यात्रा स्मरण
पर्थ–अष्ट्रेलियाको पश्चिमी भूभागमा पर्ने पर्थ शहर घुम्ने मौका मिल्यो गत महिना । १५ दिनको पर्थ बसाईमा थुप्रै नयाँ कुरा र नयाँ मानिस भेट्ने अवसर मिल्यो । हुन त अष्ट्रेलिया भ्रमण यो पहिलो पटक थिएन । तर पर्थ शहर भने पक्कै पनि पहिलो पटक नै पुगेको थिएँ । व्यक्तिगत भ्रमण भएता पनि पर्थको व्यवसायिकताबारे परिचित हुने मौका मिल्यो ।
अष्ट्रेलियाको चौथो ठूलो शहर पर्थको जम्मा क्षेत्रफल ६,४१८ स्क्वायर किलोमिटर छ भने त्यहाँको जनसंख्या २.१४ मिलियन मात्र छ । अष्टे«लियाको अन्य शहर जस्तै विकसित शहर बन्दै गएको छ – पर्थ । विगत पाँच वर्षमै पर्थमा महँगाइ ह्वात्तै बढेको छ । त्यहाँको घर भाडा पाँच वर्षको अवधिमा ८०% ले वृद्धि भएको बताउँछन् त्यहाँका स्थानीय । त्यस्तै, पर्थ शहरलाई अहिले अमेरिकाको न्यूयोर्क र बेलायतको लण्डन जत्तिकै महँगो शहरको रुपमा मानिन थालिएको छ । जसले गर्दा निम्न वर्ग र ‘वर्किङ क्लास’ का जनसंख्या मर्कामा पर्न थालेका छन् । धनी र गरिब बीचको ‘ग्याप’ पनि बढ्ने क्रममा रहेको त्यहाँका बासिन्दा बताउँछन् । संसारभरका युवा वर्गको आकर्षणको केन्द्र अष्ट्रेलियाको पर्थ सिटी हाल अफ्रिका, युरोप, भारत, मलेसिया, इन्डोनेसिया, चाइना, नेपाल लगायतका देशका नागरिकहरुको लागि प्रख्यात गन्तव्य बनेको छ । समुद्री किनारामा विकास गरिएको पर्थ शहरले विकासको गति लिँदै गरेको अवस्था छ ।
शान्त शहर
अष्ट्रेलियाका अन्य शहरहरु जस्तै सिड्नी, मेलवर्न, ब्रिजेवेन भन्दा शान्त, सफा र निकै मिलनसार र मिजासिला मानिसहरुको बसोवास रहेको पर्थ होहल्ला, तड्क भड्क भन्दा टाढा बस्न रुचाएको जस्तो देखिन्छ । विस्तारै विकासतिर लम्किरहेको पर्थलाई ‘हाईफाई’ र ‘शो अफ’ गर्ने कुनै सौख नरहेको देखिन्छ । बिहान छिटै उठ्ने पर्थ साँझ पनि छिटै सुत्ने गर्दछ । साँझ पाँच बज्दा बन्द हुने बजारका केही भागहरु मात्र अबेरसम्म खुल्छन् । एशियालाई समुद्री सिमाना बनाएको पर्थ कताकता एसियन कल्चरतिर ढल्किएको जस्तो भान हुन्छ । छिटो उठ्ने, छिटो सुत्ने परिवारसँग समय बिताउन खोज्ने वर्तमानसँगसँगै भविष्यको पनि सोँच्ने जस्ता विचारहरुले कताकता एसियामै छु भन्ने बेला बेलामा अनुभूति हुने रहेछ ।
रमणिय स्थलहरु
पर्थको सबैभन्दा प्यारो भनेको ‘सनसेट’ रहेछ । पर्थ पुगेर त्यहाँको सनसेट नहेर्ने हो भने पर्थ पुग्नुको औचित्य नहुने त्यहाँका बासिन्दाको भनाइ रहेछ । थुप्रै ‘बिच’ हरुको शहर पर्थमा समुद्रको सनसेट देख्ने अवसर भने मैले नपाएँ पनि त्यहाँको प्रसिद्ध स्वान रिभरको सनसेट हेर्ने मौका भने मैले पाएँ ।
स्वान रिभर
