
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ………
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ । मुलुकको सत्तासीन अनि आाकस्मिकरुपमाआयोजित आम निर्वाचन २०८२मा आधा करोडभन्दा मत ल्याएर मुलुकको सबैभन्दा ठुलो दल बनेको दलको महाधिवेशनमा ४हजार हाराहारीमा प्रतिनिधिहरु सहभागिता रहेको जनाइएको छ । अहिले चितवनको भरतपुरमा चलिरहेको महाधिवेशन दलको स्थापना कालको चौथो बार्षिकोत्सवको उपलक्ष्य पनि हो । यी चारवर्षमा यो पार्टीले आफ्नो उन्नतशील दिनहरुमात्रदेखेको छ मात्र पनि होइन, सत्तामा जाने तीब्र लालसाको भोक पनि मेटिएको देखिन्छ ।
लालसाले फाइदा पुगेको हो र त्यो बिचमा केही प्रतिस्पर्धा, केही महत्वाकांक्षा र केही षडयन्त्रको सामना पनि गर्नुपरेको थियो सायद । अन्ततः एउटा यस्तो सामयिक उछाल आयो जसले समुद्रको भुमरीबाट छेउमा यसरी ससम्मान ल्यायो कि २७५स्थानको प्रतिनिधि सभामा २१स्थानले पनि तहल्का मच्चाइरहेको आभास दिन्थ्यो भने र यो दलको भावी दिन उज्यालो रहेको मानिन्थ्यो भने समयको उछालसँगै भएको आकस्मिक आम निर्वाचनमा करिब दुई तिहाई मत ल्याएर सत्तासीन भएको छ । त्यस्तो सत्तासीन दलको पहिले महाधिवेशन हुँदैछ र पहिलेपटक केन्द्रीय समितिनिर्वाचनमार्फत् चुनिँदै छ ।
एकातिर दलका संस्थापक सभापति तथा हालका पनि सभापति (भावी निर्वाचनबाट समेत सभापति नै हुने स्पष्ट देखिएको) रवि लामिछाने लोकतन्त्र, गणतन्त्र र नेपालको संविधानप्रति अगाध आस्था भएको बताउँदैछन् भने उहाँको दलका संसदीय दलका नेता तथा वरिष्ठ नेता बालेन्द्र शाह , जो नेपालका प्रधानमन्त्री पनि हुन्, उनको संसदीय व्यवस्था, संवैधानिक आदर्श र प्रजातन्त्रप्रतिको आस्थामा शंका देखिन थालेको बेला छ तर सभापति रवि लामिछाने बारम्बार प्रजातान्त्रिक व्यवस्था, उदार अर्थतन्त्र तथा संवैधानिकताप्रति जोड दिइरहेका पाइन्छन् । कि त सभापति लामिछाने यो सरकारका काम कार्बाहीप्रति इंगित गर्दै संविधानको कार्यान्वयनमा जोड दिइरहेका छन् या सरकारलाई शंकाको लाभ दिऊन् भनेर सरकारको बाहिरी आवरणको सुरक्षा गर्न लागिपरेका छन् ।
खासमा अचानक उदाउने र अचानक सत्तामा झुल्किने दलहरुको भविष्यप्रति सबै चिन्तित यसकारणले हुन्छन् कि उनीहरु सत्तामा हुँदै अनेक गल्तीहरु भएर जनतालाई प्रजातन्त्रको सुन्दरतम पक्ष व्यक्तिगत स्वतन्त्रतामा माथि हमला भएर घाइते बनाएर सघन उपचार कक्षमा पु¥याई सकेको हुन्छ र बचाउन मुस्किल हुन्छ । तर जेजे काम भएका हुन्छन्, तिनको समर्थनमा अनेक बहानाबाजी र गल्ती छोप्ने रफ्फूगारहरुको बिगबिगी चलिरहेको हुन्छ । सरकारका काम कार्बाही र धम्कीका भाषाले नेपाली जनता दिक्क हुन नपाउँदै महाधिवेशनगर्न लागिएको हो भने जनताका आवश्यक तत्वहरुको पनि यो महाधिवेशनमा खोजी होला कि ? नभए जनताले छोटै अवधिमा पनि उपचार खोज्ने छन्। यो विरोधहोइन, बाटो नबिराऊन् भन्ने सजगताका स्वरहरु हुन्। महाधिवेशन सफल होस् ।
