अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न कांग्रेसको आग्रह (विज्ञप्तिसहित) – Naya Bikalpa
February 22, 2026, Sunday      Epaper

अर्काको आस्थामा चोट पुर्‍याउने काम नगर्न कांग्रेसको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं : नेपाली कांग्रेसले अर्काको आस्थामा चोट पुर्याउने काम नगर्न आग्रह गरेको छ । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका घटनालाई स्मरण गर्दै कांग्रेसले उक्त आग्रह गरेको हो ।

पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले शान्तिपूर्ण, भयरहित, निस्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउँदै कुनै पनि अप्रिय गतिविधिले कसैको हित नहुने बताए ।

उनले भनेका छन्, ‘हामी अनुरोध गर्न चाहन्छौँ, जनता जनताबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कहीँ कतैबाट हुनुहुँदैन, सामाजिक विद्धेष फैलाउने, घृणायुक्त अभिव्यक्ति कुनै पनि पार्टीबाट हुनु श्रेष्यकर हुँदैन ।’

कतिपय जिल्लाहरूमा फरक पार्टीका कार्यकर्ताले पार्टीको झण्डा जलाउनेलगायत अवाञ्छित हर्कतप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । ‘कसैको पनि आस्थामा चोट पुर्याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीका झन्डा जलाउने गतिविधिलाई नेपाली कांग्रेस निन्दनीय कार्य ठान्दछ । यस्ता गतिविधिहरू तत्काल बन्द गरिनुपर्छ’, प्रेस विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसले बहुमत ल्याउने गरी चुनावी माहोल अघि बढाएको प्रवक्ता एवं प्रचार समिति संयोजक चालिसेले बताए । ‘लोकतन्त्रको स्थापना, सम्बर्धनन र दिगो भविष्यमार्फत लोककल्याणकारी शासन व्यवस्थालाई सबलीकरण गर्न वर्तमान परिस्थितिमा कांग्रेसलाई पहिलो पार्टी बनाएर सरकारको नेतृत्व गर्ने स्थानमा पुर्याउने जनताको भावना रहेको छ’, उनले भने ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको उत्साहमा रहँदा लोकतन्त्र एवम् आमजनताको स्वतन्त्रता र समृद्धिसँग अविछिन्न जोडिएको कांग्रेसले चुनावी अभियानलाई सशक्त रूपमा अघि बढाएको उनले बताएका छन् ।

निर्वाचन नजिकिँदै जाँदा कांग्रेसप्रति आकर्षण चुलिँदै गएको उनको दाबी छ । विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि अन्य नेताकार्यकर्ताहरू नेपाली कांग्रेस आबद्ध हुने लहर देशभर चलेको प्रवक्ता चालिसेले बताए ।

‘हामी सबैलाई सम्मानजनक ढंगले पार्टीमा भित्र्याएर लोकतन्त्रको हकदार बनाउन चाहन्छौं’, उनले भने, ‘हामी पुनः आह्वान गर्दछौँ, घर छाडेका साथीहरू घर फर्कनु होस् । अन्य पार्टीमा रहेका साथीहरू नेपाली कांग्रेसमा जोडिनुहोस् र मुलुकको नवनिर्माणमा सरिक हुनुहोस् ।’

प्रेस विज्ञप्ति

प्रिय सञ्चारकर्मी मित्रहरू,

मुलुक आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको उत्साहमा रहँदा लोकतन्त्र एवम् आमजनताको स्वतन्त्रता र समृद्धिसँग अविच्छिन्न जोडिएको नेपाली कांग्रेसले चुनावी अभियानलाई शसक्तताका साथ अगाडि बढाइरहेको जानकारी गराउन पाउँदा हर्षित छौँ। लोकतन्त्रको स्थापना, संवर्धन र दिगो भविष्यतर्फ लोककल्याणकारी शासन व्यवस्थालाई सुदृढीकरण गर्न कांग्रेसले वर्तमान परिस्थितिमा भइरहेको निर्वाचन तथा यससँग जोडिएका अवसर र चुनौतीलाई अत्यन्त संवेदनशील भएर हेरेको छ। दशकौँदेखि मुलुकले भोगेको राजनीतिक संक्रमण, आर्थिक विषमूलता र जनताको आकांक्षाअनुसार काम नभएको यथार्थलाई कांग्रेसले उच्च जिम्मेवारीबोधका साथ आत्मसात गर्दै अब सुशासन र सुधार्ने अठोटका साथ वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको छ। सार्वभौम जनताको जनादेश शासनको वैधताको आधार हो र यो चुनावद्वारा परिलक्षित हुन्छ भन्ने विषयलाई कांग्रेस गहिरोसँग आत्मसात गर्छ।

