झुक्किएर बल आएछ भने बालेनको खुट्टामा पास गर्ने जिम्मा मेरो : रवि लामिछाने – Naya Bikalpa
June 22, 2026, Monday      Epaper

झुक्किएर बल आएछ भने बालेनको खुट्टामा पास गर्ने जिम्मा मेरो : रवि लामिछाने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन् । रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ठुला राजनीतिक दलभित्रका समस्या केवल ती दलको मात्र नभई समग्र देशकै चुनौती बन्न सक्ने बताएका हुन् ।

सम्बोधनका क्रममा लामिछानेले सबै राजनीतिक दल सुदृढ र व्यवस्थित हुनुपर्ने धारणा राख्दै कांग्रेस र एमालेभित्र देखिएका असहजताप्रति चिन्ता व्यक्त गरे । उनले ती दलका आन्तरिक विवाद र समस्या समाधान भए देश पनि सही दिशातर्फ अघि बढ्न सक्ने विश्वास व्यक्त गरे ।

उनले आफ्नो दलमात्र नभई अन्य दलका समस्या पनि समाधान हुन आवश्यक रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्व र सुशासनका लागि सबै दल जिम्मेवार बन्नुपर्ने बताए ।

यसैबीच, लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को काँधमा रहेको दाबी गरे । उनले चुनावअघि नै सरकार सञ्चालनबारे सहमति भएको उल्लेख गर्दै रास्वपाले ‘बल’ बालेन शाहको खुट्टामा पुर्‍याइसकेको र अब ‘गोल गर्ने’ जिम्मा प्रधानमन्त्री शाहकै भएको टिप्पणी गरे ।

“सरकार सञ्चालन गर्नका लागि चुनावअघि नै बालेनजीको खुट्टामा बल पुर्‍याइसकेका छौं । अब भटाभट गोल हान्ने जिम्मा उहाँकै हो,” उनले भने, “झुक्किएर त्यो बल कतै मेरोतिर आयो भने पनि फेरि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हुन्छ ।”

उनको उक्त अभिव्यक्तिपछि समारोहस्थलमा सहभागीहरूले ताली बजाएका थिए भने प्रधानमन्त्री बालेन शाह पनि मुस्कुराएको देखिएका थिए ।

लामिछानेले आफू आलोचक वा विपक्षीको जवाफ दिन नभई इतिहासप्रति उत्तरदायी बन्नका लागि बोलिरहेको बताए । “यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाउनेहरू पनि धेरै छन् । म उनीहरूलाई जवाफ दिन उभिएको होइन, इतिहासलाई जवाफ दिन उभिएको हुँ,” उनले भने ।

सम्बन्धित समाचार

मनसुन थप चार प्रदेशमा विस्तार
मनसुन थप चार प्रदेशमा विस्तार
  • २०८३ असार ७, १८: २९

काठमाडौं : नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार...

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मै कायम
  • २०८३ असार ७, १८: २९

काठमाडौं : अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची...

सुनचाँदीको मूल्यमा वृद्धि
सुनचाँदीको मूल्यमा वृद्धि
  • २०८३ असार ७, १८: २९

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...