राजनीतिक नैराश्यतालाई कसरी व्यवस्थापन गर्ने होला ? – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

राजनीतिक नैराश्यतालाई कसरी व्यवस्थापन गर्ने होला ?

हरिविनोद अधिकारी

१.मुलुक नयाँ अवस्थाबाट गुज्रिरहेको देखिन्छ ।

२.राजनीतिको एउटा नयाँ समीकरणको सुरुवात भएको छ नेकपाको सरकार र राजपाका बीचमा चुनाबी तालमेलको समीकरण तयार भएर ।

हुन त यो समीकरण पहिले नै धनुषाको निर्वाचन क्षेत्रमा जहाँ विमलेन्द्र निधि र राजेन्द्र महतोका बीचमा प्रतिस्पर्धा हुँदै थियो, त्यहीबेलामा महतोलाई जिताउनका लागि आन्तरिकरुपमा सहमति भएको थियो भन्ने चर्चालाई तत्कालीन अवस्थामा नेकपाको सरकारको पक्षमा मतदान गर्दा र अहिलेको समीकरणले पुष्टि गरेको छ ।

राजनीतिमा यस्तो समीकरण सामान्यतः समान विचारका दलहरुका बीचमा हुने गरेको हुन्छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा झट्ट हेर्दा नेपाली काँग्रेस, राप्रपा र अन्य मधेसवादी दलहरुका बीचमा भएको जस्तो लाग्थ्यो तर झापा र धनुषा, सप्तरी र महोत्तरीका घटनाले नेपाली काँग्रेसले मात्र सहयोग गरेको तर अरु दलहरुबाट सहयोग नपाएको देखिएको थियो ।

३.सँसदमा राजपा आफूलाई प्रतिपक्षी दलको रुपमा प्रस्तुत गर्छ तर ठीक बेलामा सरकारसँगको सहकार्यलाई खुलस्त गर्दै नेपाली काँग्रेसका विरुद्धको आफ्नो स्वरुप देखाउँछ । त्यो राजपाको आन्तरिक कुरा हो तर पनि सँसदमा विपक्षीहरुको गठबन्धन हुन नसक्नुमा नेपाली काँग्रेसकै कमजोरी देखिन्छ भन्ने पर्यवेक्षकहरुको रायलाई बेठीक भन्न मिल्दैन ।

४. एउटा सामान्य समीकरणले अतीतका नाटकहरु र अहिलेको अडानविपरीतका परिणामहरुलाई परैबाट देखाउँछ । दूरदृष्टिको नयाँ स्वरुप देखाउँछ हात्तीका खाने र देखाउने दाँत जस्तै । एकातिर नेपाली काँग्रेसले कालापानीका वारेमा कडा अडान लिनु र राजपा मौन बस्नु अनि नेकपा र राजपाका बीचमा नयाँ र अनपेक्षित समीकरण तयार हुनुले राजनीतिक रुपमा नयाँ नयाँ स्वरुपको उद्घाटन आगामी दिनम हुने अनुमान समेत गर्न सकिन्छ ।

५.राजपाको यो समीकरण प्रयासले समाजवादी दललाई सरकार निल्नु न ओकल्नु भएको छ । यसको खास प्रभावचाहिँ प्रदेश नंबर दुईमा नेकपा र राजपाको सरकार बन्नका लागि समीकरण तयारी हो अनि संघीय सरकारमा राजपाको प्रवेशको तयारी पनि हो । समाजवादी दललाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा नै गरेको व्यवहारले सरकारबाट बाहिरिनु पर्ने थियो, त्यही अपमानित व्यवहारले नै सरकारबाट बाहिर पुग्नु पर्ने थियो तर अझै बसेकाले यो समीकरण भएको हो जसको दूरगामी असर देखिन्छ । यसले आगामी राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसलाई पाठ सिकाउने मात्र नभएर समाजवादी दललाई समेत पाठ सिकाउने लक्ष्य दृष्टिगत गरिएको छ ।

६.सँसदको न्यून संख्याको साँसदहरु भएर पनि प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली काँग्रेस आफैँ आफ्ना कमजोर प्रस्तुति र फितलो कामहरुले र साङ्गठनिक कमजोरीले झन झन कमजोर हुँदै गएको मौका पारी वैकल्पिक प्रजातान्त्रिक शक्तिको खोजी नेपाली समाजका भएकै छ । तर अझै पनि नेपाली काँग्रेसप्रतिको भुइँमानिसहरुको र आम प्रजातन्त्रवादीहरुको अटल विश्वासका कारणले कतै फेरि ब्युँतिएर आउँछ कि भन्ने डर भएका शक्तिहरुले यो समीकरणको प्रायोजन गरेको हो भन्ने राजनीतिक पर्यवेक्षकहरुलाई गलत नै हुन् भन्न सकिँदैन ।

