
१. बहुलवादभित्रको बहुदलीय व्यवस्थामा दल भनेको विचारको आधारमा सङ्गठित संस्था हो । विचारको बन्धन पारिवारिक नाताभन्दा पनि कसिलो हुनेरहेछ भन्ने उदाहरण एउटै परिवारभित्र पनि विभिन्न दलमा विभाजित परिवारका सदस्यहरु प्रशस्त पाइन्छन् ।
विचार भनेको आफैँले आफूलाई एउटा मनोवैज्ञानिक बन्धनका राख्ने नैतिक बल हो जसले व्यक्ति, परिवार, समाज, क्षेत्र, प्रदेश, राज्य र विश्वका वारेमा एउटा जीवन बाँच्ने कलाको ज्ञान दिन्छ र ब्रह्माण्डका बारेमा समेत अनेक प्रश्नका उत्तरहरु समेटेर आफैँलाई दीक्षित गराउँछ ।
मानिसहरु विचारप्रति यत्ति अडिग हुन्छन् कि विचारका विरुद्धमा लाग्नुभन्दा बरु ज्यान दिन तयार हुन्छन् । हामीले त्यस्तो व्यक्तिहरुलाई सहिद भन्छौँ र विचारप्रति अडिग रहनेहरुको जीवनगाथालाई विचारको आधार मानेर आफैँलाई त्यस बाटोमा हिँडाउने प्रण गरेका हुन्छौँ ।
२. नेपालमा भएका र कार्यरत दलहरुमध्ये सङ्गठित पहिलो दल नेपाल प्रजापरिषद थियो जसले नेपालमा जहानियाँ राणा शासनका विरुद्ध चेतनाको बिगुल फुक्यो र व्यक्तिगत स्वतन्त्रतालाई मूल आधार मानेर र अन्तरआत्माको पुकार सुनेर मुलुकका लागि सङ्गठित हुने प्रेरणा नेपालीमात्रलाई दिएको थियो, त्यस दलमा लागेर महान सपुतहरुले आफूलाई सहादत दिए जसलाई आज पनि हामी वीर सहिदका नामले पुकार्छौँ ।
त्यसको विकसित स्वरुपको रुपमा र अझ बढी उन्नत राष्ट्रवादी अनि विश्वव्यापी प्रजातान्त्रिक सिद्धान्तलाई अङ्गीकार गरी गठन भएको नेपाली काङग्रेस अझै उत्तिकै क्रियाशील र सक्रियताका साथ नेपाली प्रजातन्त्रको सुरक्षा, प्रबद्र्धन र त्यसमार्फत् मुलुकको अनुहार परिवर्तन गरी एक्काइसौँ शदीको उन्नत नेपाल बनाउन कम्मर कसैकै छ र यो बेलामा मुलुकको संक्रमणकाललाई स्थिरतातर्फ लैजान परिश्रमरत देखिन्छ ।
३. कुनै पनि प्रजातान्त्रिक संस्थाको पहिलो कर्तव्य हुनेरहेछ, अरुलाई उपदेश दिनुभन्दा आफैँमा प्रजातन्त्रका आवश्यक गुणहरुको बारम्बार प्रयोग गरेर देखाउने र आफूले अरुलाई त्यो प्रक्रियामार्फत् परिणामको अपेक्षा गर्ने ।
त्यसको क्रम अहिले ढिलै भए पनि नेपाली काङ्ग्रेस बीपी विचारका आधारमा सङ्गठित पनि छ र वैश्विक मान्यताअनुसारको प्रजातन्त्रप्रति प्रतिबद्ध भएर लागैकै छ भन्नु अत्युक्ति छैन तर पनि आन्तरिक प्रजातन्त्रलाई बेलैमा सुदृढ गर्न नसक्दा र नेतृत्वले दूरदृष्टिका साथ आफूलाई परिणाममुखी बनाउन नसक्दा केही अलमल भएकै छ र त्यसलाई सुधार गर्दै लाने क्रममा अहिले तयो दल देखिन्छ ।
४. आफैँले आफैँलाई अनुशासनमा राख्न नसकेर नेपाली काङ्ग्रेसको आन्तरिक प्रजातन्त्रको जगको रुपमा रहेको जनस्तरदेखि नै प्रतिनिधि चयन गर्ने प्रक्रिया भर्खर सुरु भएको छ जबकि यो प्रक्रिया सामान्य प्रजातान्त्रिक प्रक्रियाअनुसार पनि २०७६साल पुसतिर नै समाप्त भइसक्नु पथ्र्यो । एउटा साधारण कुरा हो, नेपाली काङ्ग्रेसका लागि गर्नैपर्ने काम थियो बेलैमा, त्यो पनि आफ्नै क्रियाशील सदस्यहरुमार्फत् गाउँदेखि केन्द्रसम्मको आन्तरिक निर्वाचन ।
