तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper
महोत्तरीमा मात्र ५२ हजार हेक्टर खाली

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा रोपाइको चटारोजस्तै देखिन्छ भने तराईका अधिकांश जिल्लामा पानी नपर्दा खेती योग्य जमिनमा यसवर्षको धान बाली लगाउन नपाउने हो कि भनेर किसानहरु चिन्तित हुन थालेका छन् ।

‘आकाशको फल आँखा तरी मर’ भने जस्तै उखान भएको छ, उदयपुरदेखि झापासम्मका तराई मैदानहरु । सरकारले २०६२ सालदेखि असार १५ गतेलाई राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । काठमाडौंमा भने राष्ट्रपतिले आफ्नो कार्यालयमा धान रोपे भने नेताहरु र कृषिमन्त्रीले किसानहरुको खेतमै गएर धान रोपेको फोटो फेसबुक भरी रङ्गाउन भ्याए, तर यतिबेला भने तराई रोइरहेको छ ।


तराईमा पानी नपरेपछि किसानका खेत बाँझै बसेको देखिन्छ । समयमै पानि नपरेपछि महोत्तरीका किसानले विउसमेत छर्न पाएका छैनन्। असार १५ सम्म आधाजति रोपाइँ सकिसक्नुपर्ने भए पनि महोत्तरीको उत्तरवर्ती क्षेत्रमा १२ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय महोत्तरीका प्रमुख सुकेश्वर झाका अनुसार समयमै वर्षा नहुँदा किसानहरुले बिउ छर्न नपाएर ढिलाइ भएको हो ।

’गत वर्ष असार १५ सम्ममा १५ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष पानी नपर्दा बिउसमेत छर्न सकेको छैन,’ झाले भने, ’अहिलेसम्म रोपाइँ हुने खालको पानि परेको छैन।’
किसानहरुका अनुसार धानको बिउ व्याडमै सुक्न थालेको छ । धान उत्पादनका लागि मुलुकमै अग्रस्थानमा रहेका महोत्तरीमा कूल खेतीयोग्य ६७ हजार ३ सय ५२ हेक्टर जमिनमध्ये ५२ हजार २ सय हेक्टरमा धान खेती हुन्छ।

सिँचाइको भरपर्दो सुविधा नभएर पनि रोपाइँ गर्न नसकिएको किसानहरुले गुनासो गरेका छन्। ’सरकारले सिँचाइमा लाखौं रुपैंया बिनियोजन गरेपनि कृषि, भूमिगत, नलकुप र सिँचाई कार्यालयले यसको दुरुपयोग गर्ने गरेको छ,’ परशुराम महतोले भने। उनका अनुसार कृषि उत्पादन नबढ्नुमा कुलो नहरको आवश्यक मर्मत सम्भार र प्रर्याप्त सिँचाइको व्यवस्था नहुनु प्रमुख कारण भएको हो ।


यसले गर्दा तराईका विभिन्न क्षेत्रहरुमा नहरको राम्रो व्यवस्था नभएका कारण कतिपय स्थानमा डिप बोर्डिङबाट पानी तानेर खेत रोप्ने गर्दछन् तर डिप बोर्डिङ गर्ने स्थानहरुमा भोल्टेजका कारण किसानहरु आकाशे पानीमा आँखा लगाउँदै बस्न बाध्य छन् । नेपालका खेती योग्य र तराईको धानको उत्पादनले मुलुकलाई निकै ठूलो धानको मागलाई सम्बोधन गरेको छदै थियो । तर यस वर्ष तराईको कतिपय स्थानहरुमा बिउ समेत राख्न नपाएको हुँदा किसानहरुको रुवाबासी नै चलेको छ । कृषिका लागि मुख्य स्थान भनेर चिनिने बारादेखि झापाका अधिकांश जिल्लाहरुमा यतिबेला खडेरी परेको छ । उदयपुरका अधिकांश खेती योग्य जमिन बाँझै देखिन्छ ।

सम्म मैदान भएको कारण नहर तथा कुलोको व्यवस्था नभएका कराण उदयपुरको चौदण्डी नगरपालिका अन्तर्गत हडिया तथा जोगीदह सिवाई लगायत स्थानहरुमा डिप बोर्डिङ भएता पनि नेपाल विद्युत प्राधिकरणको लापरवाही कारण डीप बोर्डिङबाट पानी तानेर खेत समेत रोप्न नपाएको हडियाका कृषक गोविन्द राउत बताउँछन् ।

प्राधिकरणलाई क्षमता विस्तारका लागि गाउँलेहरुले पटक पटक अनुरोध गर्दा पनि प्राधिकरणले वेवास्ता गरेका कारण क्षमता वृद्धि हुन सकेको छैन । प्रतिघण्टा १० कट्टा जमिन डिप बोर्डिङबाट सिँचाइ गरेर रोप्न सकिने भएता पनि यतिबेला भने प्राधिकरणले ले क्षमता वृद्धि नगरेका कारण खेत रोप्न नपाएको स्थानीय बासी बताउँछन् । आकाशे पानी नपर्ने, नहर र कुलो नभएको र डिप बोर्डिङबाट पानी तानेर भए पनि खेत रोप्न नपाउँदा हडिया बासी राजनीतिक दलका नेताप्रति आक्रोशित भएका छन् ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०८२ असार ३०, १६: ५५

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०८२ असार ३०, १६: ५५

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०८२ असार ३०, १६: ५५

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...