काँग्रेसप्रतिको जनमत बढाउने हो भने……. – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

काँग्रेसप्रतिको जनमत बढाउने हो भने…….

हरिविनोद अधिकारी

१. नेपालको प्रजातान्त्रिक पक्षको राजनीतिमा नेपाली काँग्रेसको भूमिका कस्तो रहेको थियो र कस्तो हुनुपर्ने हो भन्ने बारेमा अहिले जताततै बहस सुरु भएको छ । नेपाली काँग्रेसको बैठक अझै त्यही बारेमा अल्झिएको छ र नेता खुमबहादुर खड्काको निधनले रोकिएको बैठक जब सुरु हुनेछ, त्यसैमा केन्द्रित हुनेछ ।

२. यस पटकको बैठकमा हुने छलफल अलि शल्यक्रियात्मक हुने लक्षण देखिएको छ । एकअर्कालाई दोषारोपण गर्दै सुरु भएको छलफल प्रक्रिया अब आएर सबै उत्तरदायी नेताहरु रक्षात्मक शैलीमा देखिनु एउटा नयाँ परिवेश हुनसक्छ ।

३. नेपाली काँग्रेसले नेपालमा आजको संसदीय प्रणालीअन्तर्गतको प्रधानमन्त्रीय प्रणालीको सूत्रपात ग¥यो, अभ्यास गरायो र सैद्धान्तिकरुपमा कम्युनिस्टलाई समेत संसदीय व्यवस्थामा अन्तरघुलन गराउन सफल भयो । तर अहिले आफैँ यसरी खुम्चियो कि सँसदमा एक चौथाइ साँसदहरुको हस्ताक्षरबाट राखिने कुनै प्रस्ताव राख्न पनि नसक्ने अवस्थामा पुगेको यथार्थता लुकाउन सकिँदैन । कस्का गल्तीले आजको अवस्था आएको हो भनेर एकअर्कालाई खुइल्याउन र दोषारोपणमा लागेका काँग्रेस नेताहरुले के बुझ्नु पर्दछ भने प्रजातन्त्रको फल खान सबैले पाउँछन् , अभ्यास गर्न सबैले पाउँछन् तर जनतालाई हेपेको जनताले मन पराउँदैनन् ।

४. कसरी प्रजातन्त्रका पक्षपातीबाहेक अरुलाई पनि प्रजातन्त्रको जिम्मा लगाउन सक्दारहेछन् भन्ने कुरा नेपाली जनताले देखाएका छन् एकातिर भने अर्कोतिर प्रजातन्त्रवादी बाहेक अरुले कसरी प्रजातन्त्रको रक्षा गर्नेछन् भन्ने पनि आगामी दिनको नयाँ परीक्षण हुनेछ ।

५. नेपाली काँग्रेसको बैठकमा पार्टीभित्रको संस्थापन पक्ष र विपक्ष भन्नेहरुका बिचमा व्यक्तिगत दोषारोपणसँगै भागबण्डाका उम्मेदवारहरुको भाग खोसेको कुराले जबर्जस्त प्रवेश पाएको देखिन्छ । पार्टी सभापति शेरबहादुर देउबा , वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह भनेर निर्वाचनका बेलामा दिइएको उम्मेदवारीको विवरणसँगै विक्री गरिएको बारेमा बहस सुरु हुनुलाई एकातिर पार्टी शुद्धीकरणको प्रस्थान विन्दु मान्न सकिन्छ भने अर्कोतिर पार्टीमा केके सम्म भएछ भन्ने खुलासा भएको छ ।

६. नेपाली काँग्रेसको आजको अवस्थासम्म आउनुमा, ल्याउनुमा नेतृत्ववर्ग सबैको उत्तिकै हात देखिन्छ । स्थानीय निर्वाचनमा नै के अनुमान गरिएको थियो भने काँग्रेसको अवस्था नाजुक हुनेछ जनप्रतिनिधित्वमा । राजनीतिक पर्यवेक्षकहरुको अनुमान भन्दा स्थिति राम्रो थियो स्थानीय तहसम्म । जनताले त्यस्तो नाजुक हुन दिएनन् । सरकार र दलको क्रियाकलाप जनमुखी नभएको कुरा जगजाहेर थियो ।

त्यसमा पार्टी सभापतिको प्रधानमन्त्री पदमोह र सरकारको जनताप्रतिभन्दा माओबादीप्रतिको मोहले अन्ततः आजको अवस्था सृजना गरेको कुरा भरतपुरको मेयरमा समर्थन गर्नुले देखाएको थियो । नेपाली काँग्रेस आफैँमा किन खुम्चनु पथ्र्यो र ? किन अरुको भर पर्नु पथ्र्यो र ? आखिर हार्नु थियो, पद गुम्नु थियो भने आफ्ना मतदाताको मतलाई सुरक्षित गर्दै जानुपथ्र्यो । राजनीतिक पदको मदमा कसैले कसैको कुरा सुन्न मानेन । आफूलाई सँस्थापनाका विरोधी मान्नेहरुलाई पनि वार्ड अध्यक्ष र मेयर वा उपमेयरमा आफ्ना मान्छे घुसाउनु नै बहादुरी सम्झने काम भयो । भविष्यका वारेमा यत्ति निश्चिन्त देखिए कि नेपली जनता भनेका काँग्रेसले जेजे गरे पनि काँग्रेसलाई नै मत दिन बाध्य छन् जस्तो ठानियो ।

