एक लाख ऋणबाट ब्यावसाय सुरू गरेका शंकर ११ वटा होटलको मालिक बने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

एक लाख ऋणबाट ब्यावसाय सुरू गरेका शंकर ११ वटा होटलको मालिक बने

नयाँ विकल्प

काठमाडाैं- –नारायण अधिकारी आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् ।

नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिनुभएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् ।

विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गरेका थिए । मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उनले नजिकै परिवारले हेर्ने गरी किराना पसल सुरू गरे ।

पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल शुरु गरे । पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर ¥याक भरेको स्मरण गर्छन शंकर । “पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ ।” उनले भने

८० हजार ऋण खोजेर ३० हजारको ¥याक बनाएपछि रु ५० हजारको सामानबाट उनले पसल शुरु गरे । सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनी भन्छन् “दैनिक एक लाख ५० हजारसम्मको व्यापार भयो ।” आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उहाँले प्रेसिडेन्ट होटल शुरु गरे ।

होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उनले भने, “पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।” क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको उहाँले बताउनुभयो । त्यतिबेला उनीसँग एक साझेदार पनि थिए । निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो ।

विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्काे घर लिएर उनले होटल शुरु गरे । दुवै होटलको सफलताले उनलाई त्यतिकैमा रोकिन मन लागेन । उनले विसं २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल शुरु गरे । विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल शुरु गरे ।

होटलको व्यवसाय फस्टाउँदै गएपछि उनलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो । त्यससँगै विसं २०७३ मा सुन्धारामा पे्रसिडेन्ट सेकुवा शुरु गरे । सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उनलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो । क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा शुरु भयो ।

भरतपुरमा सेकुवाको व्यापार शुरुसँगै उनलाई चितवनको ताससँग खेल्न रहर जाग्यो । यही रहरले नारायणगढको पुलचोकमा आजबाट पे्रसिडेन्ट तास बजार शुरु गरेका छन् । चितवनमा प्रख्यात खशीको मासुबाट बनाइने तासलाई विविधिकरण गर्दै उनले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ग्राहकसामु ल्याए ।

उनी भन्छन् “हामीकहाँ चितवनमा नपाइने धेरै प्रकारका तास पाईन्छ ।” उनको व्यवसायमा एकपछि अर्काे गर्दै फड्को मार्ने क्रम भने अझै रोकिएको छैन । उनले बालाजुमा आगामी चैतबाट बेकरी शुरु गर्दैछन् भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया शुरु गरेका छन् ।

रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उनको आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई शेयर दिएका छन् । व्यापारमा गरेको आम्दानीले अर्काे होटल र रेष्टुराँ खोल्दै चेनको विकास उनले गरिरहेका छन् । देशका प्रमुख शहरहरुमा रेष्टुराँ खोल्ने उनको चाहना छ ।

भण्डारी भन्छन् “काठमाडौँमा मात्रै २० वटा रेष्टुरेण्टका आउटलेट खोल्ने तयारी गर्दैछु ।” होटल रेष्टुराँबाट कमाएको रकम घरजग्गा किन्न खर्च नगरेको भन्दै उनले भने “अहिले पनि म भाडामा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेष्टुरेण्ट खोल्ने मेरो चाहना छ ।” २५० जना हाराहारीलाई रोजगारी दिलाएको बताउँदै उनले भने “धेरैलाई साहुँ बनाउने र रोजगारी दिलाउने अभियानमा म लागिरहेको छु ।”

‘न्यून दरमा सेवा र गुणस्तर तारे होटलसरह’ भन्ने नाराका साथ लागेका उनले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पु¥याएका कारण सफलता मिलेको बताउँछन् ।

एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न ५० लाखदेखि दुई करोडसम्म खर्च भएको उनको भनाइ छ । कम खर्चमा बनेको सुन्धाराको होटलमा ५० लाख लगानी भएको बताउँदै उनले भरतपुरको सेकुवामा दुई करोड खर्च भएको जानकारी दिए ।

उनले व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् । उनले गुल्मीमा आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत १५ विद्यार्थीको अभिभावकत्व लिएर सम्पूर्ण खर्च गर्दै आएका छन् ।

चितवनको रङ्गशालादेखि चेपाङ बालबालिकालाई समेत उनले समय समय सहयोग दिँदै आएको बताउँछन् । व्यवसायमा उनलाई भाइ कृष्ण भण्डारीसहित परिवारको साथ र सहयोग छ । सेवाग्राहकीको मायाकै कारण सफलता मिलेको बताउँने भण्डारीले स्वदेशमै मिहिनेत ग¥यो भने सफल होइन्छ भन्ने विश्वास गर्छन् ।

आफूले मलेसिया जाने भनेर ढाँटेर ऋण लिएर व्यवसाय शुरु गरेको स्मरण गर्दै उनले अहिले व्यवसाय गर्नलाई सानो रकम जुटाउन आफूलाई जस्तो कठिन नपर्ने भएकाले विदेश जान छोडेर स्वदेशमै व्यवसाय गर्न युवालाई आग्रह गरे । उनको सुझाव छ “क्षमता, दक्षता, विज्ञताअनुसारको मिहिनेत ग¥यो भने सफलता मिल्छ ।” रासस

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ फाल्गुन २४, ११: १२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ फाल्गुन २४, ११: १२

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ फाल्गुन २४, ११: १२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...