युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी

काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा प्रभावशाली जित हात पार्दै नेपालले दुई खेलको सिरिज १–१ को बराबरीमा टुंग्याएको हो ।

यसअघि सोमबार सम्पन्न पहिलो खेलमा युएईले ६ विकेटको जित निकालेको थियो । तर दोस्रो खेलमा नेपालले बलिङ र ब्याटिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै सहज जित निकाल्न सफल भयो ।

युएईले दिएको १२९ रनको सामान्य लक्ष्य नेपालले मात्र १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर कुशल भुर्तेलले शानदार अर्धशतक प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे । उनले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए ।

भुर्तेलले कप्तान दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि अविजित ५८ रनको साझेदारी गर्दै टोलीलाई सहज जिततर्फ डोहोर्‍याए । ऐरीले १७ बलमा ३ चौकासहित २३ रन बनाएर नटआउट रहे ।

ओपनिङमा कुशल भुर्तेल र कुशल मल्लले आक्रामक सुरुवात दिलाएका थिए । दुवैले पहिलो ८ ओभरमा ६७ रनको साझेदारी गरे । पावरप्लेमा मात्र ५१ रन जोड्दै नेपालले खेलको दिशा आफ्नो पक्षमा मोडेको थियो । मल्लले १७ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । नेपाली बलरहरूले सुरुआतदेखि नै दबाब सिर्जना गरेका थिए ।

खेलको पहिलो बलमै हेमन्त धामीले युएईका कप्तान मोहम्मद वासीमलाई एलबीडब्लु आउट गर्दै नेपाललाई सनसनीपूर्ण सुरुवात दिलाए । त्यसपछि अलिशान सराफु र हरप्रित सिंह पनि सस्तैमा आउट भएपछि युएई दबाबमा परेको थियो ।

नन्दन यादव र शाहब आलमले पनि महत्त्वपूर्ण विकेट लिँदै युएईलाई ८ ओभरमा ६ विकेट गुमाएर ४८ रनको कमजोर अवस्थामा पुर्‍याए । सोहेब खान र निलान्स केशवानी डकआउट भएपछि नेपाल खेलमा स्पष्ट रूपमा हाबी देखिएको थियो ।

तर त्यसपछि अक्षदीप नाथ र मोहम्मद अर्फानबीच सातौं विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी भयो । अक्षदीपले ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए भने अर्फानले ३६ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन राख्दै मात्र ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट हात पारे ।

सम्बन्धित समाचार

काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
  • २०८३ बैशाख ८, २०: २४

काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८३ बैशाख ८, २०: २४

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
  • २०८३ बैशाख ८, २०: २४

काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...