निर्वाचन भएर या नभएर जे गरी भए पनि केन्द्रीय समिति र पदाधिकारीहरुको निर्वाचन होस् र भावी दिनमा सरकारलाई बाटो देखाउन पनि त्यो निर्वाचित कार्यसमिति सक्षम होस् । खोपाको देउता भएर टुलुटुलु हेरेर नबसोस् । दलहरु बिग्रे भने त्यहीँबाट निरंकुशता जन्मनेछ र निरंकुशताले नै सत्ताको स्वागसँग अधोगतिको बाटो समाउने छ । जसरी पनि सत्तामा कब्जा गर्नु , सत्ता कब्जा गरेपछि पहिले थुन्ने अनि सुन्ने चलन ल्याउने चलनले विगतका निरंकुशताको छनक दिन्छ र प्रजातन्त्रको धज्जी उडाएको मानिन्छ जवकि भजनमण्डलले त्यही नै असली प्रजातन्त्रको दुहाई दिने छन् भन्ने पनि अतीतका इतिहासका पानाले सम्झाउने गरेका छन्।
यो सिद्धान्त रास्वपाको लागि मात्र लागू हुँदैन, सबै राजनीतिक फाँटका राष्ट्रिय र स्थानीयदलहरुलाई लागू हुन्छ । सिद्धान्त त सिद्धान्त हो , त्यो अभ्यासका आधारमा मूल्यांकन र पुनर्मूल्याङ्कन गरिन्छ । अरु आठ या सात या पाँच या चार या तीन दशकदेखि जनताको सेवामा रहेकाभनेका दलहरुको हालत देख्दा र भावी दिनका बारेमो चिन्ता नदेखिँदा रास्वपाको नयाँ गति कस्तो हुने हो भन्ने शंका उत्पन्न हुन्छ किनभने यो दलको न त इतिहासले केही संकेत गर्छ , न त वर्तमानमा समेत कुनै हैसियत देखिएको छ । भाद्र २३ र २४को आन्दोलनको साउँ र व्याजको सकारात्मक परिणामको यो दल कसरी हकदार भयो, कसरी जनताले यो दललाई नै जेन्जीको अभियन्ता ठाने र २४ भाद्रको अभियन्ताको रुपमा आफुलाई कहाँ उभ्याउँछ यथार्थरुपमा भन्ने प्रश्न अनुत्तर हुँदै आम निर्वाचन २०८२मा अनपेक्षित मतसहित वहुमतीय प्रणालीमार्फत् सरकार बनायो र त्यो सरकार कसरी चलेको छ भन्ने अनेक शंका र उपशंकाका भारी बोकेर प्रश्नसहित कठघरामा उभिएको छ । र पनि सरकार अनेक प्रश्न सहित चलिरहेको छ अनि सरकारका मुख्य पात्र प्रधानमन्त्री संसदबाट भाग्दै भाग्दै हिँडेका छन् भन्ने तथ्यांकले देखाउँदैछ ।
जे होस्, नागरिक समाज र पत्रकारिताको धर्म हो प्रजातन्त्रका पक्षमा बोल्नु ।लेख्नु । नागरिक अधिकार बहालीका लागि सतर्कताका अपनाउनका लागि जानकारी दिनु । निहत्था जनता बोल्दैनन्, जब बोल्न थाल्छन्, अरुलाई बोल्ने मौका नै दिनेछैनन् । रास्वपाको यो अधिवेशनले ठोस सैद्धान्तिक आधारसहित प्रजातन्त्रका पक्षमा बोलोस् र त्यसको सैद्धान्तिक खाकाप्रति व्यापक बहस गरोस् । महाधिवेशनको सफलताको लागि हार्दिक शुभकामना ।कसकसले के के भनेर शुभकामना दिए भन्ने कुरा आन्तरिक राजनीति हो तर जनताका पक्षमा देखिने सकारात्मक कामहरुको नतिजाचाहिँ त्यसको परिणाम हो । यो जनमतको भारी बोक्न सक्षम होस् रास्वपा र त्यसको बालेन्द्र सरकार । १०० दिनमा पनि उत्ताउलो पारामा प्रस्तुत हुनुपर्छ भन्ने पनि होइन, यी नयाँ छन् भनेर जे पनि गर्न पाइन्छ भन्ने पनि होइन ।
२. र अन्त्यमा, हाम्रा ३२वर्षको प्रयास पानीको फोका जस्तै नहोस् भन्ने बारेमा ……
