
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत अमेरिका प्रस्थान गर्ने तय भएको छ । त्यसअघि उनी साँझ करिब ६:२० बजे बालुवाटारस्थित निवासबाट विमानस्थलतर्फ निस्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
यसपटक प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा परम्परागत बिदाइ कार्यक्रम नगर्ने निर्णय गरिएको छ । विगतमा जस्तो नेपाली सेनाको सलामी, उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा औपचारिक बिदाइ तथा भिआइपी लाउन्जमा हुने कार्यक्रम यसपटक नहुने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । प्रधानमन्त्री शाहले सामान्य प्रक्रियामै भिआइपी कक्ष हुँदै सिधै जहाज चढ्ने बताइएको छ ।
प्रधानमन्त्री विदेश जाँदा र फर्किँदा हुने तामझामयुक्त स्वागत तथा बिदाइको परम्परा तोड्ने प्रयासस्वरूप यस्तो निर्णय गरिएको हो । यसअघि विमानस्थलमा सभामुख, मन्त्री तथा उच्च सरकारी अधिकारीहरूको उपस्थितिमा बिदाइ तथा स्वागत गर्ने प्रचलन रहेको थियो ।
प्रधानमन्त्री शाहको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र अन्य अधिकारीहरू सहभागी रहनेछन् । परराष्ट्रमन्त्री खनाल भने अमेरिका पुगिसकेका छन् ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, उनले असोज ८ गते (सेप्टेम्बर २४) महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन् ।
सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीहरू र जलवायु न्यायको विषय उठाउने तयारी गरेका छन् । प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...
काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...
काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...