नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित वार्षिकोत्सव समारोहमा बैंकको ऐतिहासिक योगदान, वर्तमान चुनौती तथा आगामी दिनमा बैंकिङ क्षेत्रले अवलम्बन गर्नुपर्ने सुधारका विषयमा चर्चा गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल बैंकको स्थापना आर्थिक उन्नति, जनतालाई वित्तीय सुविधा उपलब्ध गराउने र मुलुकको विकासमा योगदान पुर्‍याउने उद्देश्यले भएको उल्लेख गरे ।

उनले बैंकले आगामी दिनमा तीनवटा प्रमुख सुधारका एजेन्डालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन र प्रविधिमैत्री बैंकिङ सेवा विस्तारलाई उनले मुख्य सुधारका क्षेत्रका रूपमा औँल्याए ।

उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सफलता निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकारबाट मात्र नभई राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा पुर्‍याएको योगदानका आधारमा मापन हुनुपर्ने बताए ।

‘कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनु अनिवार्य छ । कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ,’ उनले भने ।

त्यस्तै, बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौती समाधान गर्न कर्जा असुली प्रक्रिया, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो ।

संस्थागत सुशासन र वित्तीय अनुशासन कायम गर्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारी स्वामित्वको बैंकका रूपमा नेपाल बैंकले सुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्ने बताए ।

बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि उनले जोड दिए । डिजिटल बैंकिङको विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्ने उनले बताए ।

अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले नेपाल बैंक आगामी दिनमा थप सबल बन्दै नेपालको आर्थिक समृद्धिको यात्रामा सशक्त साझेदार बन्न सकोस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।

सम्बन्धित समाचार

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८३ मंसिर १, १९: २०

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विदेशी मुद्रा विनिमयदर
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विदेशी मुद्रा विनिमयदर
  • २०८३ मंसिर १, १९: २०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार (कात्तिक २९) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ मंसिर १, १९: २०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...