यसमा न त नेपाली काङ्ग्रेसले अपनाएको वैचारिक धरातलमा खोट छ, न त यो दलको कुनै औचित्यमाथि नै प्रश्न उठाउने ठाउँ छ । ढिलै भए पनि प्रजातान्त्रिक सिद्धान्तअनुसार जनताको आवाज कसरी मुखरित गर्न सकिन्छ साङ्गठनिक प्रक्रिया र त्यो सङ्गठनमार्फत् मुलुकको आवाजलाई कसरी पूरा गर्न सकिन्छ भन्ने अपेक्षासहित साङ्गठनिक प्रक्रिया पूरा हुने आशा गर्न सकिन्छ ।
५. ढिलो भएकै हो । समय घर्केकै हो, यसमा केन्द्रीय नेतृत्वलाई दोष दिनैपर्छ तर ढिलै भएपनि सुरु भएको आन्तरिक प्रजातन्त्रको रफ्तार भने कुनै पनि हालतमा रोकिनु हुँदैन । यसैपनि ढिलो भयो जसले गर्दा कतिपय कुरामा अब कसरी सहजीकरण गर्ने भन्ने अप्ठेराहरु देखिएका छन्, जस्तो कि कुनै पनि बेला आम निर्वाचनको घोषणा हुनसक्छ, आगामी फागुनमा नियमित स्थानीय सरकारहरुको निर्वाचन संविधानअनुसार गर्नैपर्छ, आम निर्वाचनसँगै प्रादेशिक सभाको पनि निर्वाचन गर्नैपर्ने छ ।
यदि बेलैमा आन्तरिक निर्वाचन गरेर केन्द्रीय अधिवेशन गर्दै नेतृत्व चयन गरेको भए संविधानले नेपाली काङ्ग्रेस नचिन्ने समस्या आउने थिएन । हुन त कोरोना कहरले पनि समस्या आएकै हो, करिब डेढ वर्षजत्ति समय शून्य समयमा परिणत भएकै हो तर नियमित कार्यका लागि बेलैमा गरेको भए कोरोना कहरभन्दा पहिले नै सम्पूर्ण आन्तरिक प्रजातन्त्रका परिणामहरु प्राप्त भएका हुन्थे र आज हतारहतारमा क्रियाशील सदस्यता विवादको समाधान, सम्पूर्ण निर्वाचनको तयारी र प्रक्रियालाई अगाडि बढाउने हतार हुने थिएन ।
यो अब अतीत भयो र इतिहासमा बिर्सन लायक कुरा भयो भनेर वर्तमानमा त्यसलाई तत्काल आपसमा सहमति र सहकार्य गरी तोकिएको समयमा नै महाधिवेशन गर्ने र आफ्नो सङ्गठन तयारीका साथ रहने काम हुनुपर्छ ।
६. आन्तरिक प्रजातन्त्रमा सबैभन्दा सुन्दर पक्ष हो, हार जित भनेको आन्तरिक कुरा हो । जसले जिते पनि र हारे पनि त्यो त सङ्गठनको एउटा अभिन्न अङ्ग हो । आफ्नो संस्था बलियो बनाउन आपसमा प्रतिस्पर्धा पनि हुनसक्छ र अहिलेको जस्तो संक्रमणकालमा आपसमा सहमति र सहकार्य गरेर छिटो छिटो समस्याको समाधान गर्न पनि सकिन्छ । जस्तो कि अहिलेसम्म प्राप्त आन्तरिक प्रजातन्त्रको परिणामलाई केलाउँदा सहमतिको सन्दर्भले राम्रो परिणाम दिएको देखिन्छ ।
जहाँ एउटा भन्दा बढीको चाहना हुन्छ, त्यहाँ नै निर्वाचन हुने हो र अधिकारप्राप्त मतदाताले गोप्य मतद्वारा आफ्नो मत व्यक्त गरेर समाधान दिने हो । यसैलाई खुला समाज र बहुलवादको नमुना मानिएको होला । यो समीक्षा तयारगर्दासम्म ७७ जिल्लामध्ये ५४ जिल्लामा पालिका स्तरको निर्वाचन सम्पन्न हुँदैछन् भने ओडास्तरको निर्वाचनचाहिँ ६४ जिल्लामा सम्पन्न भएका छन् ।
अधिकांश जिल्लामा निर्विरोध निर्वाचन भएको र नेपाली काङ्ग्रेसलाई पर्नसक्ने संवैधानिक खतरालाई छिटै समाधान गर्ने आशयका साथ अगाडि बढेको पाइन्छ । यसोहुँदा के मनोविज्ञानले पनि काम गरेको होला भने दलमा भित्रिएका गलत तत्वहरुलाई पाखा लगाउन पनि भएका पुराना प्रजातन्त्रवादीहरुको एकजुट हुनु आवश्यक ठानेका होलान् ।