● लोकतन्त्रको सबैभन्दा शक्तिशाली संवाहक प्रेसका सम्मानित प्रतिनिधिहरू यहाँहरूबाट समेत व्यापक रूपमा सकारात्मक सन्देश सम्प्रेषण भइरहेकामा हामी धन्यवादी छौँ। हामीले प्रेससँग अपेक्षा गर्ने महत्वपूर्ण पक्ष हो— आलोचनात्मक समीक्षा। लोकतान्त्रिक आन्दोलनका आदिपुरुष बीपी कोइरालाले भनेझैँ पत्रकारबाट आलोचना भएन भने हामी दुखी हुन्छौँ। प्रेसले प्राण माने अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आत्मा हो। र, कांग्रेस चाहिँ लोकतन्त्रको सेवक र संवाहक भएको नाताले नेपाली कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षपोषण र पैरवी पार्टीका रूपमा स्थापित छ।

● अहिले हामी ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नेपालीको समुन्नति र नेपालको सम्मानलाई मूल ध्येय मानेर नवीकृत र परिष्कृत अध्याय ‘कांग्रेस २.०’ को चरणमा प्रवेश गरेका छौँ। यसलाई चिन्तनशील बुद्धिजीवी, पेशाकर्मी र आम गरिखाने वर्गले हार्दिक स्वागत गरेको अवस्था छ। यसैबीच अतिलोक्तिप्रियतावादी उन्माद र प्रतिगामी भड्कावबीच मध्यमार्गी एवं सन्तुलित चरित्रको वैज्ञानिक पद्धति र व्यवहारिक उन्नति सुनिश्चित गर्न सम्पूर्ण सचेत वर्गले थप मेहनत गर्नुपर्ने चुनौती छ। निर्वाचनलाई भयमुक्त र सद्भावपूर्ण वातावरणमा हुन नदिने सामाजिक सञ्जालदेखि विभिन्न माध्यमको प्रयोग गरी कांग्रेस उम्मेदवारहरूलाई अपमान र दुरुत्साहित गर्ने प्रयास भइरहेका छन्। तर, कांग्रेस भयको राजनीति गर्दैन, गर्न पनि दिँदैन । इतिहासमा अनेक संघर्षको कसौटीमा उभिएको कांग्रेस अवसरवादी संक्रमणका चुनौतीलाई सहजतापूर्वक सामना गर्न सक्षम छ।

● हामी नेपाली कांग्रेसका सम्पूर्ण नेता एवं पार्टी सदस्यहरू, शुभचिन्तक र मतदातालाई कुनै भ्रम र विचलनमा नपरी दृढ भएर प्रचारप्रसारमा लाग्न आग्रह गर्दछौँ । साथै आदरणीय मतदातालाई बदलिएको कांग्रेसलाई जिताएर मुलुकको मुहार फेर्ने अभियानको प्रत्यक्ष हिस्सा लिन पनि आग्रह गर्दछौँ ।

● निर्वाचन शान्तिपूर्ण, भयमुक्त, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता हो। हामी अनुरोध गर्न चाहन्छौँ, जनता जनताबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कतै कतैबाट हुन नदिऔँ। सामाजिक विद्वेष फैलाउने, घृणायुक्त अभिव्यक्ति गर्ने पनि पार्टीबाट हुनै हुँदैन।

● कसैको पनि आस्थामा चोट पुर्याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीका झण्डा जलाउने गतिविधिलाई नेपाली कांग्रेस निन्दनीय कार्य हो भन्ने ठान्दछ र यस्ता गतिविधिहरू तत्काल बन्द गरिनुपर्छ।

● हामीले जनतामाझ ल्याएको प्रतिबद्धताप्रति प्रकट भएको व्यापक सन्तुष्टिवाट निकै खुसी छौँ। हामी चाहन्छौँ— यसप्रति आमजनताले प्रश्न गर्न, हामी चाहिँ त्यसको सहजतापूर्वक उत्तर दिन तत्पर छौँ। यसलाई हरेक मतदाताले पढ्न, विमर्श गर्न सक्ने गरी प्रसारमा लैजान हुनसमेत आग्रह गर्दछौँ।

जय नेपाल !

देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस

सम्बन्धित समाचार

कोइरालाको लोकप्रियता बढ्दै जाँदा मोरङ ६ मा पार्टी प्रवेशको लहर
कोइरालाको लोकप्रियता बढ्दै जाँदा मोरङ ६ मा पार्टी प्रवेशको लहर
  • २०८२ फाल्गुन १०, २०: १९

मोरङ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला विभिन्न सभादेखि लिएर घरदैलो कार्यक्रम...

काठमाडौं क्षेत्र नं. ९ मा बास्तोलाको समर्थनमा जुटे मतदाता
काठमाडौं क्षेत्र नं. ९ मा बास्तोलाको समर्थनमा जुटे मतदाता
  • २०८२ फाल्गुन १०, २०: १९

काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ बाट नेपाली कांग्रेसको प्रत्यासी उम्मेदवार महिला नेता नानु बास्तोला यतिबेला घरघरमा आफ्नो पक्षमा मत...

चुनावमा ३ दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस
चुनावमा ३ दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस
  • २०८२ फाल्गुन १०, २०: १९

काठमाडौं : निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगले...