
काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले निर्वाचन आयोगले पार्टीको आधिकारिक विवरण अद्यावधिक गरिसकेकाले अब आन्तरिक विवाद र वैधानिकताको बहसमा अल्झिनुपर्ने अवस्था नरहेको बताएकी छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै उनले निर्वाचन आयोगको निर्णयले पार्टीभित्रको वैधानिकताको प्रश्न टुंगिएको उल्लेख गरिन् । अब पार्टीले आन्तरिक विवाद छाडेर संगठन विस्तार र जनताका मुद्दामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
महामन्त्री संग्रौलाले पार्टीको संगठनलाई वडा र बुथ तहसम्म सुदृढ बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले देशभरका ६ हजार ७ सय ४३ वटै वडा र बुथ तहसम्म पार्टी आधिकारिक रहेको सन्देश पुर्याउनुपर्ने बताइन् ।
क्रियाशील सदस्यताको नवीकरण तथा वितरण पारदर्शी बनाउन, बुथ समिति अद्यावधिक गर्न र युवा पुस्ताको ऊर्जा तथा पुराना नेताको अनुभवलाई एकीकृत गर्दै संगठनलाई गतिशील बनाउनुपर्ने उनको भनाइ छ ।
संग्रौलाले भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणलाई पनि पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताइन् । प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन जीविकोपार्जनको व्यवस्था गर्न सरकारलाई दबाब दिनुपर्ने उनले उल्लेख गरिन् ।
त्यस्तै, विस्थापित सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्या मानवीय मर्यादा र सामाजिक न्यायका आधारमा समाधान गर्नुपर्ने उनको धारणा छ । जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दा रोजगारी, शिक्षा र स्वास्थ्यको पहुँच सुनिश्चित गर्नुपर्ने उनले बताइन् ।
महामन्त्री संग्रौलाले वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै प्रेस स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप भइरहेको आरोप लगाइन् । पत्रिका कार्यालयमा धरपकड गर्ने, प्रहरीको अनुसन्धानमा हस्तक्षेप गर्ने तथा प्रधानमन्त्रीका सल्लाहकारबाट प्रमाण वा मोबाइल फोन नियन्त्रणमा लिने जस्ता गतिविधि लोकतान्त्रिक अभ्यासविपरीत रहेको उनको टिप्पणी छ ।
त्यस्तै, नेपालको चुच्चे नक्सा र नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदनसँग सम्बन्धित राष्ट्रिय अडानबाट सरकार पछि हटेको भन्दै उनले प्रधानमन्त्रीसँग संसद् र सडक दुवै ठाउँबाट जवाफ माग्नुपर्ने बताइन् ।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै संग्रौलाले आजैदेखि संगठन परिचालन, जनसम्पर्क र उम्मेदवार छनोटको तयारी थाल्नुपर्नेमा जोड दिइन् । लोकप्रिय, स्वच्छ छवि भएका र जनतामाझ विश्वसनीय व्यक्तिलाई उम्मेदवार बनाउने आधार तयार गर्नुपर्ने उनको भनाइ छ ।
पार्टीको आधिकारिक निर्णयविरुद्ध विद्रोही उम्मेदवारी दिने तथा निर्वाचनमा असहयोग गर्नेहरूमाथि कडा अनुशासनात्मक कारबाही गर्नुपर्ने प्रस्तावसमेत उनले राखिन् ।
कांग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका क्षेत्रमा गरेका कामको प्रचारप्रसार गर्दै आगामी पाँच वर्षका लागि स्पष्ट नीति, दृष्टिकोण र कार्ययोजनासहित जनतामाझ जानुपर्ने उनले बताइन् ।
निर्वाचन आयोगको निर्णयपछि पार्टी नयाँ ऊर्जा र वैधानिक आधारका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै महामन्त्री संग्रौलाले आन्तरिक एकता सुदृढ बनाउँदै जनजीविकाका मुद्दा उठाउन र सरकारका गलत कदमको प्रतिवाद गर्न पार्टी पंक्तिलाई आह्वान गरे ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा प्रधानमन्त्री...
काठमाडौँ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कर्मचारी १२ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका छन् । नेपाल...
काठमाडौं : नेपाल सरकारले नेवार जातिका ४० भन्दा बढी थरलाई दलित सूचीमा समावेश गरेको निर्णयप्रति नेपाल लोकतन्त्रवादी नेवाः संघले गम्भीर...