७२ किमी लम्बाइ तथा ४ किमी चौडाइ भएको स्वान रिभरमा कालो हाँस पनि देख्न सकिन्छ । पर्थको प्राकृतिक रुप झल्काउने स्वान रिभरले वरपरका वस्तीहरुमा अनौठा सुन्दरता प्रदान गरेको छ । गर्मीमा मानिसहरु बोटिङ्ग गर्ने उक्त रिभरको किनारामा बनाइएको पार्क स्वच्छ हावा खाने, खेल्ने, घुम्ने, व्यायाम गर्ने स्थान बनेको छ ।
किंग्स पार्क
४.०६ स्व. किमि क्षेत्रफल रहेको किंग्स् पार्क पर्थको पश्चिमी भागमा पर्दछ । विश्वमा भएका विभिन्न युद्ध र द्धन्द्धमा मारिएका अष्ट्रेलियाली सैनिकहरुको नामहरु किंग्स् पार्कमा राखिएको छ भने पार्कभित्र पस्दा पस्दैमा सँधै बलिरहने ‘इटर्नल फेल्म’ देख्न सकिन्छ, जसको ठिक पछाडी पट्टी ‘बार मेमोरियल’ स्तम्भ छ ।
किंग्स् पार्कबाट पर्थको पश्चिमित भागको दृश्य निकै मनमोहक देखिन्छ । उक्त पार्कलाई बोटानिकल गार्डेन पनि भनिन्छ किनभने ३२४ भन्दा बढी स्थानीय विरुवाहरु, २१५ खालका फंगाई ८० भन्दा बढी प्रकारका चराचुरुङ्गी लगायतका थुप्रै लोपोन्मुख बोटविरुवाहरु त्यहाँ देख्न पाइन्छ । त्यस्तै सिसाको पुल किंग्स् पार्कको अर्को आकर्षण हो । बिहान साँझ मानिसहरुको व्यायाम गर्ने स्थलको रुपमा पनि किंग्स् पार्क प्रख्यात छ ।
फ्रिम्यान्टल जेल
युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पर्थको फ्रिम्यान्टल जेल पर्थको अर्को प्रसिद्ध स्थल हो । ६ हेक्टर जमिनमा फैलिएको उक्त जेलमा ८० को दशकमा बेलायतबाट कैदीहरु ल्याएर राखिन्थ्यो । पछि सन् १८८६ तिर कोलोनियल सरकारले स्थानीय कैदीहरु राख्न प्रयोग गरेको थियो । उक्त जेलमा जर्मनी, न्यूजील्यान्ड, हङकङ र बेलायतबाट ठूलो अपराधमा दोषी पाइएकाहरुलाई ल्याइने गरिन्थ्यो । जेलको कडा नियम र जेलभित्रै संचालन हुने कडा मजदूरीले गर्दा पनि त्यस्ता अपराधीहरुलाई त्यहाँ ल्याइने गरेको बताइन्छ ।
सन् १९९१ मा बन्द भएको फ्रिम्यान्टल जेल यूनेस्कोको विश्व सम्पदा सूचीमा परेपछि संरक्षण गरि पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ । जेलेको संचालनमा कुनै परिवर्तन नगरी राखिएको जेलभित्र टिकट काटेर विभिन्न किसिमका टुर लिन पाइन्छ । खिया लागेका झ्यालहरु, कैदी सुत्ने कोठा, इनार, बाथरुम लगायतका स्थानहरु हेर्न पाइन्छ भने कतिपय कैदीहरुको कथा समेत टुर गाइड मार्फत सुन्न पाइन्छ ।
ब्लु बोट हाउस
स्वान रिभरको बीचमा रहेको ब्लुबोट हाउस अगाडी रम्ने स्थानीय तथा विदेशी पर्यटक पनि थुप्रै भेटिन्छन् । स्वान रिभरको बीचमा रहेको सानो घरलाई नै ब्लु बोट हाउस भनिन्छ ।
हामीले फेसबुकमा ‘ट्राभलिङ्ग टु पर्थ’ भन्दा फेसबुकले देखाउने फोटो पनि यही ब्लु बोट हाउस नै हो ।
एलिजावेथ क्वे
