
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङ्देम्बेले बाढीग्रस्त नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि नौ बुँदे ध्यानाकषर्णपत्र सरकारलाई बुझाएका हुन् ।
भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे स्थलगत रूपमा देखिएका समस्या समाधानका साथै हवाई उद्धारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिएको उनले बताए । नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न माग गरे ।
सडक र पुल तत्काल सञ्चालनमा ल्याएर रसुवा, नुवाकोट र धादिङका अवरुद्ध मार्ग सफा गरी आवागमन सञ्चालन गर्न, क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा सात स्थानमा बेली ब्रिज जडान गर्न पनि प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेले माग राखे । विद्युत् र सञ्चार सेवा सञ्चालन गर्न, उद्धार, राहत र सञ्चारलाई सहज बनाइनुपर्ने उनको जोड छ ।
सम्पर्कविहीनको खोजी र शव व्यवस्थापन तीव्र पार्न, बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी सम्पर्कविहीनको खोजी, शव पहिचान र उचित व्यवस्थापन गरिनुपर्ने नेता आङ्देम्बेले सरकारसँग आग्रह गरे ।
यस्तो छ ध्यानाकर्षण
सम्माननीय प्रधानमन्त्रीज्यू,
विषय : भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा स्थलगत रूपमा देखिएका समस्या समाधानका लागि सरकारको तत्काल ध्यानाकर्षण गराउन चाहन्छु।
१. हवाई उद्धारलाई थप प्रभावकारी बनाइयोस्। नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय छ। तर, रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस्।
२. सडक र पुल तत्काल सञ्चालनमा ल्याइयोस्। रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक सफा गरी आवागमन सुचारु गरियोस्। क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलीब्रिज जडान गरियोस्।
३. विद्युत् र सञ्चार सेवा तत्काल सुचारु गरियोस्। अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा सञ्चालन गरी उद्धार, राहत र समन्वयलाई सहज बनाइयोस्।
४. बेपत्ताको खोजी र शव व्यवस्थापन तीव्र पारियोस्। बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शव पहिचान र उचित व्यवस्थापन गरियोस्।
५. उद्धार गरिएका नागरिकको यातायात व्यवस्था गरियोस्। सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्याउने यातायातको व्यवस्था गरियोस्।
६. घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिइयोस्। नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गरियोस्। ज्येष्ठ नागरिकका लागि समेत पर्याप्त शय्या उपलब्ध गराइयोस्।
७. स्थानीय तहसँग प्रभावकारी समन्वय गरियोस्। उद्धार तथा राहतमा स्थानीय सरकारसँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाओस्। राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई समेत सहजीकरण गरियोस्।
८. अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिइयोस्। सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिइयोस्।
९. त्रिशूलीलगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गरियोस्।
विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकता राखी उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्र बनाउन सरकारको विशेष ध्यानाकर्षण गराउँदछु।
भीष्मराज आङ्देम्बे
नेता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस
मिति स् २०८३/०५/१३
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...