
हेटौँडा : बागमती प्रदेश सरकारले आगामी जेठ १५ गते पर्ने ‘गणतन्त्र दिवस, २०८३’ लाई प्रदेशभर भव्यताका साथ मनाउने तयारी सुरु गरेको छ । सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले गणतन्त्र दिवस मनाउनका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
गणतन्त्र दिवसलाई व्यवस्थित बनाउन मुख्यमन्त्री बानियाँको अध्यक्षतामा प्रदेशस्तरिय मूल समारोह समिति गठन गरिएको छ । यस समितिमा प्रदेश सभाका सभामुख, सबै मन्त्रालयका मन्त्रीहरू, विपक्षी दलका नेता, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू र पत्रकार महासंघका प्रतिनिधिहरूसहित कुल ४३ जना सदस्यहरू रहेका छन् ।

बैठकले जेठ १३ गतेदेखि १६ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रमहरू संचालन गर्ने निर्णय गरेको छ ।
जेठ १३ गते ‘गणतन्त्र स्थापनाको १८ वर्ष: कार्यान्वयन र चुनौती’ विषयक विद्यालयस्तरिय निवन्ध प्रतियोगिता आयोजना गरिनेछ । जेठ १४ गते सार्वजनिक रक्तदान, नि:शुल्क स्वास्थ्य शिविर र वृक्षारोपण कार्यक्रम हुनेछन् । साथै, जेठ १४ देखि १६ सम्म साँझ सबै सरकारी निकाय र घरघरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन अनुरोध गरिएको छ ।

जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा प्रदेशस्तरिय मूल समारोह आयोजना गरिनेछ । कार्यक्रममा प्रदेश प्रमुखलाई प्रमुख अतिथिको रूपमा र पूर्व मुख्यमन्त्रीहरूलाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिने निर्णय भएको छ ।
यस वर्षको गणतन्त्र दिवसका अवसरमा चार जना उत्कृष्ट पत्रकारहरूलाई जनही ५० हजार नगद पुरस्कार र प्रशंसापत्र वितरण गरिनेछ । खेलकुदतर्फ युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा पाँच हजार मिटर खुल्ला दौड प्रतियोगिता आयोजना गरिने र विजेताहरूलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ ।

मूल समारोहमा स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकीहरूको प्रदर्शन गरिनेछ भने सुरक्षा निकायबाट प्रमुख अतिथिलाई सलामी अर्पण गरिनेछ । सरकारले सबै कर्मचारीहरूलाई तोकिएको पोसाकमा उपस्थित हुन र सरकारी वेबसाइटहरूको गृहपृष्ठमा गणतन्त्र दिवसको सन्देश राख्न समेत निर्देशन दिएको छ ।

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको...
काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को...
काठमाडौं : सरकारले शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम...