दुई अधिकारीको निधनः नेपालको प्रजातान्त्रिक प्रक्रियामा ठूलो क्षति – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

दुई अधिकारीको निधनः नेपालको प्रजातान्त्रिक प्रक्रियामा ठूलो क्षति

हरिविनोद अधिकारी

१. दुई हजार पचहत्तर साल फागुन अठार गते साँझ नेपाली वाम आन्दोलनलाई प्रजातान्त्रिक आन्दोलनसँग जोड्ने कडीका रुपमा कार्यरत तथा प्रजातान्त्रिक प्रक्रियाद्वारा मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ भनेर अनवरत लागिरहने परिपक्व राजनीतिज्ञ भरतमोहन अधिकारीको देहावसान भयो ।

यो नेपालको संक्रमणकालीन अवस्थाको तरल राजनीतिमा एकजना परिपक्व तर प्रजातन्त्रप्रति आस्था राख्ने कम्युनिस्ट नेताको असामयिक निधन धेरै ठूलो राजनीतिक क्षति हो । यसकारणले असामयिक कि उहाँ केही समय अघिसम्म राजनीतिमा सक्रिय हुनुहुन्थ्यो तर उहाँकै दल नेकपाले उहाँलाई कुनै भूमिका नदिएको गुनासो बारम्बार उहाँले लगाउनु भएको थियो । वाम राजनीतिक वृत्तमा उहाँलाई खासै वास्ता गरिएको पाइएको थिएन ।

२. अर्थशास्त्रीको रुपमा त्यत्रो चर्चा नभएको बेलामा उहाँ एकाउन्न सालमा नेकपा एमालेको अल्पमतको मनमोहन अधिकारीको सरकारमा अर्थमन्त्री हुनुभएको थियो । अरुभन्दा पनि सामाजिक न्यायको पक्षमा उभिँदै उहाँले ज्येष्ठ नागरिकलाई वृद्ध भत्ताको जुन व्यवस्था गर्नुभएको थियो, त्यो अनवरतरुपमा अहिले प्रत्येक महिना दुई हजार रुपैञाको पेन्सनजस्तै भएर वृद्धहरुको स्थायी आम्दानी भएको छ ।

शेर बहादुर देउबाले उमेरका हकमा सत्तरीबाट पैँसट्ठी वर्ष पु¥याएकोमा त्यसलाई कार्यान्वयन हुनै नदिई सत्तरी नै कायम गरिएको जो छ र पनि वृद्ध भत्ताको सुरुवात गर्ने अर्थमन्त्रीको रुपमा अधिकारी स्मरणीय हुनुहुनेछ । सत्चालिस सालको संविधान निर्माणमा वाममोर्चाबाट सक्रियरुपमा सहभागी हुनु भएकोले पनि उहाँको राजनीतिक उँचाइ बढेको थियो । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर कान्छा भाइ भएकाले उहाँ मनमोहनजीसँगै नेकपा माक्र्सवादीमा हुनुहुन्थ्यो र पुिन राजनीतिभन्दा अलिपर रहेर उहाँ प्रसिद्ध वकिलको रुपमा परिचित हुुनुहुन्थ्यो र माक्र्सवादीहरु एमालेमा समाहित भएकाले उहाँको राजनीतिले फड्को मारेर पछिल्तिर फर्कनु परेको थिएन । मध्यमार्गी नेताको हैसियतले उहाँ समन्वय र समझदारीमा विश्वास गर्नुहुन्थ्यो ।

३. राजनीतिक वृत्तमा राष्ट्रिय सभाको अध्यक्षको अपेक्षा गरिएका अधिकारीलाई कुनै राजनीतिक भूमिका नदिइएकोमा सञ्चार माध्यमहरुमा उहाँका धारणा स्वतन्त्ररुपमा आइरहेको पाइन्थ्यो । राजनीतिक निर्वासनमा रहनु भएका कृष्णप्रसाद कोइरालाको परिवारसँग रामचन्द्र अधिकारीको परिवार पनि सँगै एउटै परिवारमा पारिवारिक नाताका कारणले पनि एउटै परिवारमा एउटै छानामन्तिर निर्वासनमा बसेकोले मातृका बाबु, वीपी, तारिणी बाबु, कोसुबाबु, गिरिजा बाबुहरुको राजनीतिक सँस्कारसँग मनमोहनजी र भरतमोहनजी समेत हुर्किनु भएको थियो ।

त्यो राजनीतिक सँस्कारले दुवै दाजुभाइ मनमानेहनजी र भरतमोहनजी राजनीतिक उच्च पदमा रहनुभयो । कोइराला परिवार काँग्रेसको राजनीतिबाट देशको उच्च पदमा पुग्नुभयो भने अधिकारी बन्धुहरु कम्युनिस्ट आन्दोलनका तर्फबाट मुलुकको उच्चपदमा पुग्नु भयो । जीवनको त्रियासी वर्षको उमेरमा पनि सक्रिय राजनीतिमा रहँदै फागुन अठार गते साँझ यस संसारबाट विदा लिनु भयो । सादगी र सच्चा नेताको रुपमा उहाँले आफूलाई नेपाली राजनीतिमा प्रस्तुत गर्नुभयो र प्रजातन्त्रले मात्र मुलुकको विकास सम्भव छ भन्ने सन्देशलाई कार्यान्वयन गर्दै रहनु भयो ।

