
काठमाडौं : साउदी अरबमा कार्यरत चार लाखभन्दा बढी नेपाली श्रमिकका हितका लागि रियादस्थित नेपाली दूतावासले पछिल्ला दिनमा उदाहरणीय पहल गर्दै आएको छ । राजदूत डा. नरेश विक्रम ढकालको नेतृत्वमा दूतावासले सुरु गरेको विभिन्न कार्यक्रम र सचेतनामूलक अभियानले नेपाली श्रमिकलाई सुरक्षित र सूचित बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
साउदी सरकारले ‘डेभलपमेन्ट भिजन २०३०’ अन्तर्गत पूर्वाधार क्षेत्रमा ठूलो लगानी बढाएसँगै नेपाली श्रमिकको आकर्षण पनि तीव्र रुपमा बढेको छ । तर, साउदी पुग्ने अधिकांश नेपाली अझै अदक्ष वा कम दक्ष भएकै कारण जोखिमपूर्ण काममा संलग्न हुने गरेका छन् । यसै पृष्ठभूमिमा दूतावासले श्रमिक–हितका लागि अपनाएको नवीन अभ्यास विशेष महत्वको मानिएको छ।
हालै दूतावासले सार्वजनिक गरेको ‘साउदीमा कार्यरत नेपाली श्रमिकका लागि हाते पुस्तिका २०२५’ श्रमिकलाई लक्षित गरेर तयार गरिएको पहिलो व्यापक दस्तावेज मानिन्छ । यसमा रोजगारीका क्रममा ध्यान दिनुपर्ने कानुनी प्रावधान, सुरक्षासम्बन्धी जानकारी, सेवा लिनुपर्ने प्रक्रिया र आपत्कालीन सम्पर्क विवरणहरु सरल भाषामा समेटिएका छन् ।
राजदूत ढकालका अनुसार, पुस्तिका केवल जानकारीको स्रोत मात्र नभई श्रमिकलाई सम्भावित समस्याबाट बचाउने मार्गदर्शक हो । “नेपाली श्रमिकले कानुनी प्रावधान नबुझ्दा अलपत्र पर्नु नपरोस् भन्ने हाम्रो प्रयास हो,” उनले भने, “फेसबुक र वेबसाइटमार्फत सबै सूचनालाई वास्तविक समयमा अद्यावधिक गर्ने हाम्रो प्राथमिकता हो।”
दूतावासले श्रमिकलाई सावधानी अपनाउन प्रेरित गर्ने विभिन्न अभ्यासहरु अघि सारेको छ । कम्पनीको आधिकारिक विवरण सुरक्षित राख्ने, पासपोर्ट र भिसाको डिजिटल प्रतिलिपि बनाइराख्ने, अकामा तथा अनलाइन खातामा सचेत रहने, अनधिकृत गतिविधिबाट टाढा रहने जस्ता व्यावहारिक सन्देश पुस्तिकामा विशेष जोडका साथ राखिएको छ।
त्यसैगरी राहदानी नवीकरण प्रक्रियालाई सहज बनाउन दूतावासले अनलाइन फारम प्रणालीसहित क्यूआर कोड प्रयोगमा ल्याएको छ । यसले साउदीमै बसेर नेपालीले राहदानी नवीकरण गर्न सक्ने वातावरण तयार भएको छ।
दूतावासका काउन्सेलर कविराज उप्रेतीका अनुसार, धेरै नेपालीले कानुनी प्रक्रिया र सूचनाको अभावमा अनावश्यक पीडा भोगिरहेका थिए । पुस्तिका प्रकाशनसँगै त्यस्ता समस्या कम हुने अपेक्षा गरिएको छ ।
राजदूत ढकाल पनि यसै कुरामा जोड दिन्छन्—“साउदी अरब कठोर कानुन भएको देश हो । यहाँ सानो गल्तीले पनि ठूलो सजाय हुन सक्छ । त्यसैले श्रमिकलाई पर्याप्त जानकारी दिनु दूतावासको प्रमुख जिम्मेवारी हो।”
अनुभवी राजदूत, प्रभावकारी नेतृत्व
कतारमा पनि राजदूत भइसकेका डा. ढकाल परराष्ट्र मामिलामा गहिरो ज्ञान राख्छन् । संविधानदेखि श्रम नीतिसम्म, विभिन्न मुलुकका कानुनी संरचना उनलाई कण्ठै छन् भन्ने उनका सहकर्मीहरू बताउँछन् । यही अनुभव र ज्ञानको परिणामस्वरूप रियादस्थित दूतावास श्रमिक–हितको नमूना अभ्यास केन्द्रमा परिणत भएको देखिन्छ।
सन् १९७७ देखि कूटनीतिक सम्बन्ध कायम रहेको साउदी नेपालका लागि प्रमुख श्रम गन्तव्य हो । यतिबेला, राजदूत ढकालको सक्रियता र दूतावासको नवप्रवर्तनशील अभ्यासका कारण नेपाली श्रमिकलाई आवश्यक जानकारी सजिलै प्राप्त हुने र उनीहरू सुरक्षित रहन सक्ने वातावरण विस्तार हुँदैछ ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...