
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च स्थान मान्दै आएका छन् । जसले गर्दा नेपालबाट बर्षेनी हजारौंको संख्यामा भारतका प्रसिद्ध धार्मिक स्थलहरुको दर्शन तथा पर्यटकीय स्थलहरुको भ्रमण गर्दै आइरहेका छन् । त्यसैगरी भारतबाट पनि ठूलो संख्यामा दैनिकी रुपमा प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ मुक्तिनाथ, पाथीभरा, गोसाइकुण्ड लगायतका लागि भारतीय तीर्थालु नेपालको तिर्थाटन गरिरहेको पाइन्छ । विभिन्न पीठहरुका दुई देशका महागुरुहरु पनि भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने क्रम निकै लामो समयदेखि चल्दै देखिन्छ । यसै सन्दर्भमा यही जेठ ८ गतेदेखि १७ गतेसम्म १० दिने ‘धार्मिक विजय यात्रा २०८३’ को अवसरमा भारतको कर्नाटक श्रृंगेरीस्थित शारदा पीठका परमपूज्य जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीज्यू १० दिनको नेपाल भ्रमण पुरा गरी स्वदेश फर्कनु भएको छ ।

शंकराचार्यको १० दिने नेपालको धार्मिक भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको विश्वास लिएको छ । भ्रमण धार्मिक भ्रमण मात्र नभई लामो समयदेखि नेपाल र भारतबीचको सम्बन्धको निरन्तरताको रुपमा लिन सकिन्छ । यसबाट नेपालको धार्मिक पर्यटन प्रवर्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बि.सं. २०२३ सालमा ३५औं जगद्गुरु शंकराचार्य श्री श्री अभिनव विद्यातीर्थ महास्वामीज्यूले नेपालको भ्रमण गर्नुभएको थियो । उक्त समयमा एक महिनासम्म स्वामीजी नेपालमा रहँदा पशुपति मन्दिर परिसरको रुद्रगाडेश्वरमा महारुद्री सहित हवन तथा पुजा गर्नुभएको थियो । त्यसपछि श्री दक्षिणाम्नाय श्रृंगेरी पीठबाट करीब ६० बर्षपछि नेपालमा यो भ्रमण भएको हो । जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महाराज, श्रृंगेरी मठका अनन्तश्री विभुषित पीठाधिश्वर जगदुरु शंकराचार्य श्री श्री भारतीतीर्थ महास्वामीज्यूका उत्तराधिकारी शंकराचार्य हुनुहुन्छ ।
पहिलो पटक नेपालको धार्मिक यात्रामा आउनुभएका महास्वामीज्यूको नेपाल भ्रमण अत्यन्तै सफल भ्रमण रहेको बताइएको छ । जगद्गुरु भारतीले २०८३ साल जेठको ८ देखि जेठको १७ गतेसम्म नेपालमा रहँदा नेपालका विभिन्न धार्मिक मठ मन्दिरको दर्शन गर्नुका साथै विभिन्न सामाजिक कार्यमा समेत सहभागी जनाउनुभएको थियो । जगदुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीज्यूलाई काठमाडौं आईपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पशुपतिनाथ मन्दिर परिसरस्थित शंकराचार्य मठसम्म भव्य स्वागत गरिएको थियो । नेपाल आगमनको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजक समितिका अध्यक्ष तथा पदाधिकारीहरु, मुख्यकर्ता, विभिन्न मठका मठाधिश तथा स्वामीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत श्रद्धालु भक्तहरुले विशेष स्वागत गरेका थिए । विमानस्थलबाट बाहिर निस्कने बित्तिकै पञ्चकन्या सहित स्वस्तिवाचनले स्वागत गरिएको थियो भने पञ्चेबाजा, धिमेबाजा र स्थानीय झाँकी सहित विभिन्न धार्मिक साामजिक संघ संस्था एवं भक्तजनहरुद्धारा उहाँको भव्य स्वागत गरिएको थियो ।

