
वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ।
चैत ३० गते आयोजित शिलान्यास समारोहमा भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना र प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा भवनको शिलान्यास गरे।
भारत सरकारको करिब ४ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण हुने यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सञ्चालन भइरहेको हो। परियोजनाअन्तर्गत तीन–तले दुई वटा भवन निर्माण गरिनेछ, जसमा १२ वटा कक्षाकोठा, क्यान्टिन, भोजनालय, पुस्तकालय तथा कम्प्युटर र विज्ञान प्रयोगशाला स्थापना गरिनेछ।

महावाणिज्यदूत मीनाले परियोजनाले स्थानीय विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा भारत सरकार निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे।
त्यस्तै, अध्यक्ष जैसवालले नयाँ भवनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गर्न गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

हाल मधेश प्रदेशमा भारत सरकारद्वारा स्वीकृत ८७ परियोजनामध्ये ६१ सम्पन्न भइसकेका छन् भने २६ कार्यान्वयन चरणमा छन्। तीमध्ये ५२ परियोजना शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन्। बारा जिल्लामा मात्र चार परियोजना स्वीकृत भएकामा तीन सम्पन्न र एक निर्माणाधीन अवस्थामा रहेको छ।
भारत सरकारले हालसम्म नेपालभर १०४९ एम्बुलेन्स र ३८१ विद्यालय बस उपलब्ध गराएको छ। मधेश प्रदेशमा २३२ एम्बुलेन्स र ४० विद्यालय बस तथा बारा जिल्लामा ४० एम्बुलेन्स र ६ विद्यालय बस वितरण गरिएको जानकारी दिइएको छ।

विद्यालयमा हाल करिब २४०० विद्यार्थी अध्ययनरत छन्। नयाँ भवन निर्माणपछि सुरक्षित र आधुनिक शैक्षिक वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवलगायत स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
एजेन्सी : भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक विज्ञप्ति जारी...
काठमाडौं : सरकारले शासकीय सुधार तथा दीर्घकालीन नीति समन्वयलाई लक्षित गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामाथि...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो...