यो ।

८. भारतको स्वतन्त्रता दिवसमा सुरु भएको अनौपचारिक वार्ताले गति लिनुपर्छ । भारतले आफ्ना छिमेकीहरुलाई विश्वासमा लिनुपर्छ । नेपालले पनि आफ्ना सीमालाई नियमन तत्काल गर्नुपर्छ ।

९. र अन्त्यमा, नेपाल र भारतको सम्बन्धलाई चिरस्मरणीय बनाउन दुवै देशको प्रयास जरुरी छ । धरातलीय सम्बन्धका वारेमा दुई देशले गम्भीरताका साथ सोच्नैपर्छ । खासगरी तीनतिरबाट भारतले घेरिएको नेपालले भारतसँगको खुला सीमानालाई पनि अब कसरी नियमन गर्ने हो भन्ने सोच्नु जरुरी छ, भारतले पनि नेपालको खुला सीमानाको दुरुपयोग गरी भारत विरोधीहरुले गर्नसक्ने नराम्रा कामको अनुमान गरी सीमा नियमनमा सहयोग गर्नु जरुरी भएको छ ।

नेपाल र भारतका बिचका सम्बन्धले कहिल्यै चिसोपन अब नल्याओस् र पौराणिक कालदेखिको इतिहासलाई जीवन्त बनाउने काम पनि अहिलेका हाम्रै हो भन्ने पनि दुवै देशले नबिर्सौँ ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०७७ भाद्र १, १५: २१

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०७७ भाद्र १, १५: २१

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७७ भाद्र १, १५: २१

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...