७. अब पनि काँग्रेसलाई लागेको रोगका निराकरण र निदानका वारेमा भ्रममा परेर अरुलाई नै दोष देखाउन थालियो भने उपचार सम्भव छैन । हार्नुले भोलिका लागि नयाँ उपाय र उपचारको पनि खोजी हुन्छ । स्वस्थ आलोचना, समालोचना गरेर आगामी दिनमा प्रजातान्त्रिक आचरण गर्ने अभ्यास सुरु गरेमा काँग्रेसप्रतिको धारणामा जनतामा परिवर्तन नआउला भन्ने छैन ।

तर नेपाली जनता अन्यौलमा कसरी परे भने काँग्रेसले जब आफ्नो दलमा पनि प्रजातान्त्रिक अभ्यास गर्दैन र उम्मेदवारलाई राम्रोसँग नचिनीकनै उठाउँछ भने र त्यस्ता उम्मेदबारलाई उठाउन पैसाको लेनदेन हुन्छ भन्ने कुरा आउँछ भने त्यसको उपचार कसरी गर्ने भन्ने कुरा समस्याजनक नै छ । पद, लोभ, मोह र परिबारभन्दा माथि उठेर जबाफदेही लिएका नेताहरुले नै बाटो प्रशस्त गरेर नीति बनाउन सके भने र नेपाली जनतालाई प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त बनाउन नयाँ भूमिकामा देखिए भने पक्कै गुमेको साख फिर्ता हुनसक्छ ।

८. सबै भ्रातृसँस्था, शुभेच्छुक सँस्थाहरुलाई कब्जामात्र गर्ने नियत लिँदा एकातिर ती सँस्थाहरु निस्क्रिय भएका छन् भने अर्कोतिर पद र प्रतिष्ठासँग हुने आर्थिक चलखेलले सँस्थाहरुलाई मागी खाने भाँडोको रुपमा परिणत गरेको देखिन्छ । ठीक ब्यक्तिलाई ठीक ठाउँ भन्दा पनि चाकडीबाज र अयोग्यलाई ती ठाउँमा प्रवेश गराउने नियतले जबसम्म काँग्रेस र अन्य भ्रातृ वा शुभेच्छुक सँस्थाहरुमा शुद्धीकरणको अभियान सुरु हुँदैन, त्यसले दिने परिणाम भनेको एउटै हुन्छ काँग्रेसको क्षयीकरण र बदनाम ।

९. मुलुक संघीयतामा गएको छ । काँग्रेसलाई सक्रिय गराउनका लागि पनि शुद्धीकरणको अभियान आवश्यक छ । जबसम्म पार्टीका नेताहरुको बाहिरी चित्र सुधार गर्न सकिँदैन, तबसम्म काँग्रेस भनेको बदमासहरुको दल हो, भ्रष्टाचारीहरुको दल हो र अनुशासनहीनहरुको दल हो भन्ने धारणा नेपाली जनतामा रहिरहनेछ ।

उम्मेदबारलाई पद बेचेको र गलत व्यक्तिहरु दलमा प्रभावी भएका कुरा सत्य नै साबित भएका छन् भने किन त्यस्तालाई कार्बाही नगर्ने ? किन त्यस्तालाई न नंग्याउने ? किन त्यस्ता व्यक्तिलाई समाजसामु नदेखाउने ? नेपाली काँग्रेस एउटा दलमात्र नभएर नेपाली जनताको भाग्य प्रजातन्त्रमा मात्र सम्भव छ भन्ने दूरदर्शी र पथप्रदर्शक दल हो अतीतमा । अहिले पनि काँग्रेससँगको अपेक्षा भनेको प्रजातन्त्रका विरुद्धमा कहिल्यै पनि नलाग्ने र प्रजातन्त्रका विपक्षमा कसैसँग पनि सम्झौता नगर्ने दलको रुपमा चित्रित छँदैछ अतीतका नेताहरुका कारणले । अहिले पनि संविधान ल्याउन र संविधान कार्यान्वयन गर्नका लागि तीन तहको निर्वाचन गर्न सक्ने दलको रुपमा त छँदैछ ।

१०. र अन्त्यमा, काँग्रेस एउटा प्रजातन्त्रको पर्याय हो, प्रजातान्त्रिक संघर्षको परिणाम हो । प्रजातन्त्रका पक्षमा अनवरत लागिरहन पनि सक्षम काँग्रेसको आवश्यकता छ । व्यक्ति गौण हुनजान्छ सिद्धान्त र मुलुकको सुन्दर भविष्यका लागि । नेपाली काँग्रेसले गर्नुपर्ने धेरै कुराहरुमध्ये प्रजातन्त्रका पक्षमा शुद्धीकरण र सजग भएर नेपाली जनतालाई सचेत बनाउने हो ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७४ चैत्र २६, ०९: २७

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७४ चैत्र २६, ०९: २७

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७४ चैत्र २६, ०९: २७

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...