हाम्रो नयाँ विकल्प साप्ताहिक पत्रिकाले यो असार १गतेबाट आफ्ना ३२वसन्त, गृष्म, वर्षा शरद , शिशिरहेमन्त पार गरेर आजको दिनमा आइपुगेको छ । यो पत्रिकाको मिसन प्रजातन्त्र हो, ध्येय प्रजातन्त्र हो र परिणाम पनि प्रजातन्त्र हो । हामीले जो सरकारमा आए पनि प्रजातान्त्रिक अभ्यासकालागि सधैँ बाटो देखाउने काम ग¥यौँ र अझै त्यो काम गरिरहने छौँ । आज विश्वभर छापा पत्रकारितामा आएको ह्रासोन्मुख प्रवृत्तिले हामीलाई पनिगाँजेको छ तर हाम्रो अटल विश्वास के छ भने छापा माध्यम भनेको स्थायी पत्रकारिताको आधार हो ।
आजको विश्व पत्रकारिताको इतिहासलाई समीक्षागर्दा पनि अक्षरलाई छोएर, आँखाको डिलनिर ल्याएर पढेका कुराहरुले जुन तरिकाले पत्रकारिताको महत्व दर्शाएका हुन्छन्, त्यो आजको तत्काल देखिने, डिलिट हुने र भयावह भविष्य सृजना गर्ने काल्पनिक संसारभन्दा नितान्त फरक र तथ्यपरक हुन्छ । छापा माध्यमलाई अझविश्वसनीय र पठनीय बनाउन सबैको प्रयास आवश्यक छ ।यसका लागि सरकारले पैसा दिनुभन्दा तालिम, समसामयिक सामग्रीको जोहो गर्नका लागि सार्वजनिक कोषको व्यवस्था र तालिम प्राप्त जनशक्तिको वितरण नै हुन्छ ।सर्वसाधारणले पत्रिका किनेर पढ्ने बानी फेरि पनि सुरु गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।हाल व्यापकरुपमा प्रयोगमा आएको र प्रशस्त प्रयोगमा देखिएको कृत्रिम बौद्धिकताको सम्बन्धमा सही जानकारी र प्रयोगकाअनेकउपायहरुलाई सदुपयोग गर्दै सम्पादक,लेखक तथा समाचारदाताहरुमा मौलिक लेखाइको स्तर वृद्धि गर्ने बानी व्यापक बनाउनु पर्ने देखिन्छ ।
अनि मात्र मुलुकमा साँच्चैको प्रेस स्वतन्त्रताको प्रयोग हुनेछ र मुलुकमा प्रजातन्त्र, मानव अधिकार र सामाजिक न्यायका पक्षका जनमत तयार गर्न सक्षम छापा माध्यम बन्न सक्नेछ । हामी नयाँ विकल्प परिवार त्यो बाटोमा अनवरत लागिरहने छौँ भन्ने बाचा गर्दै हामी आफैँले आफूलाई शुभकामना व्यक्त गर्दछौँ र भावी दिनमा छापा माध्यमको पत्रकारिताले जनसमक्ष व्यापकता पाओस् भन्ने कामना पनि गर्दछौँ । हामीलाई आफ्नो अविचल बाटोमा लागिरहन सधैँ सचेत गराउने पाठक, विज्ञापनदाता, लेखक, संवाददाता तथा सम्पादकहरुप्रति नमन गर्दै यो सहयोग सदैव प्राप्त होस् भन्ने पनि कामना गर्दछौँ ।
हाम्रो अर्को पनि चाहना के हो भने हामीले यी ३२वर्षमा मात्र प्रजातन्त्रको स्थायित्वचाह्यौँ, प्रजातन्त्रका मूल्यमान्यताप्रति आस्थादेखाउँदै लेख्दै रह्यौँ र आफूलाई समाजमा प्रजातन्त्र चाहने, प्रेस स्वतन्त्रता चाहने, मानव अधिकारप्रति समर्पित छापाको रुपमा प्रस्तुत गरिरह्यौँ । त्यसको परिणाम पनि आजको प्रजातान्त्रिक समाजको विकासक्रम हो र हामी त्यो विकासक्रममा आफ्नो केहीमात्रै भए पनि योगदान छ भन्ने विश्वास गर्दछौँ । तर केही समयदेखि देखिनथालेको अराजकता र अप्रजातान्त्रिक गतिविधिले ती हाम्रा प्रयासहरु कतै पानीको फोका जस्तै नहोऊन् भन्ने पनि विश्वास लिएका छौँ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता...
काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...
काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...