
इलाम : हालैको अविरल वर्षाले इलाम नगरपालिका क्षेत्रमा खानेपानी वितरणका लागि प्रयोग हुने राते, मेवा र गिताङ्ग मुहानको संरचना तथा पाइपलाइन क्षतिग्रस्त भएपछि अस्थायी व्यवस्थामार्फत पानी आपूर्ति गरिएको छ। इलाम नगरपालिका र इलाम बजार सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अलग–अलग विज्ञप्ति जारी गर्दै तत्कालका लागि उपभोक्तामा अभाव नहुने गरी आपूर्ति गरिएको बताएका छन्।
२०८१ असोज १२ गतेदेखि एक सातासम्म लगातार परेको वर्षाका कारण पाइपलाइन र संरचना क्षतिग्रस्त भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले सन्दकपुर गाउँपालिका–२ लाई संकटग्रस्त वडाको रुपमा घोषणा गरेको थियो। क्षतिग्रस्त मुहानको पुनर्निर्माणका लागि नेपाल सरकार र प्रदेश सरकारसँग पटक–पटक अनुरोध गरिएको जनाइएको छ।
हाल मर्मतका काम अघि बढेसँगै मेवा र ठाडेखोलाको अस्थायी मुहान, भाडीखोला र सुम्वेक डिसेल्टिङ ट्याङ्कीमार्फत पानी ल्याएर चारखांदे ट्रीटमेन्ट प्लान्टमा प्रशोधन गरी वितरण भइरहेको नगरपालिकाले जनाएको छ। सो पानीमा नियमित ब्लिचिङ प्रक्रिया र शिखरनगरस्थित प्रयोगशालाबाट परीक्षण भइरहेको भन्दै स्वास्थ्यका दृष्टिकोणले प्रयोगमा कुनै समस्या नरहेको दाबी गरिएको छ।
उपभोक्ता संस्थाले राते र मेवा खोलाको मुहान क्षतिग्रस्त भएपछि तत्काल सूचना दिई खानेपानी विभागअन्तर्गत शहरी खानेपानी आयोजना कार्यालयका प्राविधिकमार्फत स्थलगत निरीक्षण गराएको र बजेट विनियोजन भएर मेवा खोलाको पुनर्निर्माण सम्पन्न भइसकेको जनाएको छ। राते खोलाको पुनर्निर्माण पनि टेण्डर प्रक्रियाबाट हुने तयारीमा रहेको संस्थाले स्पष्ट पारेको छ।
नगरपालिका र उपभोक्ता दुवै पक्षले खानेपानी आपूर्तिमा तत्काल समस्या नहुने तर स्थायी समाधानका लागि क्षतिग्रस्त संरचना तथा पाइपलाइनको दिगो पुनर्निर्माण आवश्यक रहेको बताएका छन्। साथै, वितरण लाइनमा चुहावट देखिए उपभोक्तालाई समयमै जानकारी गराउन समेत आग्रह गरिएको छ।
गत वर्ष इलाम नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए)मा देशभरकै पहिलो भएको थियो भने यस वर्ष दोस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता स्वमूल्यांकनमा इलामको इलाम नगरपालिका कोशी प्रदेशकै उत्कृष्ट भएको थियो ।


काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...