नेपालमा रहँदा उहाँले काठमाडौँको पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै काठमाडौँकै बुढानिलकण्ठ मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको थियो । भगवान बुढानिलकण्ठ नारायणको दर्शन पछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न जाने क्रममा उमाकुण्ड दक्षिणामूर्तिदेखि पशुपतिनाथ मन्दिरसम्म पदयात्रा समेत गरिएको थियो। त्यस्तै काठमाडौँको बत्तीसपुतलीस्थित राममन्दिरको पनि दर्शन तथा पुजा गर्नुभएको थियो । उहाँलाई राममन्दिरका संरक्षक तथा संस्कृतिविद् डा. गोविन्द टण्डनले स्वागत गर्नुभएको थियो । महास्वामीज्यूले भाटभटेनी देवी मन्दिरको दर्शन गरी सोही ठाउँमा निर्माण गरिएको सत्तलको उद्घाटन पनि गर्नुभएको थियो ।
यसैगरी नक्साल स्थित भाटभटेनी सुपरमार्केट परिसरमा शंकराचार्यको मूर्ति स्थापना गर्नेगरी निर्माण गर्न लागिएको मन्दिरको स्थानको भूमिपुजन गर्नुभएको थियो। यसैगरी बसन्तपुर दरबार क्षेत्र, कालभैरव मन्दिर तथा नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको चतुर्यूह नारायण मन्दिरको दर्शन तथा पुजा गर्नुभएको थियो। महास्वामीज्यूले ललितपुरको गोदावरी वडा नम्बर ५ लेलेमा रहेको सरस्वती कुण्डको जलसिंचन गरी सरस्वती माता र कुण्ड परिसरमा रहेको तिलेश्वर महादेवको दर्शन तथा पुजा गर्नुभएको थियो । साथै सोहि परिसर नजिकैको पशुपतिनाथ मन्दिरको दर्शन तथा पुजा समेत गर्नुभएको थियो । उहाँले विशेष प्रवचनसहित उपस्थित भक्तजनलाई आशीर्वाद प्रदान गर्नुभएको थियाृे । सरस्वतीकुण्ड तिलेश्वर महादेवको दर्शन पश्चात पाटन ढोका नजिकै रहेको छ्याबहाल मठमा बिशेष पुजा अर्चना गर्नुभएको थियो। पाटन मंगलबजार स्थित कृष्ण मन्दिरको दर्शन तथा पुजा गरी त्यस क्षेत्रमा रहेका मठ मन्दिरहरुको दर्शन गर्नुभएको थियो साथै पाटन संग्रहालयको समेत अभिरुचीपूर्वक अवलोकन गर्नुभयो । यसैगरी उहाँले काठमाडौँको चन्द्रगिरीमा रहेको भालेश्वर महादेवको दर्शन तथा पुजा गर्नुभएको थियो ।
काठमाडौँका पवित्र स्थल सहित मठ मन्दिरहरुको भ्रमण पछि उहाँले कास्कीको विन्यवासिनी मन्दिर, गुप्तेश्वर महादेव र केदारेश्वर मन्दिरको दर्शन तथा पुजा गर्नुभएको थियो । नेपालमा रहँदा हरेक साँझ श्रृंगेरी मठको परम्मपरा अनुसार आयोजना गरिएको चन्द्रमौलेश्वर पूजा गरी भक्तजनहरुलाई दर्शन दिई प्रसाद प्रदान आशीर्वचन पनि प्रदान गर्नुभएको थियो ।

पोखरा हुँदै मुस्ताङको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा स्नान, दर्शन र पुजा गर्नुभएको थियो। कागबेनीमा जलअभिषेक गरी पुष्प अर्पण गर्नुभयो भने म्याग्दीको गलेश्वरस्थित गलेश्वरधामको समेत दर्शन तथा पुजा अर्चना गर्नुभएको थियो। मन्दिर तथा मठमा उपस्थित भक्तजनहरुमा विशेष आशीर्वचन समेत प्रदान गर्नुभएको थियो। उहाँले मुस्ताङको जोमसोममा सबैभन्दा अग्लो स्थानमा रहेको २२ फिट अग्लो शालिग्राम शिलाको पुजा अर्चना गर्नुभएको थियो । बागलुङमा रहेको शालिग्राम संग्रहालयको समेत अवलोकन गर्नुका साथै तनहुँको दमौलीमा रहेको वेद व्यासको जन्म स्थलको समेत भ्रमण गर्नुभएको थियो । तनहुँको देवघाटधामस्थित कालीगण्डकी र त्रिशुलीको संगमस्थानमा स्नान गरी वशिष्ठ गुफा र सीता गुफाको दर्शन गर्नुका साथै गलेश्वर महादेव, चक्रशिला एवं मणिमुकुन्देश्वर महादेव, हरिहर मन्दिर लगायतको दर्शन तथा पुजा गर्नुभएको थियो । २ दिने हरिहर आश्रममा बसाइ हुँदा उहाँले संस्कृतका छात्रहरु, प्राचार्यहरु र विद्वानहरुसंग वेद वेदाङगको चर्चा सहित शास्त्रार्थ गराउनु भएकोे थियो। उक्त अवसरमा हरिहर आश्रम परिसरमा निर्माण गरिने शंकराचार्य स्वाध्याय भवनको शिलान्यासका लागि शिला पुजा गरी उपयुक्त मुहुर्तमा शिलान्यास गर्ने आज्ञा समेत दिनुभएको छ ।