एउटा नेपाली समाजलाई सहज तरिकाले रुपान्तरण गर्दै लैजानु पर्छ भन्ने महान राजनीतिज्ञको देहावसानमा उहाँप्रति श्रद्धासुमन । उहाँका परिवारलाई यो असह्य वेदना सहने शक्ति भगवानले दिऊन् । उहाँको जन्म उन्नाइस सय त्रियान्नब्बे साल बैसाख वाइस गते महोत्तरीमा भएको थियो र मृत्यु काठमाडौँको ह्याम्स अस्पतालमा उपचारकै क्रममा भएको हो ।

४. यसैगरी अघिल्लो हप्ता अर्थात् फागुन पन्ध्रगते नेकपाकै युवा नेता तथा पर्यटन, सँस्कृति तथा नागरिक उड्डयन मन्त्रीका रुपमा बहालवाला मन्त्री भएकै समयमा रवीन्द्रप्रसाद अधिकारीको देहावसान भयो हेलिकप्टर दुर्घटनामा । तेह्रथुमको आठराईमा पर्ने चुहान डाँडामा हवाइ मैदानको पुनर्निर्माणका लागि नयाँ सम्भाव्यता पत्ता लगाउन भनेर जानुभएका रवीन्द्र अधिकारी सँगै सम्भाव्यता अध्ययनका लागि सरकारी समूह पनि लिएर जानु भएको थियो । एयर डाइनेस्टीको हेलिकप्टरमा जानुभएका मन्त्री अधिकारीसँगै नागरिक उड्डयन प्राधिकरण उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, इन्जिनियर ध्रुव भोछिभोय, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका निजी रक्षक अर्जुन घिमिरे तथा पाइलट क्याप्टेन प्रभाकर केसी सबैको सोही दुर्घटनामा मृत्यु भयो ।

५. मन्त्री अधिकारीलाई मन्त्रीका रुपमा मात्र हेरिएको थिएन । साँँच्चै उहाँ मुलुकमा एउटा आशालाग्दा युवा नेता हुनुहुन्थ्यो । यसअघिको सँसदमा विकास समितिको सभापति हुँदा देखाएको राजनीतिक सुझबुझ र निष्पक्ष छानबिनका तरिकाले उहाँलाई उदीयमान नेताको रुपमा लिइएको थियो । अहिले मन्त्री हुँदा खासगरी हवाइ मैदानहरुको मरम्मत, पुनस्र्थापना र पुराना हवाइ मैदानहरुको कसरी सदुपयोग गरी जनतालाई हवाइ यातायातको नयाँ पहुँचको व्यवस्था गर्न सकिन्छ भन्नेमा लागेकोले पनि भावी दिनमा उहाँबाट हुने कामको आँकलन गर्न थालिएको थियो । सामान्य परिवारबाट संघर्ष गर्दै आजको अवस्थामा सम्म आउँदा जुन लोकप्रियता देखियो, त्यसले पनि नेपालको राजनीतिमा ठूलो क्षति भएको मान्नुपर्ने हुन्छ । सायद यसैलाई अपूरणीय क्षति भनिन्छ ।

६. गएको चुहान डाँडा , सम्भाव्यता अध्ययनको काम पनि सुरु भएको अनि सिधै काठमाडौँ नफर्किएर पाथीभरा माइको दर्शनका लागि उतैबाट गएको अनि फर्कँदा हेलिकप्टरले उडान सुरु गर्ने बित्तिकै दुर्घटनामा परेकोले हवाइ यातायातको क्षेत्रमा धेरै प्रश्नहरु उठेका छन् । खासगरी हेलिकप्टरको भारवहन क्षमता र उँचाइका बीचमा तादात्म्यताका वारेमा प्रश्न उठेका छन् । ठूलो क्षति त भई नै सक्यो । अवका दिनमा त्यस्तो क्षति नहोस् भन्ने वारेमा कसरी सुरक्षा प्रवन्ध गर्न सकिन्छ भन्ने उत्तर चाहिएको छ । छानबिन समिति गठन भएको छ र त्यसले दिने प्रतिवेदनबाट पनि अरु कुनै कारण भए बाहिर आउला ।

७. यो दुःखद क्षणमा स्वर्गीय अधिकारीप्रति श्रद्धासुमन तथा दुःखी माता पिता, पत्नी विद्या , छोराहरु स्वराज , विराज तथा परिवारका सबै सदस्यहरुमा यो असह्य वेदना सहन सक्ने क्षमता भगवानले प्रदान गरुन् ।

८. स्वर्गीय अधिकारीको जन्म दुई हजार छब्बिस साल वैसाख बाइस गते कास्कीमा भएको थियो ।

९, र अन्त्यमा एउटा नियमित आकस्मिकताचाहिँ के देखियो भने वृद्ध अधिकारी र युवा अधिकारी दुवैको जन्म दिन वैसाख बाइस गते नै परेको रहेछ । नेपालको समसामयिक राजनीतिले भरतमोहनजीको रुपमा एउटा परिपक्व प्रजातान्त्रिक नेता गुमायो भने अर्को रबीन्द्र अधिकारीको रुपमा जुझारु केही गरौँ भन्ने प्रजातान्त्रिक युवा नेता गुमाएको छ । हुन त दुवै नेकपाका नेताहरु भए पनि ती नेताहरु सबैका साझा नेताका रुपमा समाजमा सम्मानित थिए । दुवैमा श्रद्धासुमन ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ फाल्गुन २०, ०९: ११

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ फाल्गुन २०, ०९: ११

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७५ फाल्गुन २०, ०९: ११

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...