७. कुनै पनि दलमा कहिलेकाहिँ आफ्नालाई तह लगाउन बाहिरियाको सहयोग लिएको पनि पाइन्छ तर भूइँमा सक्रियताका साथ काङ्ग्रेस बचाउन लागेका कार्यकर्ताहरुमा यदि त्यो अन्तर्चेतना आएको हो भने पक्कै महाधिवेशनमा आउने नेतृत्व दूरदृष्टिको हुनेछ र आम कार्यकर्ताको चाहना व्यक्त गर्नसक्ने नेतृत्वले बीपी, गणेशमानजी, किसुनजी, सुवर्णजी, गिरिजाबाबु र सुशील कोइरालाले नेतृत्व गरेको दलको स्वाभिमान बाँकी रहनेछ ।
देखियो नि, नेपाली काङ्ग्रेस कमजोर भएको बेलामा प्रजातन्त्रको कसरी हुर्मत लिइँदो रहेछ ? दुई तिहाईको वामपन्थी सरकार कसरी आफ्नो कारणले बालुवाको घरझैँ गल्र्याम्गुर्लुम् ढल्यो ? त्यो पनि आगामी दिनमा नेपाली काङ्ग्रेसले सम्झनु पर्ने होला । अहिलेको संक्रमणकालमा देखिने एकता र सैद्धान्तिक प्रतिबद्धताले नै नेपाली काङ्ग्रेसको आगामी दिनको परिणामप्रति कति अपेक्षा गर्ने भन्ने निक्र्यौल हुनेछ ।
८. को सभापति हुने या को महासचिव हुने भन्ने कुरा अत्यन्त गौण हो र पनि त्यसले आगामी दिनको संस्थाको अवस्थालाई अहिले नै देखाउने छ । आपसमा सहमति र सद्भाव राखेर अगाडि नबढे के हुन्छ भन्ने कुराको प्रमाण आफैँ नेपाली काङ्ग्रेस हो र हालैका राजनीतिक घटनाहरुले देखाएकै छन् । अरुको क्रियाकलापबाट पाठ सिक्ने हो तर गाली गलौज गर्ने होइन ।
नेपाली काङ्ग्रेसको भागमा त्यस्तो अशिष्टता पनि हुनुहुँदैन । पहिले काङ्ग्रेसमा फुट हुँदा पनि त्यस्तो गाली गलौज भएको सुनिएन जस्तो कि अहिले भर्खरै विभाजित भएको एमालेका पूर्व प्रधानमन्त्रीहरु आफ्नो हैसियत बिर्सिएर एकअर्कालाई गाली गरिरहेका पाइन्छन् । दलहरु निर्माण र विनिर्माण प्राकृतिक कुरा हो जस्तो लाग्छ जसले समयको गतिलाई देखाउँछ ।
विचारको प्रधानता हुने हो मानिसलाई डो¥याउन अनि जहाँ उसलाई आफ्नो विचारको प्रतिनिधित्व भएको जस्तो लाग्दैन, उसले आफ्नो विचारअनुसारको सङ्गठन खोल्ने र त्यस्तै अर्को संस्थामा विलीन हुने अधिकार हुन्छ, त्यसैलाई अभिव्यक्ति स्वतन्त्रता र मानवीय स्वतन्त्रता भनेर मौलिक हकमा व्यवस्था गरिएको हुन्छ ।
९. र अन्त्यमा, आम प्रजातन्त्रवादीहरु र प्रजातन्त्रप्रति आस्था हुने गैर काङ्ग्रेससमेतको अपेक्षा नेपाली काङ्ग्रेसको सुदृढ अवस्थामा मात्र नेपाली प्रजातन्त्रको अवस्था सुरक्षित छ भन्ने लागेको पाइन्छ ।
यदि कार्यकर्ताहरुलाई लागेको छ कि यीचाहिँ काङ्ग्रेस मास्न लागेका छन्, तिनलाई आन्तरिक निर्वाचनमा नै माथि नपठाउने अनि माथि नै गजधम्म परेर बसेका छन् या बसाइएका छन् भने तिनलाई हराउन भनेर वाचा गराएरमात्र महाधिवेशन प्रतिनिधि बनाउने जिम्मा त ओडा, जिल्लाका, प्रदेश तथा संघीय प्रतिनिधिहरुकै हो नि त ।
संस्था बचाउनु छ भने कम्मर कसेर लाग्ने बेला यही हो, पछि त पश्चातापमात्र हातमा आउने छ र अर्को पाँचवर्ष भनेको त कता हो कता ? कृपया अन्तरात्माको आवाज सुनेर संस्था जोगाउनु छ भने आपसमा यसप्रकारले समन्वय गर्नुस् कि तोकिएका विचारहरुको र पारित प्रस्तावहरु मात्र गहनाका रुपमा केन्द्रीय अधिवेशनको माइन्युट बुकमा मात्र सजिएर नबसून् ।
१. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...
१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...