भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनका आधारमा मन्त्रालयले २०८३ असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रका निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्था उत्पन्न भए तत्काल परिचालन गर्न सकिने गरी पूर्वतयारी मिलाउन भनिएको छ ।

प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय र सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्सम्बन्धी सूचना निरन्तर संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न पनि भनिएको छ ।

स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न तथा स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेस गर्न निर्देशन दिइएको छ ।

सम्भावित जोखिमयुक्त जिल्लामा अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि, जीवनजललगायत सामग्री पर्याप्त मौज्दात राख्न तथा द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि विभागलाई भनिएको छ ।

त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घरोगीको स्वास्थ्य सेवामा पहुँच विपद्का कारण प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ ।

स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
  • २०८३ आश्विन ८, ०८: ५२

काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...

भारी वर्षापछि पहिरोको जोखिम बढ्यो, पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा आवागमन बन्द
भारी वर्षापछि पहिरोको जोखिम बढ्यो, पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा आवागमन बन्द
  • २०८३ आश्विन ८, ०८: ५२

काठमाडौं । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ...

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा
आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा
  • २०८३ आश्विन ८, ०८: ५२

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका...