पूर्णबहादुर समूहलक्षित कांग्रेस प्रवक्ता चालिसेले भने- महाधिवेशन नजिकिँदै छ, अनुशासन पालना गरौं – Naya Bikalpa
March 31, 2026, Tuesday      Epaper

पूर्णबहादुर समूहलक्षित कांग्रेस प्रवक्ता चालिसेले भने- महाधिवेशन नजिकिँदै छ, अनुशासन पालना गरौं

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले धुम्बाराहीमा आयोजना गरेको समानान्तर भेलाप्रति कडा टिप्पणी गरेका छन् ।

उनले यस्ता गतिविधिले पार्टी अनुशासन उल्लंघन गर्ने र संस्थालाई न्याय नगर्ने बताएका छन् ।

धुम्बाराहीस्थित होटल स्मार्टमा सोमबार पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकको नाममा भेला आयोजना गरेका थिए । निवर्तमान सभापति शेरबहादुर देउवा विदेशमा रहे पनि उक्त भेलामा नेता शेखर कोइराला लगायत देउवा निकटका नेताहरू सहभागी थिए । भेलामा संसदीय निर्वाचन समीक्षा, पार्टीको आन्तरिक अवस्था र आगामी १५ औं महाधिवेशनका विषयमा छलफल भएको बताइएको छ ।

भेलाप्रति प्रतिक्रिया दिँदै प्रवक्ता चालिसेले भनेका छन्, “प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक हो । यसले संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउँछ । तर जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित र समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन ।”

उनले थप भनेका छन्, “महाधिवेशन नजिकिँदै छ । यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सबैका लागि श्रेयस्कर हुन्छ । नेतृत्वको बाटो विधानअनुसार खुला छ । पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ । आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस् भन्ने सोचका साथ अघि बढौं ।”

गत पुसमा नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको थियो, जसमा गगन थापा सभापति निर्वाचित भएका थिए । उक्त निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत गएको मुद्दा अझै विचाराधीन छ । यसबीच देउवा पक्षले केन्द्रीय कार्यसमिति बैठक र अन्य समानान्तर गतिविधि बढाएको छ ।

प्रवक्ता चालिसेले यस्ता गतिविधिप्रति पार्टीले नजिकबाट निगरानी गरिरहेको समेत संकेत गरेका छन् ।

सम्बन्धित समाचार

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
  • २०८२ चैत्र १७, १५: ३२

काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...

कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
  • २०८२ चैत्र १७, १५: ३२

काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
  • २०८२ चैत्र १७, १५: ३२

काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...