हाम्रो रत्नपार्क काठमाडौंमा जति प्रख्यात छ पर्थमा एलिजावेथ क्वे त्यति नै प्रसिद्ध छ । अझ कतिपय नेपालीहरुले त यसलाई रत्नपार्क नै भनेर नामाकरण समेत गरिदिएका रहेछन् । शहर नजिकको एलिजावेथ क्वेको बस स्टपमा हाम्रा बसहरु बसपार्क नपसी अन्त नगए जस्तो सो बस स्टप नगई कतै नजाने रहेनछन् । एलिजावेथ क्वेलाई पर्थको बिजनेस ‘हब’ भनेर पनि चिनिदो रहेछ । अग्ला भवन, बजार, पसलहरु दिनमा जति रमणिय देखिन्छ त्इहाँको चमक राती झनै मनमोहक देखिने रहेछ ।
हिलारी बोट हार्बर
समुद्रको तटमा अवस्थित पर्थ शहरमा बिच र हार्वबर (पोर्ट) हरु पनि त्यतिकै मनमोहक छन् । हिलारी बिच र बोट हार्बर आकर्षणको अर्को केन्द्रबिन्दु हो । त्यहाँ अष्ट्रेलियाको सबैभन्दा ठूला ब्त्रगबचष्गm पनि छ । जहाँ झण्डै ४०० प्रजातिहरु देख्न पाइन्छ । त्यस्तै, हिलारी हार्बर वरपरका पसल र पार्कका कारण पनि त्यस स्थानमा भीड बाक्लै देख्न सकिन्छ । बार्बिक्यू गर्ने, पिकनिक गर्ने ठाउँ, केटाकेटीहरुलाई बालुवामा खेल्ने छुट्टै ठाउँ भएकोले छुट्टीको दिन त्यहाँ झनै भिड हुने रहेछ ।
त्यसैगरी रोटनेष्ट आइल्याण्ड, कोटेस्लोबिच, पेन्गुइन आइल्याण्ड, लगायतका बिचहरु पर्थका प्रख्यात आइल्याण्डहरु हुन् । तर समय अभावका कारण म ती रमणीय स्थानहरुमा भने पुग्न सकिन । तर, अष्ट्रेलियाको राष्ट्रिय जनावर कंगारु भने देख्ने मौका पाएँ हिलारी बोट हार्बर पुगेर फर्किने क्रममा जोन्डलुपमा कंगारु पार्कमा केही समय बिताएको थिए । मान्छेले जस्तै आफ्नो बच्चालाई खोपिल्टोमा बोकेर हिड्ने कंगारुलाई प्रत्यक्ष पहिलो पटक देख्न पाउँदा म निकै खुसी थिएँ । यद्यपी घाम ढल्किसकेको हुनालेमैले धेरै समय त्यहाँ बिताउन पाइन ।
युनिभसिटी अफ वेष्टर्न अष्ट्रेलिया (यूडब्लूए)
विश्वकै टप मध्येको एक युनिभसिटी अफ वेष्टर्न अष्ट्रेलियामा छाज्ञवृत्तिमा पढ्न मौका पाएर केही महिना अघि त्यहाँ पुग्नुभएका मेरा श्रीमान्ले मलाई म पर्थ पुगेको चार दिनसम्म त विश्वविद्यालय मात्र घुमाउनु भयो ।
सन् १९११ मा स्थापना गरिएको सो विश्वविद्यालयमा तीन हजार बढी कर्मचारीहरु कार्यरत छन् भने संसारका विभिन्न स्थानबाट त्यहाँ पढ्न पुगेका विद्यार्थीको संख्या झण्डै २५००० छ । विशाल क्षेत्रफल, २५ भन्दा बढी संकाय पढाई हुने युडब्लुएमा रिसर्च स्टुडेन्टको रुपमा अध्ययन गरि राखेका थुप्रै विद्यार्थीहरु रहेछन् । शान्त वातावरण, अध्ययन गर्ने माहोल देख्दा विद्यालय भन्दा पनि विद्र्धान्हरुको छलफल स्थान जस्तो महसुस हुने यूडब्लुएको भ्रमण गर्न पाउँदा मन निकै हर्षित थियो ।
निकै राम्रो र व्यवस्थित शहरको रुपमा विकसित हुँदै गरेको पर्थ शहरमा छोटो समय पनि स्मरणीय क्षणहरु बने । निकै ठाउँ घुम्न बाँकी रहेता पनि आगामी भ्रमणमा पुग्ने आशसँगै मेरो पर्थको १५ दिनको बसाईलाई विदा गर्दै आफ्नो मातृभूमि नेपाल फर्किएँ ।
काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...
काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...