७.यदि राजनीतिक पण्डितहरुको अनुमान सही हो भने राजपा र नेकपाका बीचमा सरकारमा जाने सहमति पनि हुनेछ र प्रदेश नंबर दुईमा मुख्यमन्त्रीको पदमा राजपा आउने छ । सकेसम्म नेकपा र राजपाको मात्रै संयुक्त सरकार बन्नेछ र समाजवादी दल केन्द्रीय सरकार र प्रादेशिक सरकारबाट बाहिरिन बाध्य हुनेछ । होइन भने आगामी निर्वाचनका लागि समेत राजपा र नेकपाका बीचमा निर्वाचनमा तालमेल हुनेछ । त्यस्तो अनुभूत हुन्छ । यो प्रक्रियालाई मान्न नचाहने राजपाका नेताहरुसमेत अब सो पार्टीबाट बाहिरिन बाध्य हुने अवस्था सृजना हुनेछ ।

८.जे होस्, संविधान घोषणा हुनुभन्दा पहिलेदेखिको एउटा अघोषित गठबन्धनले मूर्तरुप पाएको मानिन्छ किनभने संविधान घोषणा गर्ने बेलामा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो जसले भारतीय संस्थापनबाट आएको दबाबलाई नटेरेर नेपालको सार्वभौमिक सत्ताको रक्षाका खातिर संविधान घोषणा गर्ने बाचा पूरा गर्नुभयो ।

त्यसपछिका सरकार र नेतृत्वको विश्लेषण गर्दा यदि २०७२साल असोज ३गते नेपालको संविधान घोषणा हुँदैनथ्यो भने आजसम्म संविधान घोषणा हुँदैनथ्यो । व्यक्तिगत आकाँक्षा र राजनीतिक विचारभन्दा माथि उठेर संविधान घोषणा भयो जसको पहिलो असफलताका रुपमा स्वयं कोइरालाको प्रधानमन्त्रीको निर्वाचनमा लज्जास्पद हार थियो । रातारात कोइरालालाई कसले प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्नका लागि उचाल्यो भन्ने कुरा खुलासा नहुँदै र कसको आड भरोसामा किन प्रतिस्पर्धा गर्नुभयो भन्ने जानकारी दिन नपाउँदै उहाँको देहावसान भयो ।

त्यसपछिका दिनमा नेपाली राजनीतिमा नेपाली काँग्रेसले देखाएको अपरिपक्व राजनीतिक नेतृत्व र विभिन्न समीकरणलाई चिर्न नसक्नुको कमीले आज राष्ट्रिय सभामा अत्यन्त न्यून साँसदहरु रहने सम्भावन बढ्यो । अहिले जति साँसदहरुको संख्या घट्ने छ, त्यसको सट्टा अरु नै दललाई फाइदा हुने छ । अर्को दुई वर्षपछि झन अवस्था अरु कमजोर हुँदैछ र पनि नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व आफैँमा झगडा गरेर बसेको छ ।

९.मुलुकमा नयाँ नयाँ समीकरण अरु तयार हुनेछ जसले मुलुक अरु जटिलतातर्फ मोडिने छ । अब धर्मको र प्रादेशिक अखण्डताको राजनीति जुन सुरु हुने लक्षणको तयारी भइरहेको देखिन्छ, त्यसले अरु राजनीतिक जटिलतालाई निम्त्याउने छ ।

नयाँ पुस्ताको समसामयिक राजनीतिप्रतिको नैराश्यता र उपलब्ध नेतृत्वहरुप्रतिको अविश्वासले निम्त्याउने अराजकतालाई कसले कसरी नयाँ बाटो दिने हो, त्यसमा नै कति बढी अराजकता र सहजता हुनेछ भन्ने देखिने छ । तर नेपाली आकाशमा देखिएको राजनीतिक तुवाँलोको परिणाम भने भयावह छ, त्यसको व्यवस्थापन कसरी होला भन्ने वारेमा चिन्ता बढ्दो छ ।

१०. र अन्त्यमा, नेपाली काँग्रेस जति जति राष्ट्रिय राजनीतिमा कमजोर हुन्छ, त्यति त्यति विदेशी सूक्ष्म व्यवस्थापन गर्नेलाई गाह्रो पर्ने रहेछ । तर नेपाली काँग्रेस आफैँ हानाथापमा अल्झिएकोले पनि मुलुक झन झन जटिलतातिर गएको छ । एउटा त्यस्तो अवस्था पनि आउने छ, जसलाई नेपाली काँग्रेसले पनि सम्पादन गर्न सक्नेछैन ।

त्यो बेलामो कल्पना गर्ने बेला पनि आएको जस्तो छ । वैकल्पिक शक्तिको विश्वसनीयता छैन एकातिर भने नेपाली काँग्रेसमा आफैँमा कमजोर अवस्थामा देखिन थालेको छ । काँग्रेसलाई जति कमजोर बनाउन देशी विदेशीहरु सक्छन्, त्यति प्रजातन्त्र कमजोर हुनेछ र नेपालले आफ्ना निर्णयहरु आफैँले लिन सक्नेछैन । त्यही त बाटो हेरेर बसेका छन् अनि यही बेलामा काँग्रेस आफैँ अनिर्णयको बन्दी हुँदैछ ।

सम्बन्धित समाचार

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७६ पुष ७, ०८: ०२

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...

‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त
  • २०७६ पुष ७, ०८: ०२

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७६ पुष ७, ०८: ०२

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...