डुवानमुक्त नगर र शैक्षिक पूर्वाधार विकास मेरो प्रमुख एजेन्डा : डा. शेखर कोइराला – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper

डुवानमुक्त नगर र शैक्षिक पूर्वाधार विकास मेरो प्रमुख एजेन्डा : डा. शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं- ६ का उम्मेदवार शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन्। विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५ करोड रुपैयाँ बजेट आफूले नै पहल गरेर ल्याएको र सोही बजेटबाट विज्ञान भवन निर्माण सम्पन्न भएको बताए।

कार्यक्रममा बोल्दै कोइरालाले भने, “मोरङ कलेजभित्र छुट्टै विज्ञान क्याम्पस देख्नुभएको छ, त्यो कसले बनायो? मैले पहल गरेर ५ करोड रुपैयाँको योजना ल्याएर बनाएको हुँ।” उनले क्याम्पसको शैक्षिक पूर्वाधार सुधारमा आफू निरन्तर लागिपरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए।

“मैले अध्ययन गरेका बेला जस्तो मोरङ कलेज अहिले छैन। समयअनुसार परिवर्तन र विकास आवश्यक छ,” उनले भने, “यस क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप पूर्वाधार, प्रयोगशाला र स्रोत–साधन विस्तार गर्नुपर्ने अवस्था छ।”

उम्मेदवार कोइरालाले यसपटकको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्दै आफूले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन जनताको साथ आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले अर्को महत्त्वपूर्ण एजेन्डाका रूपमा विराटनगर–१२ लाई डुवानमुक्त बनाउने प्रतिबद्धता दोहोर्‍याए। वर्षायाममा केसलिया खोलाका कारण स्थानीयवासीले भोग्दै आएको समस्याप्रति संकेत गर्दै उनले तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने बताए।

“केसलिया खोलाले यहाँका बासिन्दालाई वर्षेनी दुःख दिँदै आएको छ,” उनले भने, “सुदृढ तटबन्धन निर्माण गरेर विराटनगरलाई डुवानमुक्त बनाउने मेरो स्पष्ट योजना छ।”

उनका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर मात्र दिगो विकास सम्भव छ। विराटनगर–१२ ठूलो र सम्भावनायुक्त वडा भएकाले सडक, पुल–पुलेसा, ढल निकास तथा अन्य पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने उनले बताए।

कोइरालाले विगतमा भएका विकास निर्माणका कामहरूको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “विकासका काम एक्लैले सम्भव हुँदैनन्। वडा, नगर, प्रदेश र संघ सबैको सहकार्य आवश्यक हुन्छ। त्यसका लागि राजनीतिक स्थिरता र सक्षम नेतृत्व चाहिन्छ।”

यसैबीच नेपाली कांग्रेस विराटनगर–१२ ले घरदैलो कार्यक्रमलाई पनि तीव्र बनाएको छ। सभापति यादवसहितको टोलीले टोल–टोलमा पुगेर मतदातासँग भेटघाट तथा छलफल गरिरहेको जनाएको छ।

चुनावी माहोल तातेसँगै विराटनगर–१२ मा विकास, पूर्वाधार र डुवान नियन्त्रण मुख्य एजेन्डाका रूपमा उभिएका छन्। कोइरालाको विज्ञान भवन निर्माण दाबी र डुवानमुक्त नगर बनाउने प्रतिबद्धताले स्थानीय राजनीतिक वातावरण थप चासोपूर्ण बनेको छ।

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ फाल्गुन ७, २१: ४१

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ फाल्गुन ७, २१: ४१

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८२ फाल्गुन ७, २१: ४१

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...