घरमै सुत्केरी भए कालो टीका – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

घरमै सुत्केरी भए कालो टीका

बलेवा । केही वर्ष अघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्य चौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्य चौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ ।

गाउँमा चालु आर्थिक वर्ष सुरु भएपछि १५ जना सुत्केरी भए । उनीहरू सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । तमानखोला गाउँपालिका–१ मा पर्ने यी गाउँमा एउटा सक्रिय आमा समूह छ । गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएको छ । यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ ।

घरमै सुत्केरी भए गाउँघरमा अशुभ मानिने कालो टीका लगाउनुपर्ने भएकाले दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । “गर्भजाँच नगरे पनि पहेँलो टीका लगाउनुपर्छ, आठ पटक गर्भ जाँचेर स्वास्थ्य चौकीमा सुत्केरी भए बल्ल रातो टीका लगाउन पाइन्छ”, बज्रबाङकी रविना विकले भनिन्, “मैले सबै जाँच पूरा गरेर स्वास्थ्य संस्थामा बच्चा जन्माएकी हुँ ।”

आमा समूहले उक्त अभियान सुरु गरेदेखि कोही पनि घरमा सुत्केरी भएका छैनन् । घरमा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्यमा हुनसक्ने जोखिमको विषयमा सबै महिलाले जानकारी पाएका छन् । यहाँका पुरुषले पनि आमा समूहको यो अभियानलाई सहयोग गरेको छ । गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भए । सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास यहाँको परम्परागत मान्यताका कारण सफल हुन सकेका थिएनन् । तर, अहिले समूहमा आबद्ध भएका महिला आफैँले कालो टीकाको नियम लगाएका हुन् ।

“आफैँले बनाएको नियम आफैँले नमान्न भएन नि”, बज्रबाङकी स्वास्थ्य स्वयंसेवीका रुपमायाँ घर्तीले भनिन्, “अहिले गर्भवती खोजी खोजी स्वास्थ्य संस्था जाने गरेका छन्”, यो आमा समूहले गर्भवती, सुत्केरी र नवजात शिशुका विषयमा सचेतनाका कार्यक्रम, पोषणसम्बन्धी सचेतनाका कार्यक्रमसमेत चलाउने गरेका छन् । गाउँमा भएका गर्भवती र सुत्केरीको विषयमा जान्न बुझ्न यो आमा समूहको नियमित बैठक हुन्छ । त्यही बैठकले सबै आमा र बच्चाको सुरक्षित भविष्यको विषयमा योजना बनाउँछ तथा कार्यान्वयन गर्छ ।

तीन वर्ष पहिले तमानखोला गाउँपालिकाले बज्रबाङमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । विवाइसी बागलुङसँग मिलेर त्यहाँ क्लिनिकका लागि भवन बनेको छ । गर्भ जाँचका लागि बोंगादोभान स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी त्यहीँ पुग्छन् । त्यहाँबाट बोंगादोभान पठाइएका गर्भवती त्यहाँ सुत्केरी हुन नसक्ने अवस्था आए बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइन्छ । त्यहाँ पुग्न गाउँपालिकाले यातायात खर्च दिन्छ । त्यहाँभन्दा बाहिर जाँदा रु। दश हजार खर्च गाउँपालिकालेनै दिने गरेको छ ।

“बर्थिङ सेन्टर भएकाले गाउँपालिकाभरिकै गर्भवती यहाँ आउनुहुन्छ, होम डेलिभरी शून्यमा झारेका छौँ”, बोंगादोभान स्वास्थ्य चौकीका अहेव रविना बुढा मगरले भनिन्, “अहिले गाउँपालिकाले चिकित्सकसमेतको व्यवस्था गरेकाले धेरै सजिलो हुन्छ ।” स्वास्थ्य संस्थामा आएका अधिकांश गर्भवतीलाई समयमा नै समस्याको पहिचान गर्ने र अन्यत्र पठाउनुपर्ने भए समयमै पठाउने गरेको उनले सुनाइन् ।

 

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८० पुष २१, १२: २१

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० पुष २१, १२: २१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० पुष २१, १२: २१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....