हरिहर आश्रमका पिठाधिश्वर ज्ञानानन्द सरस्वतीजज्यू, महेश्वर आश्रमका पिठाधिश्वर रमणानन्द स्वामीज्यू लगायत स्वामीज्यूहरुबाट गलेश्वर आश्रम, महेश्वर आश्रम र हरिहर आश्रमका तर्फबाट संयुक्त रुपमा शंकराचार्यलाई विशेष अभिनन्दन गरिएको थियो । साथै हरिहर आश्रम परिसरमा वृक्षारोपण पनि गरिएको थियो ।
काठमाडौँमा रहँदा पशुपतिनाथ मन्दिर परिसरमा रहेको शंकराचार्य मठमा बस्नुभएकोले पशुपतिनाथ मन्दिर परिसरमा आयोजित चन्द्रमौलेश्वर पुजा लगायत सबैजसो कार्यक्रममा पशुपतिनाथका मूल भट्ट र भट्टज्यूहरुको सहभागिता रहेको थियो ।
काठमाडौँको शंकराचार्य मठ परिसरमा आयोजित बिशेष कार्यक्रममा आयोजक समिति, मुख्यकर्ता सहित नेपाल सरकारको तर्फबाट माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले नेपाल सरकार तथा नेपाली नागरिकको तर्फबाट शंकराचार्यज्यूलाई अभिनन्दन गरेका थिए ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङद्वारा निर्माणाधीन अस्पतालको निरिक्षण गर्नुका साथै अस्पतालमा रहेको शिलालेखको अनावरण गर्नुभएको थियो। सोहि अवसरमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपयाँको “शंकराचार्य बालगोपाल उपचार कोष“ स्थापनाको घोषणा गरिएको थियो ।
यसैगरी महास्वामीज्यूले नक्सालमा रहेको प्रहरी प्रधान कार्यालय परिसरमा कल्पवृक्ष रोप्नुभएको थियो। साथै प्रहरीमहानिरिक्षक सहित सकल दर्जा तथा प्रहरी परिवारलाई आशीर्वचन प्रदान गर्नुभएको थियो। सो अवसरमा उहाँले अनुशासित र नैतिकवान बन्नु नै धर्मको पालना गर्नु हो भन्नुभयो । यसैगरी उहाँले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर परिसरमा वृक्षारोपण गर्नुका साथै आशीर्वचन प्रदान गर्नुभएको थियो । वृक्षारोपण गरिएको सो स्थललाई “शंकराचार्य वाटिका“ नामाकरण गरियो।
काठमाडौंमा जगद्गुरुले पशुपतिनाथ मन्दिर परिसरमा आयोजित विशेष समारोहमा विशेष प्रवचनसहित उपस्थित भक्तजनलाई आशीर्वाद दिनुभएको थियो। उहाँले नेपाली भक्तजनको श्रद्धा र भक्तिप्रति खुशी व्यक्त गर्दै भन्नुभयो, “यहाँ तपाईं सबै भक्तहरूको विशेष श्रद्धा र भक्ति देखेर हामीलाई ठूलो आनन्द मिलेको छ। हाम्रो आगमनका अवसरमा यहाँका भक्तजनले गरेको स्वागत र पछिल्ला यात्राका लागि गरिएको उत्कृष्ट व्यवस्थापनबाट हामी अत्यन्त सन्तुष्ट छौं।“ नेपाल भ्रमणका क्रममा जहाँ जहाँ जानुभयो उहाँले “नेपाल ऋषिमुनिहरुको तपोभूमि रहेको र योगीहरुको सिद्धस्थल समेत रहेकोले नेपाल देवभुमि हो“ भन्ने कुरा आशीर्वचनको क्रममा दोहोर्याई रहनुभएको थियो।
उहाँको भ्रमणलाई सफल पार्न योगदान पुर्याउनुहुने नेपाल सरकार, नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीज्यूहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, पशुपति क्षेत्र विकास कोष, पशुपतिनाथका मूल भट्टज्यू, भट्टज्यूहरु, विभिन्न मठका मठाधिश÷पिठाधिश, विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिज्यूहरु, भारतीय दूतावास, श्रृंगेरी मठबाट आउनुभएका मठका प्रमुख कार्यकारीज्यू, मठबाट आउनुभएका गुरुजन र भ्रमण टोलीमा सहभागी अन्य सहयोगीहरु तथा भारत सरकारका तर्फबाट आउनुभएका उच्चस्तरीय प्रतिनिधिज्यूहरु, श्रद्धालु भक्तजनहरु, स्वयंसेवकहरु, संचारकर्मीहरु लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा शंकराचार्यज्यूको नेपाल भ्रमणलाई सफल पार्न सहयोग गर्नुहुने सबै महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं।
काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख...